८ वैशाख २०८१ शनिबार
अर्थ

स्वदेशी उत्पादन प्रबर्द्धन अभियान: राष्ट्रपतिलाई लोगो हस्तान्तरण

स्वदेशी उत्पादन प्रबद्र्धन अभियान सञ्चालन गरिरहेका विराटनगरका उद्योगीहरू राष्ट्रपति विद्यादेवी भण्डारीका साथमा। तस्बिर/नागरिक

विराटनगरका उद्योगीहरूले सुरू गरेको स्वदेशी उत्पादन प्रबर्द्धन अभियान टोली काठमाडाैं पुगेको छ। विराटनगरलगायतका प्रदेश १ का विभिन्न जिल्लामा अभियान सञ्चालन गर्दै आएको उद्योगीहरूको टोली  काठमाडाैं पुगेको हो।  

स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा ‘मेरो देश, मेरै उत्पादन’को अभियान सुरू गरेका थिए। अभियान  अन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र  बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिएको छ। विराटनगरका उद्योगी व्यवसायीको टोलिले राष्ट्रपतिलाई लोगो र प्रतिबद्धतापत्र हस्तान्तरण गरेको मोरङ व्यापार संघले जनाएको छ।  

स्वदेशी बस्तु प्रबर्द्धन अभियान लिएर  पुगेको उद्योगी व्यवसायीको टोलिलाई राष्ट्रपति  भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रबर्द्धनका लागि संचालनमा ल्याएको यस अभियानमा आफनो पूर्ण साथ, सहयोग र समर्थन रहेको  बताइन्। 

उनले स्वदेशी उत्पादन प्रबर्द्धन अभियानमा ठूला उद्योगका मात्रै नभई साना तथा कुटिल उद्योगले उत्पादन गरेका बस्तुहरूलाईसमेत समेटी घरेलु, कुटिर र साना उद्योगका उत्पादनको पनि प्रबर्द्धन गर्न सुझाव दिइन्। यस अभियानमा ठूला उद्योगहरुका साथै स–साना स्तरमा संचालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्‍याउदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरुको उत्पादनलाई समेत समेटी देश व्यापीरूपमा  अभियानलाई सार्थक तुल्याउनु पर्ने उनको सुझाव थियो।

‘मेरो देश, मेरै उत्पादन’ अभियानको निमोनिक लोगो उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको संयूक्त प्रतिनिधि मण्डलले हस्तान्तरण गरेको थियो। लोगो हस्तान्तरण कार्यक्रममा उद्योग संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवन शारडा उद्योगीहरू किशोर प्रधान,महेश जाजु, प्रदीप मुरारका,नविन रिजाल,राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र अनुपम राठीको सहभागिता रहेको थियो। ‘मेरो देश मेरै’ उत्पादन अभियानको शुभारम्भ गत वर्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

प्रकाशित: १४ आश्विन २०७८ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App