२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

वस्तु आयात तीन महिनामा १२.७ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ। वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, हवाईजहाज तथा पाटपुर्जा, अन्य मेसिनरी तथा पाटपुर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको छ।

निर्याततर्फ सुक्खा बन्दरगाह, कैलाली, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ। आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ। आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले घटी रु दुई खर्ब ६१ अर्ब २२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२ प्रतिशतले ह्रास आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो।

आव २०७७/७८ को तीन महिनामा कूल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब पाँच करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५३.२ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैँची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ।

सो अवधिमा चालु खाता ३४ अर्ब ३६ करोडले बचत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोड ८२ लाखले बचत छ। सो अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई तीन अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई दुई अर्ब ९२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ९९ करोड थियो।

त्यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब नौ करोडले बचत छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड बचत थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाख बचत रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाख बचत छ।

प्रकाशित: ३० कार्तिक २०७८ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App