२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पर्यटनमा ‘ओमिक्रोन’ प्रभाव

सन् २०२१ को ११ महिनामा एक लाख २६ हजार बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्र्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार दुई सय ८३ पर्यटक नेपाल भित्रिएका हुन्।

नेपाल भित्रिएका विदेशीमध्ये सबैभन्दा बढी नोभेम्बरमा एक लाख २६ हजार दुई सय ३५ जना छन्। उक्त संख्या हवाई माध्ययमबाट मात्रै नेपाल भित्रिएकाको हो।

सन् २०१९ को नोभेम्बरमा मात्रै एक लाख ३० हजार तीन सय दुई जना विदेशी पर्यटक भित्रिएका थिए। २०१९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ।

जुन नेपालमा कोरोना भाइरसको सुरुवात हुनुअघिको तथ्यांक हो। त्यस्तै, सन् २०२० दोस्रो अन्तिम महिनामा एक हजार नौ सय ५६ जना विदेशी नेपाल आएको देखिन्छ।

२०२० भर कोरोनाले असर गरेकाले लामो समय अध्यागमन विभाग बन्द रहेको र हवाई उडानसमेत ग्राउन्डेड नहुँदा विदेशी पर्यटक नेपाल आउन पाएनन्।

हालको तथ्यांकअनुसार सबैभन्दा बढी भारतबाट १० हजार चार सय २१ र बंगलादेशबाट एक हजार तीन सय ८२ पर्यटक आएका छन्। साथै नोभेम्बरमा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ हजार चार सय ८७ जना नेपालबाट बाहिरिएका छन्।

बोर्डको तथ्यांकअनुसार यो वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा नेपाल भित्रिएका छन् भने सबैभन्दा कम जुन महिनामा भित्रिएको देखिन्छ। जनवरीमा आठ हजार आठ सय ७४, फेब्रुअरीमा नौ हजार एक सय ४६, मार्चमा १४ हजार नौ सय ७७,अप्रिलमा २२ हजार चार सय५०,मेमा एक हजार चार सय ६८, जुनमा एक हजार एक सय ४३, जुलाईमा दुई हजार नौ सय ९१,अगस्टमा पाँच हजार नौ सय १७, सेप्टेम्बरमा नौ हजार आठ सय ९८ र अक्टोबरमा २३ हजार दुई सय ८४ जना विदेशी नेपाल भित्रिएका देखिन्छन्।

पछिल्लो सयम झिनो संख्यामा पर्यटक आगमन बढ्दै गएको देखिए पनि कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित बन्ने देखिएको छ। सरकारले विभिन्न नौ मुलुकबाट आउने यात्रुको आगमनमा कडाइ गरेसँगै पर्यटन क्षेत्रमा पुनः सुस्ताउन थालेको छ।

महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको पर्यटन व्यवसायीले बताएका छन्।

विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन सुरु गरेसँगै पर्यटन व्यवसाय पुरानै अवस्था जाने हो कि भन्ने व्यवसायीलाई चिन्ता थपिएको छ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरे पनि विश्वव्यापी चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याए पर्यटन क्षेत्र अझै १० वर्षपछाडि धकेलिने व्यवसायीको धारणा छ। 

हाल जापान, इजरायल, अस्ट्रेलिया, बेल्जियम, अस्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्टको रोकथाम गर्न जोखिम देखिएका देश हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट ट्रान्जिट बनाएर नेपाल आउनेलाई रोक लगाएसँगै अब के हुन्छ? भन्ने दुविधामा व्यवसायी देखिएका छन्।

कोरोनाकै कारण कैयौं व्यवसायी पर्यटन व्यवसायबाट पलायन भइसकेको अवस्थामा पुनः संक्रमणले नेपालमा लकडाउनको अवस्था ल्याए अझै पेसाबाट व्यवसायी पलायन हुन सक्ने देखिएको छ।

संक्रमणको जोखिम भएका देशबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने सरकारको निर्णयबाट समेत व्यवसायी त्रसित देखिन्छन्। नेपालमा संक्रमण भित्रिन नदिन आवश्यक तयारी समयमै गर्नुपर्ने जनाउँदै व्यवसायीहरू संक्रमण भित्रिएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय तर्फका उडानका साथै होटल क्षेत्रमा समेत यसको प्रत्यक्ष असर पुग्ने बताउँछन्।

त्यस्तै सरकारले अत्यावश्यक अवस्थामा बाहेक नेपाली नागरिकलाई विदेश भ्रमणमा नजानसमेत आग्रह गरिसकेको छ। छिमेकी मुलुक भारतमा उक्त भेरिएन्ट पुष्टि भइसकेकाले नेपालमा समेत उक्त संक्रमण भित्रिनेमा व्यवसायी सशंकित देखिएका हुन्।  

भारतको छिमेकी प्रान्त सिक्किममा विदेशी पर्यटक प्रवेशमा शुक्रबारबाट रोक लगाएसँगै नेपाली पर्यटन व्यवसायी थप चिन्तित देखिएका छन्। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले शुक्रबार बिहान ६ बजेदेखि लागु हुनेगरी डिसेम्बर १५ सम्म विदेशी पर्यटक प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ।

ओमिक्रोनको संक्रमण राज्यमा छिर्न नदिन भन्दै सिक्किम सरकारले यस्तो प्रतिबन्ध लगाएको हो। राज्यको गृह विभागले पर्यटन विभागलाई पत्राचार गर्दै सिक्किम घुम्न आउने कुनै पनि विदेशी पर्यटकलाई प्रवेश नदिन र कुनै पनि परमिट जारी नगर्न आदेश दिएसँगै उक्त प्रभाव नेपालमा समेत देखिने भन्दै व्यवसायी त्रसित छन्। विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउने सिक्किम भारतको पहिलो राज्य बनेको छ।

प्रकाशित: १८ मंसिर २०७८ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App