१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः आन्तरिक हवाई कम्पनी तयारीमा जुट्दै

पोखरा–मुग्लिन राजमार्ग विस्तारसँगै विमानस्थलबाट आन्तरिक उडान थाल्नुपर्छ

आगामी वैशाख १ देखि उडानको लक्ष्य

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः उमेश पुन/नागरिक

चार वर्षभित्र सक्नेगरि पोखरा–मुग्लिन (९० किमि) राजमार्ग विस्तारको तयारी छ। अहिले सार्वजनिक सवारी चढेरै पोखराबाट तीनघण्टामा सहजै मुग्लिन पुगिन्छ। निजी सवारीमा त अझ छिटो यो दूरी पूरा हुन्छ। राजमार्ग विस्तार सुरु भएपछि यो खण्ड पार गर्न अहिले भन्दा बढी समय त लाग्नेछ नै यात्रा झनै सकसपूर्ण बन्नेछ।

यही समयमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि संचालनमा ल्याउने तयारी छ। कुनै अवरोध नआए आगामी वैशाख १ देखि विमानस्थलबाट उडान सुरु गर्ने योजना बनिसकेको छ। पोखरा पर्यटकीय सहर भएकोले अन्यत्रको तुलनामा पोखरा–काठमाडौं रुटमा हवाई उडान संख्या बढी छन्। अहिले पनि दैनिक डेढ दर्जन उडान पोखरा–काठमाडौं रुटमा मात्र हुन्छन्।

पोखराबाट काठमाडौं बाहेकका सहरसम्म पनि उडान संख्या बढिरहेका छन्। हवाई कम्पनी पोखराबाट काठमाडौं मात्र नभई अन्य सहरसम्म उडान बढाउने योजनामा छन्। सडक विस्तार सुरु भएपछि स्थलमार्गको यात्रा झन्झटिलो र सकसपूर्ण हुने भएकोले हवाई यात्रालाई सहज बनाउनुपर्ने भन्दै निजी हवाई कम्पनिले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ढिला नगरी संचालनमा जोड दिँदै आएका छन्।

वैशाख भन्दा ढिला नहुने गरि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नुपर्ने उनीहरुको भनाई छ। पर्यटकीय सहर भएकोले पोखरामा पर्यटकको आउजाउ हुने र त्यहीबेला स्थलमार्ग विस्तार चलिरहँदा यात्रा झन्झटिलो हुने भएकोले हवाई यात्रालाई सहज बनाउनुपर्ने हवाई कम्पनीको भनाई छ। त्यसका लागि नयाँ विमानस्थल संचालनमा ल्याउनुपर्ने उनीहरु बताउँछन्।

आगामी वैशाख १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएकोले त्यही अनुसारको तयारी गरिरहेको हवाई कम्पनीको भनाई छ। बुद्ध एयरका डाइरेक्टर रुपेश जोशीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनासाथ पोखरा–काठमाडौं रुटमा उडान संख्या बढाउने योजनामा रहेको बताए। उनका अनुसार बुद्धले अहिले पोखरा–काठमाडौं रुटमा दैनिक १० उडान गरिरहेकोमा क्षेत्रीय विमानस्थल संचालनमा आएपछि संख्या बढाएर १६ पुर्‍याउने योजना रहेको छ।

‘क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनासाथ हामीले अहिलेको उडान संख्या बढाएर १६ पु¥याउँछौ। त्यसबाहेक पोखराबाट काठमाडौं बाहेक अन्य सेक्टरमा पनि उडान थपिन्छन्,’ जोशीले भने, ‘पोखराको माग अनुसार हामीले उडान थप्नेछौ। यसले पोखरा आउजाउलाई सहज बनाउनेछ।’

राजमार्ग बिस्तार थालेसँगै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने हो भने सहज हुने उनको भनाई छ। ‘अहिले पोखरा–मुग्लिन तीनघण्टामा पार गर्न सकिन्छ। तर, सडक विस्तार सुरु भएपछि यो दूरी पार गर्न अहिले भन्दा झन्झटिलो हुने पक्का छ। त्यही भएर त्यो बेलासम्म नयाँ विमानस्थल सुचारु गर्ने हो भने यात्रुलाई सहज हुनेछ,’ उनले भने, ‘कोरोना संक्रमणले नयाँ रुप नलिएमा त्यो बेलासम्म विदेशी पाहुना पनि आउन थाल्नेछन। स्थलमार्ग झन्झटिलो हुने र हवाई यात्रा पनि पर्याप्त नहुने हो भने त्यसको मार पर्यटनमा पर्नेछ।’

जोशीका अनुसार बुद्धले पोखराबाट बिराटनगर र जनकपुरसम्म पनि उडानको तयारी गरेको छ। अहिले बुद्धले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज र सिमरासम्म उडान गरिरहेकोमा अब बिराटनगर र जनकपुरको पनि तयारी गरेको छ। पोखराबाट विराटनगर, भैरहवा र नेपालगञ्ज ७० सिट क्षमताका एटिआर ७२ बाट उडान गर्ने योजना बुद्धको छ। त्यस्तै भरतपुरसम्म ४७ सिट क्षमताको एटिआर–४२, सिमरा र जनकपुरसम्म १८ सिटको जहाजबाट उडानको योजना बनाएको उनले बताए।

