मुलुकका अत्यन्त दुर्गम र विकट स्थानका बस्तीहरूमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी यस आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ।
सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयर पोर्ट), नाम्चे बजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गर्ज्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्टमा हेलिकप्टरबाट उपकरणहरू ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको जारी विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, अन्य तीन दुर्गम र विकट स्थानमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा कम्पनीले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ।
प्रकाशित: १३ मंसिर २०७८ ०३:०१ सोमबार