९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

कोभिडले धरानको पर्यटन ५५ प्रतिशतले शिथिल

धरानको भानुचोकस्थित घण्टाघर। तस्बिर: रोहित/नागरिक

विश्वव्यापी कोभिड १९ को कारण धरानको पर्यटन उद्योगमा ५५ प्रतिशतले ह्रास आएको एक अध्ययनले देखाएको छ।  

सुनसरी उद्योग वाणिज्य संघअन्तर्गतको पर्यटन प्रर्वद्धन समितिले धरानको पर्यटनमा कोभिडले पारेको प्रभावबारे गरेको अध्ययनबाट यो तथ्य देखिएको हो। समितिले धरान ९ स्थित समिट माविका पर्यटनसम्बद्ध शिक्षक र विद्यार्थीहरुलाई अध्ययन गर्ने जिम्मा दिएको थियो। 

सोही टोलीले गरेको अध्ययनबाट धरानको पर्यटन उद्योगमा ५५ प्रतिशतले असर पुगेको देखिएको हो। अध्ययनको नेतृत्व शिक्षक अनिमेष बास्तोलाले गरेका थिए। उनका अनुसार २०७६ को बैशाखदेखि २०७८ असोज ९ गतेसम्मको तथ्यांक निकालिएको छ।

अध्ययन अनुसार अनुसार पछिल्लो डेढ बर्षमा कोभिडको कारण धरानमा पर्यटन गतिविधि ५२ प्रतिशतदेखि ५५ प्रतिशतसम्म घटेको छ। यो समयमा धरानमा २१ प्रतिशतले रोजगारी गुमाएका छन्।धरानको पर्यटन बजारमा पहिलो नम्बरमा आन्तरिक, दोस्रोमा भारतको विहार, तेस्रोमा पश्चिम वंगाल र चौथोमा मात्र तेस्रो मुलुक वा विदेशी पर्यटकहरु आउने गरेको अध्ययनबाट खुलेको छ। 

कोभिड अघि १२ लाख १३ हजार २ सय ७७ जना पर्यटकहरु धरान आएको अध्ययनले जनाएको छ। तर, कोभिड पछि घटेर ५ लाख ४४ हजार ९ सय ५६ जनामा सिमित भएको छ। यो ५५ प्रतिशतले घटेको हो। २०७७ र २०७८ सालमा करिब ९ महिनासम्म पर्यटन व्यवसाय पुरै ठप्प भएको अध्ययनले देखाएको छ।

आम्दानीमा पनि कोभिड अघि एक बर्षमा १७ करोड ४० लाख रहेकोमा कोभिड पछि घटेर ७ करोड ८९ लाखमा समेटिएको छ। यो ५४ प्रतिशतले फरक हो। खर्च पनि कोभिड अघि ७ करोड १६ लाख २७ हजार हुदै आएकोमा कोभिड पछि ३ करोड ३७ लाखमा सिमित भएको छ। कोभिड अघि १ हजार ७ सय ३० जना कर्मचारीहरुले रोजगार पाइरहेकोमा कोभिड पछि हाल १ हजार ३ सय ६७ जनामा सिमित रहेको अध्ययनबाट देखिएको छ। यो २१ प्रतिशतले कमी हो।

अध्ययनले धरानको पर्यटनलाई कोभिड भन्दा अघि नै डेंगुको महामारीले पनि प्रभावित बनाएको देखाएको छ। धरानमा करिब ४ बर्षअघि डेंगुको महामारी फैलिएको थियो। डेंगु महामारी फैलिएदेखि नै धरानको पर्यटन अस्तब्यस्त हुन थालेको पनि अध्ययनको निष्कर्ष रहेको छ। ‘पछिल्लो ४ बर्षदेखि डेंगुको सुरुवात भएसँगै धरानको पर्यटनको गतिविधि अस्तब्यस्त भएको देखिन्छ,’बास्तोलाले धरानमा आयोजित कार्यशाला गोष्ठीमा प्रस्तुत गरेको कार्यपत्रमा भनिएको छ।

धरानमा ४२९ वटा होट, लज तथा गेष्ट हाउस सञ्चालनमा रहेको छ भने ४३६ वटा रेष्टुरेष्ट रहेको छ। यस्तै, २९ वटा ट्राभल तथा टिकट बुकिङ, ४ वटा साहसिक पर्यटकीय खेल, १५ वटा यातायात कम्पनीहरु दर्ता रहेको छ। अध्ययनबाट धरानको पर्यटनमा व्यवसायीहरुले १ अर्ब ३१ करोड मात्र लगानी गरेको देखाएको छ। यो लगानी वास्तविकभन्दा थोरै देखिएको यहाँका व्यवासायीहरुको प्रतिक्रिया छ। नाम नखुलाउने सर्तमा एक व्यवसायीले भने,‘सबैले आफ्नो वास्तविक लगानी नभनेको हुनसक्छ।’ अध्ययनको नेतृत्वकर्ता बास्तोलाले भने जग्गाबाहेकको लगानीको मात्र आँकडा प्रस्तुत गरेको बताए। धरानको यातायात क्षेत्रमा भने ४ अर्ब ५० करोड रुपैया लगानी गरेको अध्ययनबाट देखिएको छ।

पर्यटकीय नगरीकोरुपमा घोषणा गर्न सुझाव

धरानको पर्यटनमा कोभिडको प्रभावबारे अध्ययन गरेको बास्तोलाले धरानलाई पर्यटकीय नगरीकोरुपमा घोषणा गर्न सुझाव दिएका छन्। साथै उनले धरानको पर्यटन प्रडक्ट पनि तयार गर्न सुझाएका छन्। बस्तोलाले शिथिल बनेको धरानको पर्यटनलाई गुल्जार बनाउन २४ घण्टा पर्यटकीय सेवा (नाइट मार्केट) सञ्चालन गर्न पनि सुझाएका छन्। पर्यटकहरुलाई अलमलाउने पुर्वाधारहरु तथा पर्यटन प्रोडक्टहरु बढी मात्रामा विकास गर्न, पर्यटन बजारमा विविधता ल्याउन पनि उनको सुझाव छ।  

यस्तै, पर्यटकको आवागमन हुने स्थानमा बढी प्रचारप्रसार गर्न, एकरुपताको प्याकेजहरु निर्माण गर्न, धार्मिकस्थलको महत्व सबैसम्म पुर्याउन भुमिका खेल्न पनि सुझाएका छन्। यसैगरि, पर्यटकहरुलाई सुरक्षाको अनुभूति गराउन पहल गर्न, नीति तथा कार्यक्रम बनाउदा निजी क्षेत्रको भावना समेट्न पनि सुझाव दिएका छन् भने धरानमा साहसिक पर्यटनको सम्भावना भएकोले यसको सम्बोधन गर्न पनि जरुरी रहेको औल्याएका छन्।  

प्रकाशित: १३ आश्विन २०७८ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App