१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा कर्मचारीले पनि थाहा पाउनुपर्छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताएका छन्। राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको आज यहाँ उद्घाटन गर्नुहुँदै उनले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने कुरा कर्मचारीले जान्नैपर्ने बताएका हुन्।

'नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ। समाजवादको कुरा गरेको छ। तपाईहरूले के हो समाजवाद भनेर पढ्नुपर्‍यो, थाहा पाउनुपर्‍यो', मन्त्री शर्माले तालिममा सहभागी अधिकृत कर्मचारीलाई भने, 'समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ। कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ? त्यो कुरा कर्मचारीले जान्नुपर्छ। यो विषय पनि तालिममा सिकाइयोस्।'

संविधानले निदृष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिए। उनले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराए।

मन्त्री शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा जोड दिए। उनले व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गर्नुपर्ने बताए। कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। यस विषयमा प्रतिस्थापन विधेयकमार्फत् व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उनले बताए।

'आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ,' उनले भने, 'हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस्। कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस्।' मुलुकमा विभिन्न आन्दोलनबाट परिवर्तन आए पनि व्यवहारतः कार्यान्वयन गर्न सङ्क्रमणकालीन अवस्थामा सबैले आ–आफ्नो स्थानबाट प्रतिबद्ध भएर लाग्न मन्त्री शर्माले आग्रहसमेत गरे। 

उनले राष्ट्र निर्माणका लागि राजनीतिकर्मी, कर्मचारी र जनताले आ–आफ्नो स्थानबाट प्रतिबद्ध भएर प्राप्त उपलब्धिको संरक्षण र सरकारको नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुहुँदै प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने बताए। आजदेखि सुरु भएको तालिम आगामी पुस ९ गतेसम्म चल्नेछ।

प्रकाशित: २८ कार्तिक २०७८ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App