८ वैशाख २०८१ शनिबार
अर्थ

जयनगर–कुर्था रेलमार्ग हस्तान्तरण: सञ्चालनको टुंगो अझै लागेन

भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा भारतले ८ अर्ब ७७ करोड रूपैयाँमा लगानीमा निर्माण गरेको ब्रोडगज रेलमार्ग शुक्रबार एक कार्यक्रमबिच नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

भारतीय इरकान इन्टरनेसनल लिमिटेडका प्रतिनिधिले रेल विभागका महानिर्देशक दीपककुमार भट्टराई र नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झालाई रेलमार्ग औपचारिक रूपमा हस्तान्तरण गरेका छन्। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले जयनगर–कुर्था रेलमार्गले नेपाल–भारतबिचको आर्थिक र सामाजिक सम्बन्धमा थप सहयोग पु¥याउने बताइन्। ‘नेपाल सरकारले पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्गलाई मुख्य प्रथामिकतामा राखेको छ,’ उनले भनिन्, ‘आवश्यक प्रक्रिया पूरा गरेर यो रेलमार्ग छिट्टै सञ्चालनमा ल्याउनेछौं।’ 

मन्त्री यादवले छिमेकी मुलुक भारतमा रेलमार्गको तीव्र विकास भएकाले पनि भारतीय अनुभव र सिपलाई नेपालको रेलमार्ग विकासमा उपयोग गर्दै अघि बढ्ने बताइन्। ‘भारतीय रेलमार्गको विकास विश्वमै लोभलाग्दो गतिमा भइरहेको छ,’ उनले भनिन्, ‘भारतीय रेलमार्गको अभ्यासलाई नेपालमा पनि भरपुर मात्रामा उपभोग गर्दै लैजानुपर्ने देखिन्छ। यसका लागि भारतको साथ र सहयोगको आवश्यकता पर्दछ।’ 

भारतीय राजदूत क्वात्राले जयनगर–कुर्था रेलमार्ग सञ्चालन भएसँगै दुवै मुलुकबिच सांस्कृतिक मात्रै नभएर आर्थिक गतिविधिमा समेत टेवा पुग्ने बताए। ‘रेलमार्गले भौतिक मात्र होइन, भावनात्मक रूपमा पनि दुवै मुुलुकबिचको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ,’ उनले भने, ‘नेपाल सरकारले आवश्यक प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो सञ्चालनमा ल्याउँदा दुवै मुलुकलाई फाइदा पुग्छ।’ राजदूत क्वात्राले यो रेलमार्ग सञ्चालनमा आएसँगै दुई देशबिचको व्यापार र वाणिज्य गतिविधिलाई थप बढावा दिनुका साथै जनताबिचको सम्बन्धलाई पनि अझै सुदृढ पार्ने दाबी गरे।

भारत सरकारले पहिलो चरणमा जयनगर–जनकपुर–बर्दिबास ६८.७२ किलोमिटर रेलमार्ग निर्माण गरिरहेको छ। हालसम्म जयनगर–कुर्थासम्मको ३४.९ किलोमिटर रेलमार्गको सम्पूर्ण भौतिक संरचना तयार भइसकेको छ। कुर्थादेखि डिजेलपुरासम्मको थप १७ किलोमिटर रेलमार्गको ब्रोडग्रेज लिक पनि अहिले लगभग ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। 

बाँकी डिजेलपुरादेखि बर्दिबाससम्मको १७ किलोमिटरको काम भने उत्साहजनक हुन सकेको छैन। यो रेलमार्ग जयनगर–बिजलपुर बर्दिबास रेलमार्गको एक खण्ड हो। विगतमा जयनगर–बिजपुराबिच न्यारो गज रेलमार्ग रहेको थियो। जयनगर–कुर्था खण्डमा कुल ८ वटा स्टेसन र साना केही स्टेसन रहेका छन्। यो रेलमार्ग सञ्चालनमा आएसँगै नेपाल–भारतबिचको पहिलो ब्रोडगज सीमापार रेलमार्ग हुनेछ।

सञ्चालन हुन अझै टुंगो छैन

रेलमार्गको लिक हस्तान्तरण भए पनि सो रेलमार्ग कहिले सञ्चालन हुने भन्ने अहिलेसम्म टुंगो लागेको छैन। नेपाल सरकारले करिब ८४ करोड रूपैयाँ लागतमा दुई थान रेल ल्याए पनि अहिलेसम्म सञ्चालन गर्न सकेको छैन।

भारतीय कोंकण रेल्वे कर्पाेरेसन कम्पनीले दुई थान रेल हस्तान्तरण गरेको लामो समय बिते पनि अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन। कम्पनीले गत वर्ष नै रेल हस्तान्तरण गरेको थियो। नेपालमा अझै पनि रेल सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया र कर्मचारीको टुंगो नलाग्दा समस्या कायमै छ। 

रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले सो रेलमार्ग सञ्चालनमा रहेका तीनवटा बाधामध्ये अझै पनि कानुनको अभाव रहेको बताए। ‘यसअघि रेल सञ्चालन गर्न तीनवटा मुख्य समस्या रहेका थिए,’ उनले भने, ‘जयनगर–कुर्था रेल सञ्चालनका लागि स्ट्यान्डर्स अपरेटिङ प्रोसेडुर र रेलमार्ग हस्तान्तरण कार्यक्रम सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘अझै पनि नेपालमा रेलमार्ग सञ्चालनका लागि कानुनको अभाव रहेको छ। 

विभागीय मन्त्री पनि आइसकेकाले अब सम्भवतः रेलसम्बन्धी कानुन छिट्टै जारी भएर रेल सञ्चालन हुने आशा राखेका छौं।’  नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मै पाँचवटा सीमामा रेलमार्गको पूर्वाधार तयार पार्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो। 

प्रकाशित: ६ कार्तिक २०७८ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App