१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वीरगन्ज सुक्खा बन्दरगाहमा जामः यसरी अड्किए १५ सय खाली कन्टेनर

‘कन्टेनर कन्जेसन’ अर्थात् जाममा परेको सिर्सिया सुक्खा बन्दरगाह। तस्बिर: रितेश/नागरिक<br>

कोरोनाउपरान्त बजार ‘अनलक’ भएपछि मालबस्तुको व्यापारका लागि दुनियाँभरमा कन्टेनरको उपलब्धता घटेर हाहाकार भएको बेला वीरगन्जस्थित सुक्खा बन्दरगाहमा भने डेढ हजार बढी खाली कन्टेनर अड्केर बसेका छन्।

यसले गर्दा भारतीय रेलवे सञ्जालमार्फत अन्तर्राष्ट्रिय समुद्री व्यापारमार्गमा जोडिएको देशको एक मात्र संरचना वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाह ‘कन्टेनर कन्जेसन’ अर्थात् जाममा परेको छ। यहाँ डेढ वर्षभन्दा अधिक समयदेखि थन्किएका कन्टेनर पनि छन्।  

सुक्खा बन्दरगाहको क्षमता एक पटकमा साढे १५ सय कन्टेनर ह्यान्डिल गर्ने रहेकामा अहिले खाली कन्टेनर मात्र त्यसभन्दा बढी छन्। करिब त्यत्तिकै संख्यामा त्यहाँ भर्ती कन्टेनर पनि छन्। आफूहरूको लापरबाहीले नभई कोरोना कालमा भएको बनदाबन्दीका कारण यसरी खाली कन्टेनर यहाँ जाम हुन पुगेको बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्टले जनाएको छ। 

पुराना कन्टेनर लैजान भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन इन्डिया (कन्कोर)ले चासो नलिएकाले समस्या बढेको कम्पनीको दाबी छ।  

सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टिन ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक बि. मोहनले आफूहरूले सञ्चालनका लागि जिम्मा लिएकोभन्दा अगाडिदेखि त्यहाँ ८ सय ५० खाली कन्टेनर थुप्रेर बसेको बताए। ‘हामीभन्दा अगाडि हिमालयन टर्मिनल्सले सुक्खा बन्दरगाह सञ्चालन गरेको थियो, त्यसको पालामा २०७६ को चैत ९ देखि साउन २२ सम्म ८ सय ५० खाली कन्टेनर यहाँ जम्मा भइसकेका थिए, त्यसपछि सञ्चालन गने हाम्रो जिम्मा आयो,’ मोहनले भने, ‘यसमा उक्त कम्पनीभन्दा परिरिस्थतिलाई जिम्मेवार भन्न सकिन्छ, नेपालमा लकडाउन सुरु  

भएपछि खाली कन्टेनरलाई बेलैमा सुक्खा बन्दरगाह ल्याएर फिर्ता पठाउनु चुनौतीपूर्ण भयो, यो हाम्रो पालामा पनि भएको छ। त्यसयता ३ सय ६० खाली कन्टेनर यहाँ थन्किएका छन्।’

एक हजार २ सय १० कन्टेनर त्यसप्र कारका हुन् भने अरू करिब ३ सय कन्टेनर सामान्य रूपमा खाली भएर फिर्ता हुन बाँकी हुन्। यसरी २० फिट एकाइमा डेढ हजार बढी कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाहमा थन्किन पुगेका हुन्। 

खाली कन्टेनर फिर्ता नपाएर २०७६ को चैत ९ यता १५ वटा मालवाहक रेक यताबाट रित्तै फर्केका छन्। एक रेकमा २० फिट एकाइमा ९० वटा कन्टेनर अट्ने गर्छ। त्यही कन्टेनर ‘रोटेसन’ (ढुवानी शृंखला) भन्दा बाहिर भई थन्किएर बसेको मोहनले बताए।  

जामले गर्दा खुक्खा बन्दरगाहमा काम गर्ने मानिसका लागि सुरक्षा जोखिम बढेकोसमेत उनले बताए। खाली कन्टेनर सुक्खा बन्दरगाहबाट निस्किन नपाएर अहिले कन्टेनरमुनि कन्टेनर थिचिएर त्यसलाई निकाल्न निकै समय खर्च भइरहेको भन्सार क्लियरिङ एजेन्टहरूले जानकारी दिए। सुक्खा बन्दरगाहभित्र खाली कन्टेर राख्न भाडा नलाग्ने भएकाले सिपिङ कम्पनीहरू कन्टेनर उठाउनमा उत्सुक देखिएका छैनन्। 

अहिले दुनियाँभरमा खाली कन्टेनरको उपलब्धता घटेपछि वीरगञ्जमा थन्किएका कन्टेनर फिर्ता लैजान सिपिङ कम्पनीहरूको पनि चाँसो जागेको छ। चीनबाट एउटा २० फिट कन्टेनर मालसमान नेपाल मगाउँदा ४ देखि ६ हजार अमेरिकी डलर भाडा पथ्र्यो भने अहिले त्यो बढेर १० हजार अमेरिकी डलर पुगेको छ। 

यसरी चौतर्फी मालसामान लोड गर्न खाली कन्टेनर पाउन गाह्रो भएको बेला सिपिङ कम्पनी र ‘कन्कोर’सँग आफूहरूले संवाद गर्ने प्रयास गरिरहेको मोहनले बताए। १ सय ८० कन्टेनर हिन्द लजेस्टिकका रहेकाले त्यससँग पनि आफूहरू संवाद गरिरहेको उनले बताए।  

भारतको पश्चिम बंगालको कोलकातासम्म खाली कन्टेनर फिर्ता पठाउन प्रतिरेक (मालवाहक रेल) ६ लाख रूपैयाँ र आन्ध्रप्रदेशको विशाखापट्टनम पठाउन ९ लाख रूपैयाँ भारतीय मुद्रा भाडा लाग्ने भएकाले उक्त पैसा कसले बेहोर्ने भन्ने मुद्दा भएको मोहनले जानकारी गराए। 

५० प्रतिशत कन्कोरले छुट दिने र बाँकी ५० प्रतिशत सिपिङ कम्पनीहरू भुक्तानी गर्ने प्रस्ताव आफूहरूले गरेको उनले जनाए। ६० प्रतिशत बढी कार्गो विशाखापट्टनमका रहेकाले करिब १० वटा खाली रेक र करिब ६ वटा कोलकाताका लागि आवश्यक पर्ने देखिन्छ। 

यसरी सुक्खा बन्दरगाहमा जाम भएर बसेका खाली कन्टेनर फिर्ता पठाउन सवा करोड भारतीय रूपैयाँ अर्थात् नेपाली २ करोड खर्च हुने देखिन्छ। खाली कन्टेनर फिर्ता पठाउन नसकिएर त्यसबाट भएको जामले गर्दा असहजता भएको व्यापारी बताउँछन्। 

प्रकाशित: १६ आश्विन २०७८ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App