७ वैशाख २०८१ शुक्रबार
अर्थ

गण्डकी प्रदेशमा नयाँ गन्तब्यको खोजीमा नाटा

म्याग्दीको भ्रमणमा आएको टोलीलाई म्याग्दी उवासंघले स्वागत गर्दै। तस्बिरः हरिकृष्ण गौतम

गण्डकी प्रदेशभित्र पर्यटकीय दृष्टिले घुम्न लायकको नयाँ गन्तब्यको खोजी सुरू भएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि तहसनहस भएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नयाँ गन्तव्यको खोजीमा जुटेको हो।

म्याग्दीमा रहेका नयाँ पर्यटकीय गन्तब्यको खोजीमा निस्किएको टोलीलाई म्याग्दी उद्योण बाणिज्य संघले गरेको स्वागत कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्ध निर्देशक नविन खरेलले प्रचारप्रसारको कमीले ओझेलमा परेका नयाँ गन्तब्यमा पर्यटकलाई भित्र्याउनुपर्ने बताए।

‘आन्तरिक पर्यटकलाई देखाउने पर्यटकीय स्थलको सूचीमा नयाँ गन्तव्य हुनुपर्छ,‘ पुरानै गन्तब्यले मात्रै अब पर्यटनको क्षेत्र उकास्न सकिँदैन’ प्रबन्धक निर्देशक खरेलले भने। उनले पछिल्लो समय आन्तरिक पर्यटकहरूले पर्यटकीयस्थल भरिभराउ भइरहेको बताए। उनले एकपटक नेपालको भ्रमणमा आएका विदेशी पुनः दोहोर्‍याएर आइरहेको अवस्थामा नयाँ गन्तब्यले थप सहज हुने बताए।

नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिक्देलले म्याग्दीको सदरमुकाम बेनीबजार पर्यटकका लागि चौतारी भएको बताए। ‘यहाँका आकर्षक गन्तव्यहरूको प्रचार हुन सकेको छैन,‘ मुस्ताङ जाने पर्यटकहरूले यहाँ रमाउन चाहन्छन्’, अध्यक्ष सिक्देलले भने। उनले कोरोनाको जोखिमले नियमित विदेशी पर्यटकको आगमन सम्भव नभएको अवस्थामा आन्तरिक पर्यटकलाई घुमाउने नयाँ गन्तब्यको विकल्प नभएको बताए। ‘आन्तरिक पर्यटकको उत्साहलाई बुझ्नुपर्छ,‘ पर्यटकीय दृष्टिले घुम्न लायकका ठाउँहरू अब छोड्नु हुदैन्’, उनले भने।

कोभिडका नयाँ भेरियन्टले समेत नेपाली पर्यटन ब्यवसायी झस्किएको अवस्थामा आन्तरिक पर्यटकलाई आर्षित गर्न स्थानीय तहले समेत पर्यटनमा लगानीको वातावरण बनाउनुपर्नेमा पर्यटन व्यवसायीको जोड थियो। म्याग्दी भ्रमणमा रहेको टोली बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के (२,५००मिटर) उचाईमा अवस्थित टोड्केमा पुगेको छ। प्राकृतिको अनुपम उपहार, वरीपरी लालीगुराँसको जंगल, स्वर्गद्धारीको शाखा आश्रम, मनोरम दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको पोखराका पर्यटन व्यवसायीको रोजाईमा परेको जनाइएको छ।

भ्रमण टोलीलाई स्वागत गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पर्यटनसँग सम्बन्धित सरकारी, निजी तथा व्यवसायिक संघ संस्थाहरुसँग हातेमालो गर्दै पर्यटकीय गतिविधिहरु अघि बढाउनुपर्ने बताए। उनले गन्तब्यको पहिचानसँगै सुरक्षाको प्रत्याभूति, पूर्वाधारको पर्याप्त सुविधाको सुनिश्चितता भएमा आन्तरिक पर्यटकको आइरो लाग्ने भएकाले सरकारी निकायबाट समेत पर्यटनको विकासमा थप गम्भीर हुनुपर्नेमा बताए।

उवासंघमार्फत कालिपुलमा सञ्चालन गरिएको सूचना केन्द्रबाट जिल्लाभित्रका आकर्षक गन्तव्यहरुको भरपर्दो सूचना प्रवाह भइरहेको समेत जनाइएको छ।

प्रकाशित: २० मंसिर २०७८ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App