९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

२५ प्रतिशत सकियो नागढुंगा–नौबिसे सुरुङ

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको लगभग एक चौथाइ निर्माण कार्य सकिएको छ। अहिलेसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति २३ प्रतिशत पुगेको छ। आयोजनाका निर्देशक नरेशमान शाक्यले आयोजनाको लगभग एक तिहाइ निर्माण सकिएको बताए।

‘कोभिड–१९ को बाबजुद आयोजनाको समष्टिगत भौतिक प्रगति २३ प्रतिशत भएको छ,’ उनले भने, ‘अहिले दैनिक ६ सयजना कामदारले आयोजनाको निर्माण गरिरहेका छन्।’

आयोजनाले पहिलो र दोस्रो चरणको निषेधाज्ञाका बाबजुद आयोजनाको काम भइरहेको जनाएको छ। आयोजनाका अनुसार अहिले दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको छ। ‘इभाक्युएसनतर्फ टनेल (सुरुङ) आगामी फागुनभित्रै खनेर सक्ने लक्ष्य राखेका छौं,’उनले भने, ‘मुख्य सुरुङ भने आगामी साउनभित्रै खनेर सक्ने लक्ष्यसहित काम भइरहेको छ।’ आयोजनाका अनुसार अहिलेसम्म १८ सय ४० मिटर खनिएको छ।

आयोजनाका अनुसार अहिलेसम्म मुख्य सुरुङतर्फ पाँच सय ७६ मिटर खनिसकेको छ। मुख्य सुरुङको काठमाडौंतर्फ दुई सय ८८ मिटर खनिएको छ। धादिङतर्फबाट पनि दुई सय ८८ मिटर सुरुङ खनिएको छ।

आयोजनाका अनुसार इभाक्युएसनतर्फ टनेलतर्फ एक हजार ९४ मिटर खनेको छ। आयोजनाले काठमाडौंतर्फको इभाक्युएसन टनेलतर्फ ६ सय ७६ मिटर र धादिङतर्फ चार सय १८ मिटर खनिसकेको जनाएको छ। वर्किङ अडिटतर्फ १२६ मिटर खनिएको छ। त्यसैगरी, क्रस प्यासेजतर्फ ४३ मिटर खनिएको छ।

आयोजनामा रात–दिन दुवै सिफ्टमा गरेर काम भइरहेको छ। आयोजनाले अहिले विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ। यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो। यो सुरुङमार्ग मेलम्ची खानेपानी आयोजनाको जस्तै गरेर खनिनेछ। सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ।

साढे नौ र चार मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ। २.६८ किलोमिटर सुरुङ निर्माण गर्न आयोजनाले सन् २०२३ को अप्रिलसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ। धादिङ र काठमाडौंतर्फ५–५ सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब लागत लाग्नेछ।

यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ।

प्रकाशित: ७ मंसिर २०७८ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App