coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दशैँ बिदामा भच्चेक घुम्न जाने आन्तरिक पर्यटक बढे

दशैँ बिदामा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आन्तरिक पर्यटक बढेका छन्। ‘पिच’ सडक भच्चेक जान सकिने भएपछि गोरखा सदरमुकाम, तनहुँ, चितवन, पोखरा लगायत ठाउँबाट भच्चेक घुम्न आउनेहरु बढेको स्थानीय बताउँछन्।  

‘वर्षातले दुई दिन कम भयो, नभए त यहाँ अत्याधिक मान्छे आउने जाने गरिरहेका छन्’ उद्योग बाणिज्य संघ भच्चेक बजार ईकाईका अध्यक्ष रेशम गुरुङले भने। जिल्ला भित्रका पर्यटक धेरै भच्चेक पुगेको उनी बताउँछन्। ‘बास बस्ने पनि छन्, बिहान आउने बेलुका फर्कने पनि धेरै छन्’ होटल ब्यवसायी समेत रहेका गुरुङले भने। आन्तरिक पर्यटक बढेसँगै स्थानीय बजारमा चहलपहल बढेको छ।  

गोरखा सदरमुकामदेखि बाह्रकिलो हुँदै साना गाडी सहजै भच्चेक पुग्न सकिन्छ। बाह्रकिलोबाट करिब ४५ किलोमिटरको दूरीमा भच्चेक छ। पालुङटार नगरपालिका हुँदै पनि कालोपत्रे सडक भएर भच्चेक पुग्न सकिन्छ। उच्च पहाडी भेग र त्यहाँसम्म पुग्ने सडक कालोपत्रे भएका कारणले पनि आन्तरिक पर्यटकको रोजाईमा भच्चेक परेको छ।  

भच्चेक बजारभन्दा केहीमाथि नम्की होमस्टे छ। त्यहाँबाट केहीमाथि सिरानडाँडा छ। सिरानडाँडासम्म गत वर्ष सडक कालोपत्रे भएको हो। भच्चेकबाट गोरखा र लमजुङका बेसी समथर फाँट पनि देखिन्छ। उच्च पहाडी भेग भएकाले त्यहाँको हावपानी चिसो छ। सफा मौसम भएका बेला हिमाल पनि नजिकै देखिन्छ। भच्चेक, नम्की, सिरानडाँडाबाट मनै लोभ्याउने दृष्य देख्न सकिन्छ।

‘दशैँ बिदा सुरु भएदेखि टिकाको दिनपछि पनि मानिसहरु घुम्न धेरै आएका थिए’ अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले भनिन्। गाउँपालिकाले अजिरकोटको नम्की, सिरानडाँडा, भच्चेकलाई पर्यटकीय केन्द्रको रुपमा अघि बढाउने गरी बजेट बिनियोजन गर्दै आएको उनले बताइन्।

गाउँपालिका, गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा होमस्टे पनि संचालनमा छ। १० घरधुरीमा २० देखि ४० जनासम्म पाहुना राख्ने गरी होमस्टे संचालन गरिएको बुद्ध सामुदायिक होमस्टेकी अध्यक्ष प्रेममाया तामाङले बताइन्। ‘धेरैजसो आउने जाने गरेका छन्,’ उनले भनिन्, ‘केही समूह होमस्टेमा पनि बसेका छन्।’  

टिकाको भोलिपल्टदेखि दुईदिन भच्चेकदेखि नम्की हुँदै सिरानडाँडा जाने सडक एक छिन पनि खाली नभएको र गाडी, मोटरसाइकलको चाप अत्यधिक रहेको उनले बताइन्। ‘एक दिन बसेको, एक छाक खाना खाएको पाँच सय रुपैयाँ प्रतिव्यक्ति शुल्क होमस्टेमा लाग्छ’ अध्यक्ष तामाङले भनिन् ‘थप खानेकुरा खाएमा थप लाग्छ।’ कोरोनाको बेला बन्द होमस्टेमा पर्यटक जान थालेपछि आम्दानी सुरु भएको छ।  

प्रकाशित: २ कार्तिक २०७८ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App