१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एकैदिन झन्डै तीन हजार पाहुना मुस्ताङ पुगे

मुस्ताङमा एक सातामै दश हजार बढी आन्तरिक पाहुना

मुस्ताङको मुक्तिनाथ मन्दिरमा मंगलबार बिहानको भीडभाड । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र आन्तरिक पाहुनाका कारण कसरी चलायमान बन्दै गएको छ भन्ने हिमालपारिको जिल्ला मुस्ताङ र पोखरा आसपासका क्षेत्रका पदमार्गमा गएका आन्तरिक पाहुनाको भीडभाडले पुष्टि गर्छ। हिमाली जिल्ला मुस्ताङ सहित पोखरा आसपासका पदमार्गमा यतिबेला आन्तरिक पाहुनाको घुँइचो रहेको त्यहाँका व्यवसायीले बताएका छन्।

हिमाली जिल्ला मुस्ताङमा पछिल्लो एकसातामा मात्र १० हजार बढी आन्तरिक पाहुना भित्रिएका छन्। ती मध्ये केही भारतीय पनि छन्। सोमबार एकैदिन २९ सय १२ जना आन्तरिक पाहुना मुस्ताङ उक्लेको प्रहरीको तथ्यांक छ। आइतबार पनि मुस्ताङमा २५ सय जना पाहुना भित्रिएका थिए। वर्षाका बाबजुत पनि पाहुना मुस्ताङ उक्लिरहेको व्यवसायीको भनाई छ।

वर्षाका कारण बेनी–जोमसोम सडक अवरुद्ध नहुँदो हो त मुस्ताङ पुग्ने पाहुनाको संख्या अझै बढी हुने व्यवासायीको भनाई छ। ‘केही पाहुना त काभ्रेभीरको पहिरो पार गर्न नसकेर फर्किए। उनीहरुको बुकिङ समेत रद्द हुन पुग्यो,’ मुक्तिनाथमा क्षेत्रमा होटल ग्राण्ड साम्बला चलाईरहेका व्यवसायी सुरज गुरुङले भने, ‘कोरोना महामारीपछि पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको भीडभाडको पुष्टि मुस्ताङको आगमनले देखाउँछ। तर, सडक सहज नहुँदा कतिपय पाहुना बीचबाटै फर्किनुपर्‍यो।’ 

होटल बुकिङ गरेका आफ्ना १५ जना जति पाहुना काभ्रेभीरको पहिरो पार गर्न नसकेर फर्किएको उनले जानकारी दिए। ‘तोकिएको समयमा आउन नपाएपछि उनीहरुको घुमफिरको योजना नै खल्बलियो। अनि बीचबाटै फर्किए,’ उनले भने, ‘यहाँ आइपुगेका पाहुना पनि यतै रोकिए। आउँदै गरेका पाहुना बीचमै अलपत्र परे।’ उनका अनुसार म्याग्दी र मुस्ताङको सिमा क्षेत्र दाना–घाँसा क्षेत्रमा गएको पहिरोले यो पटक यात्रामा रहेका धेरै पाहुना अलपत्र परेका छन्। रुप्सेछहँरा, काभ्रेभीर र बाँदरजुँगभीर क्षेत्रमा पहिरो खस्दा यात्रु घन्टौसम्म रोकिएका थिए। कतिपय ठाउँमा पहिरो झरेको छ भने केही ठाउँमा गाडी हिलोमा फँस्दा यात्रु अलपत्र पर्ने गरेका छन्।

उनका अनुसार मोटरसाइकल, निजी र गाडी रिजर्भ गरेर पाहुनाहरु धमाधम मुस्ताङ उक्लिरहेका छन्। ‘कोरोना संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रमा चहलपहल बढेको छ। आन्तरिक पाहुनाको भरमा सबैजसो होटल करिब सतप्रतिशत भरिएका छन्,’ उनले भने, ‘लामो समय सुस्ताएको पर्यटन क्षेत्र एकाएक चम्किएको छ। विदेशी पाहुनाविहीन अवस्थामा पनि पर्यटन क्षेत्रले गति लिएको छ।’

मुस्ताङ प्रहरीका अनुसार असोज २६ देखि कात्तिक १ गते (एकसाता)सम्म मुस्ताङ उक्लिने पाहुनाको संख्या १० हजार ४७५ रहेको छ। असोज २६ गते ९१७, २७ गते १२ सय ३९, २८ गते १३ सय ३, २९ गते ६ सय ८, ३० गते ९ सय ९६, ३१ गते २५ सय र कात्तिक १ गते २९ सय १२ जना पाहुना मुस्ताङ उक्लेका छन्।

‘एकसाता अवधिमा १० हजार बढी पाहुना आएका छन्। कोरोना संक्रमणपछिको यो आगमनले हिमाली जिल्लाको पर्यटन क्षेत्र चलायमान बनेको छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत ऋषि बरालले भने, ‘मुस्ताङका सबैतिरका होटलमा अहिले खचाखच पाहुना छन्।’ 

