coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गोरखामै पहिलो होटल 'गार्डेन रिसोर्ट' ५० करोड लगानीमा तयार

निर्माणको अन्तिम चरणमा रहेको गोरखा गार्डेन होटल। तस्बिर: नागरिक

गोरखामा ५० करोड लगानीमा गोरखा गार्डेन रिसोर्ट बनेको छ। यती ठुलो लगानीमा रिसोर्ट गोरखामै पहिलो हो। गोरखा गार्डेन होटल प्रालीले ‘थ्रि स्टार’ सरह सेवा सुविधा दिने गरी होटल तयार गरेको प्रालीका अध्यक्ष ऋषिराम पौडेलले बताए।  

‘भरतपुर गार्डेन रिसोर्टको ६० प्रतिशत, गोरखा चितवनका अन्य केही ब्यवशायीको गरी ४० प्रतिशत लगानीमा रिसोर्ट तयार भएको छ’ अध्यक्ष पौडेलले भने। भरतपुरमा सफल भएका गार्डेन रिसोर्टका   व्यवसायीले गोरखामा होटल संचालन गर्ने योजना २०७२ सालदेखि बनाएका थिए। धार्मीक र ऐतिहासिकरुपमा प्रख्यात गोरखामा होटल बनाउँदा यहाँ आउने पर्यटकलाई सहज हुने उनले बताए। ‘विश्व इतिहासमा गोरखा चर्चित छ’ उनले भने ‘हामीले यहाँ राम्रो होटल बनाउन संचालन गर्न सकिन्छ भन्ने ठानेर सुरु गरेका हौँ।’

गोरखा गार्डेन होटलमा ४६ वटा रुम छ। एक सय २५ जना सम्म होटलले सहज रुपमा राख्न सक्ने प्रालीका अध्यक्ष पौडेलले बताए। दुई स्विट रुम, १० वटा सुपर डिलक्स रुम र ३४ वटा डिलक्स रुम रहेको छ। होटलले बिदेशी पाहुनालाई केन्द्रित गर्ने रणनीति बनाएको छ। ‘चितवन, पोखरा, बन्दिपुर र उत्तरी गोरखा आउने पर्यटकलाई हामी होटल सम्म एक/दुई रात ल्याउने योजना बनाएका छौँ’ अध्यक्ष पौडेलले भने। होटलले ४० प्रतिशत भने आन्तरिक पर्यटकलाई सेवा दिने लक्ष्य लिएको छ।  

२०७३ फागुनदेखि होटलले जग्गा खरिद प्रक्रिया सुरु गरि निर्माण थालेको थियो। ‘कोभिडका कारण हामीले छिटो काम गर्न सकेनौँ’ उनले भने ‘करिब १० करोड लागत डेढ वर्ष निर्माण ढिलो हुँदा थपियो।’ कोभिड नभएको भए उक्त होटलको लागत घट्ने र यस अघि नै संचालनमा आउने उनले बताए।  

मंसिर १ गतेदेखि पाहुना राख्न सुरु गर्ने तयारी होटलको छ। औपचारिक सुभारम्भको मिति भने तय हुन बाँकी रहेको प्रालीले जनाएको छ। १५ रोपनी क्षेत्रफलमा रहेको होटलमा सुन्दर गार्डेन, आकर्षक कोठा, साना ठुला गरी चारवटा हलहरु रहेको छ। दुई सय जना अट्ने देखि साना मिटिङ हल पनि होटलमा छ। बिहे, पार्टीका लागि पनि उपयुक्त हुनेछ। गोरखा सदरमुकामको मध्येभागमा पर्ने भएकाले होटलबाट गोरखा बजार र दरौँदी फाँटको दृष्य पनि देख्न सकिन्छ। होटल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अहिले आन्तरिक डेकोरेसनको काम भईरहेको अध्यक्ष पौडेलले बताए।

प्रकाशित: ११ कार्तिक २०७८ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App