४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरालाई भरतपुर, भैरहवा र नेपालगञ्ज जोड्दै गुण एयरलाइन्स

पोखरालाई एकैपटक तीनवटा सहरसँग जोड्दै

पोखरा विमानस्थलमा पार्किङमा रहेको गुण एयरलाइन्सको जहाज। तस्बिरः नागरिक

निजी क्षेत्रको वायुसेवा कम्पनि गुण एयरलाइन्सले पोखराबाट थप तीनवटा सहरसम्म एकैपटक सिधा हवाई उडान सुरु गर्ने भएको छ। पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जसम्म दैनिक उडान गर्ने तयारी गुणको छ। उडान थपिएसँगै ती क्षेत्रका यात्रुलाई आउजाउमा सहज हुने पर्यटन व्यवसायीको भनाई छ।  

पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान गर्ने तालिका गुणको छ। त्यस्तै विहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्ज रुटमा उडान सुरु गर्ने एयरलाइन्सले बताएको छ। गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार तीनवटै गन्तव्यमा पहिलो चरणमा दिनमा एउटा उडान गर्ने तयारी छ।  

‘दिनको एउटाका दरले अहिले उडान सुरु गर्छाै। यात्रु संख्या थपिएर माग बढेमा हामीले ठुलो जहाज वा उडान संख्या पनि थप्न सक्छौ,’ थापाले भने, ‘पछिल्लो समय राजधानीसँग मात्र नभई प्रादेशिक उडानमा पनि हवाई यात्रु बढेका छन्। त्यसले गर्दा पनि उडान सुरु गरिएको हो।’ तीनवटै रुटमा १८ सिट क्षमताको बिचक्राफ्ट जहाजबाट उडान सुरु गर्ने उनले बताए।  

गुणले आवश्यक परेमा ३० सिट क्षमताको जेटस्ट्रिम जहाज पनि यी रुटमा उडानमा प्रयोग गर्न सक्ने थापाले बताए। उनका अनुसार पछिल्लो समय हवाई यात्रु निकै नै थपिएका छन्। राजधानी आउजाउमा मात्र नभई प्रादेशिक सहर जोड्ने रुटमा पनि यात्रुको चाँप छ। प्रादेशिक गन्तव्यका कतिपय रुटमा त यात्रुले सिट  अभावमा टिकट नै नपाउने अवस्था समेत छ।

‘पछिल्लो समय हवाई यात्रु सबैतिरका रुटमा बढेका छन्। कोरोनाको यो संक्रमणको कारणले पनि हवाई यात्रुलाई सुरक्षित ठान्दा यात्रु बढेको अनुमान छ,’ उनले भने, ‘स्थलमार्गको झन्झटिलो र लामो समयको यात्राले संक्रमणको त्रास हुँदा यात्रुले हवाई यात्रा रोजेका छन्।’ छोटो समयमा गन्तव्यमा पुगिने भएकोले पनि हवाई यात्रा यात्रुको प्राथमिकतामा परेको उनले बताए।  

प्रादेशिक रुटमा अरु विमान कम्पनिले पनि उडान थालेसँगै गुणले पनि तीनवटा नयाँ रुटमा उडानको तयारी गरेको उनले बताए। केही समयपछि पोखराबाट बिराटनगरसम्मको उडानको तयारी समेत गरिरहेको उनले जानकारी दिए। गुण एयरलाइन्ससँग अहिले ३० सिट क्षमताका जेटस्ट्रिम जहाज पाँच र १८ सिट क्षमताका बिचक्राफ्ट दुई गरि सातवटा जहाज छन्।  

गुणका पोखरास्थित स्टेशन म्यानेजर विकास बरालका अनुसार पोखराबाट भरतपुरसम्मको भाडा ३७ सय ५० रुपैयाँ तोकिएको छ। त्यस्तै भैरहवासम्मको भाडा ४३ सय ५० र नेपालगञ्जसम्मको भाडा ७९ सय २५ रुपैयाँ छ। यात्रुको माग अनुसार भाडा केही सस्तो पर्न सक्ने पनि उनले बताए। पछिल्लो समय आन्तरिक पर्यटकको पोखरा आउजाउ बढेको र केही भारतीय पाहुना पनि आउन थालेकोले पोखराबाट हुने प्रादेशिक रुटमा उडानमा यात्रु पर्याप्त रहेको उनले बताए। पछिल्लो समय भैरहवा र नेपालगञ्जबाट भारतीय पाहुना नेपाल भित्रिन थालेकोले पनि यात्रुको माग अझै रहेको छ।

त्यसबाहेक अहिले राजमार्ग बिस्तारको क्रममा रहेकोले नारायणगण–बुटवल यात्रा निकै नै झन्झटिलो छ। त्यसले गर्दा पनि राजधानी र पोखराबाट पश्चिम क्षेत्रका सहरमा आउजाउ गर्ने यात्रुले हवाई यात्रा रोज्न थालेका छन्। ‘स्थलागर्माको यात्रा निकै नै झन्झटिलो छ। त्यही भएर पनि अहिले हवाई यात्रु बढेका छन्। गुणको सेवासँगै पर्यटनमा पनि टेवा पुग्नेछ,’ बरालले भने। अहिले गुणले पोखरा–काठमाडौं रुटमा दिनमा तीनवटा उडान गरिरहेको छ।  

अहिले पोखराबाट बुद्ध एयरले दैनिक रुपमा भरतपुरका लागि एउटा उडान गरिरहेको छ। त्यस्तै दिनकै तीनवटासम्म उडान भैरहवासम्म भएका छन्। नेपालगञ्जसम्म पनि दिनको एउटा उडान बुद्धको छ। बुद्धले सिमरा पनि उडान गरिरहेको छ। अर्काे कम्पनि तारा एयरले पनि अहिले पोखराबाट नेपालगञ्जसम्मको उडान गरिरहेको छ। पर्यटन व्यवसायी पनि प्रादेशिक रुटमा उडान गर्दा यात्रुलाई सहज हुने बताउँछन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल भन्छन, ‘पोखराबाट अहिले पश्चिम क्षेत्रका सहरसम्मको स्थलमार्गको आउजाउ निकै नै सकसपूर्ण छ। यो बेला उडान गर्दा यात्रुलाई पनि सहज हुन्छ। त्यसको लाभ पर्यटन क्षेत्रमा पनि पर्छ।’

प्रकाशित: ७ मंसिर २०७८ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App