पर्यटन क्षेत्र आन्तरिक पर्यटककै कारण चम्किएको उनले पनि बताए। सदरमुकाम जोमसोम, मुक्तिनाथ क्षेत्र र माथिल्लो भेगको उपल्लो मुस्ताङसम्म आन्तरिक पाहुना उक्लेको उनले बताए। ‘सबैतिर चहलपहल छ। आन्तरिकको यही भीडमा भारतीय पाहुनाको आगमन हुँदा झनै भीडभाड भएको छ,’ उनले भने। बरालले पनि स्थलमार्गमा पहिरो र हिलोको अवरोधले चाहेजति पाहुना उक्लिन नसकेको बताए। लामो समयसम्म बाटैमा रोकिनुपरेको भन्ने गुनासो पाहुनाको रहेको उनले बताए। ‘सडकको अवस्था यतिसम्म जटिल छ की आएका पाहुना फर्किन सकेनन, आउन चाहेका पाहुना बीचमै रोकिए,’ उनले भने।

हिमाली जिल्ला मुस्ताङमा मात्र नभई पोखरा आसपासका पदमार्ग क्षेत्रमा पनि पर्याप्त आन्तरिक पाहुना घुम्न पुगेका छन्। मर्दी हिमाल हाईक्याम्पमा होटल चलाई रहेका व्यवसायी चीमनारायण गौतमका अनुसार दिनमा करिब ३ सय जना आन्तरिक पाहुना अहिले मर्दी क्षेत्रमा उक्लिरहेका छन्। ३५५० मिटर अग्लो मर्दी हाईक्याम्पका १३ वटा होटलले अहिले पाहुना पाएको उनले बताए। ‘पोहोर पनि दसैंपछि मर्दी पदयात्रामा पर्याप्त आन्तरिक पाहुना आएका हुन्। अहिले पनि आएका छन्। यसले व्यवसायीलाई राहत दिएको छ,’ गौतमले भने।

अन्नपूर्ण क्षेत्रको अर्काे पदमार्ग घान्द्रुक क्षेत्रमा पनि आन्तरिक पाहुनाको उस्तै घुँइचो रहेको त्यहाँका व्यवसायीले बताएका छन्। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङका अनुसार अहिले दिनमा आठसय जनाको दरले आन्तरिक पाहुना उक्लेका छन्। ती मध्ये केही घान्द्रुक र कतिपय अरु पर्यटकीय गाउँमा बस्न पुगेका छन्। ‘आन्तरिक पाहुनाका कारण निकै नै चलायमान बन्यो। कुनैपनि होटलले पाहुनाविहीन भएर बस्नुपरेन,’ उनले भने, ‘लामो समय व्यवसायमा ढोका लगाएका व्यवसायी आन्तरिक पाहुनाको आगमनले चयमानमान हुँदा हौसिएका छन्।’  

व्यवसायीले अनुमान गरेभन्दा बढी संख्या आन्तरिक पाहुना अहिले घान्द्र्रुक आएको उनले बताए। उनका अनुसार ती मध्ये कतिपय पाहुना अन्नपूर्ण आधारशिविर र केही घोरेपानी क्षेत्रमा घुम्न पुगेका छन्। ‘वर्षाका कारण पाहुनाको सकड हिडडुल प्रभावित भएपनि प्लाष्टि ओडेर भएपनि आएका छन्,’ उनले भने, ‘लामो समय घरभित्र थुनिएका पाहुना अहिले फुक्काफाल हुँदा घुम्न निस्केका छन्।’

पदयात्रा व्यवसायी पनि आन्तरिक पाहुनाका कारण खुसी छन्। कोरोना संक्रमणको कारणले पोहोर घुमघाममा निस्कन नपाएका आन्तरिक पाहुना अहिले संक्रमण कमजोर भएको मौका पारेर घुमफिरमा निस्केको पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल अध्यक्ष सुशीलराज पौडेलले बताए।

‘आन्तरिक पाहुना पनि दुईवर्षदेखि घुमफिरमा जान पाएका थिएनन। पोहोर पुरै रोकिए, बल्ल अहिले सहज भएको हो,’ उनले भने, ‘पाहुनाको घुमफिरले पदयात्रा क्षेत्रका व्यवसायीलाई लाभ पुगेको छ। यसले पर्यटनमा आशाका संकेत देखाएको छ।’ यहीबेला वर्षा हुँदा केही पाहुनाको यात्रा प्रभावित भएको उनले पनि बताए। वर्षाले यात्रा प्रभावित हुँदा कतिपय पाहुना गन्तव्यमै पुग्नै नपाई फर्किएको पौडेलले जानकारी दिए।

प्रकाशित: २ कार्तिक २०७८ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App