‘पोखरा–मुग्लिन सडक विस्तार सुरु भएपछि स्थलमार्ग पक्का सहज हुँदैन। त्यसबाहेक मुग्लिन–नागढुंगा पनि बिस्तारको तयारी भईरहेकोले अझै केही वर्ष पृथ्वी राजमार्गको यात्रा सहज हुँदैन,’ उनले भने, ‘त्यसैले पनि पोखराको नयाँ विमानस्थल छिटो संचालन गर्नुपर्छ।’ नयाँ विमानस्थलमा रात्रीकालीन उडान हुने भएकोले पनि अबेर हुँदा सहज हुने उनले बताए। ‘चालु पोखरा विमानस्थलमा मुस्किलले बेलुकी ५ वजेसम्म उडान हुन्छ। तर, नयाँ विमानस्थलमा रात्रीकालीन उडान हुने भएकोले सबैका लागि सहज हुनेछ,’ उनले भने।

नयाँ रुटमा उडान गर्ने र हाल भईरहेका सेक्टरमा पनि थप्ने गरि बुद्धले थप ३ वटा एटिआर–७२ जहाज भित्र्याउन थालेको पनि जोशीले जानकारी दिए। आगामी नोभेम्बर दोश्रो सातासम्म दुईवटा र मार्चसम्म थप एउटा जहाज थप्ने तयारी भईरहेको उनले बताए। नयाँ भित्रिने दुईवटा एटिआर–७२ बाट जनवरी १ देखि उडान थाल्ने योजना रहेको उनले सुनाए। ‘तीनवटा एटिआर–७२ जहाज हामीले थप्दैँछौ। तीनवटा जहाज थपेर १८ पुर्‍याउँदैछ,’ जोशीले भने, ‘अरुको पनि योजना हुनसक्छ। त्यसैले विमानस्थल संचालनमा ढिलाई गर्नु हुँदैन।’ बुद्धले तीनवटा जहाज थप्दा झन्डै डेढ अर्ब रुपैयाँ लगानी थपिने पनि उनले बताए।

पोखराको यो विमानस्थलबाट एकैपटक अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने पोखरेलीको चाहना भएपनि आन्तरिक उडानलाई वैशाख भन्दा ढिला गर्न नहुने जोशीको भनाई छ। ‘सकिन्छ भने अन्तर्राष्ट्रिय र आन्तरिक एकैपटक सुरु गर्दा राम्रो भयो, केहीगरि अन्तर्राष्ट्रियको तयारी नपुगेमा आन्तरिकलाई ढिला नगरौ,’ उनले भने, ‘अन्तर्राष्ट्रियका कारण आन्तरिकलाई पछाडि धकेल्नु हुँदैन। अन्तर्राष्ट्रिय उडानका लागि धेरै प्रक्रिया पूरा हुनुपर्छ, तर, आन्तरिकको लागि करिब सबैको तयारी पुगिसकेको छ।’

पोखराका पर्यटन व्यवसायी पनि आन्तरिक उडान सुरु गर्ने र अन्तर्राष्ट्रिय उडानको पनि पहल छाड्न नहुने बताउँछन्। ‘अब पोखरालाई अन्यत्रका सहरसम्म पनि जोड्नुपर्छ। सकेसम्म धेरैवटा उडान आन्तरिकमा प्रयोगमा ल्याउँदा सहज हुन्छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि भट्टराई भन्छन्, ‘स्थलमार्ग असहज हुँदा हवाईमार्ग सहज भएमा पनि राहत मिल्छ।’ अन्तर्राष्ट्रिय उडानको दिन पर्खिदा आन्तरिक उडानमा ढिलाई गर्न नहुने उनले बताए।  

नागरिक उड्डयन प्राधिकरण (क्यान) पोखराका प्रमुख बिक्रम गौतमका अनुसार आगामि वैशाख १ देखि उडान सुरु गर्नेगरि पहल भईरहेको र त्यही अनुसार आन्तरिक हवाई कम्पनिले पनि चाँसो देखाईरहेका छन्। उनका अनुसार बुद्ध, यती सहित हिमालय एयरलाइन्सका पदाधिकारीले पोखरालाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जोड्ने पहलका साथ चाँसो देखाएका छन्। ‘पोखराको नयाँ विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान एकैपटक गर्दा बिग्रने केही होइन। तर, हामीले पहिला आन्तरिक उडान गर्न चाहेका हौ,’ उनले भने, ‘आन्तरिक उडान गर्दा कुनै समस्या देखिए समाधान गर्दै जाँदा अन्तर्राष्ट्रिय उडानका लागि सहज हुन्छ। आन्तरिक उडान गर्दाका अप्ठेरो अन्तर्राष्ट्रिय उडानमा सुधार्न सकिन्छ।’

प्रकाशित: ६ कार्तिक २०७८ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App