जुम्ला सिँजाका ८० वर्षीय पर्वते सार्कीलाई जुम्लामा मोटर आउला भन्ने लागेको थिएन। कुनै बेला उनी कर्णालीको जुम्ला जोड्न सडक खनिरहेको छ भन्दा पत्याउँदैनथे। कर्णालीमा सडक पुग्न अझै धेरै समय लाग्ने उनी बताउँथे।
जुम्लामा मोटर आउने कुरा चल्दा उनी पटक्कै विश्वास मान्दैनथे। उनी भन्थे, ‘न हामी मोटरबाटो देख्न पाउँछौं। न त मोटर नै। मोटर देख्न नपाउँदै हाम्रो पुस्ता सकिनेछ।’ भारी बोकेर पैदल मात्र हिँड्न बानी परेका उनी गाउँमा मोटर त के सडकसम्म पनि पुग्दैन भन्ने व्यक्ति हुन्।
तर समय क्रममा उनको आँगनमै सुर्खेत, नेपालगन्जबाट चामल बोकेर मोटर आइपुग्यो। ‘आँगनमै गाडी गुडेको देख्दा भगवानकै दर्शन पाए जस्तो भयो। कल्पनै नगरेको विकास हुँदा निकै उत्साहित छु। यो समग्र दुर्गम ठानिएको कर्णालीबासीका लागि राम्रो सन्देश थियो,’ उनले भने।
सुर्खेत र नेपालगन्जबाट नुन र चामलको भारी ओसारेर जीवनका ६ दशक बिताएका उनले भने, ‘जुम्लासम्म मोटर आउला भन्ने सोचेका पनि थिएनौं। अहिले गाउँमै गाडी कुद्न थालेका छन्। हाम्रा दिन भारी बोकेर बिते पनि छोरा–नातीले सुख पाउने भए। यसैमा हामी खुसी छौं। ’
जुम्लादेखि सुर्खेत पैदल आउजाउ गर्न झण्डै दुई साता लाग्थ्यो। कालापहाड जाँदा हिँडेर नेपालगन्जसम्म पुग्थे। सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग सञ्चालनमा आएपछि उनको गाउँमा मोटर पुगेको छ। गाउँमै दैनिक उपभोग्य सामान पुग्छ। विकास निर्माणका सामग्री सस्तो मूल्यमै पुग्छन्। निर्माण सामग्री समयमै नपुगेर विकासको काम रोक्नु परेको छैन।
गाउँमा गाडी चल्न थालेपछि यहाँको भौतिक विकासले फड्को मार्न थालेको छ। मोटरसँगै पुगेको चेतना र शिक्षाले बिस्तारै परम्परागत अन्धविश्वासको जालो तोडिएको छ।बजार अभावमा गाउँमै कुहिने स्थानीय उत्पादनलाई मोटरले जिल्लाबाहिर लैजान्छ।
जिल्लाबाहिरबाट उपभोग्य वस्तु मोटरले घरदैलोमै पुर्याउँछन्। मोटरले विकासको सम्भावना र आधारलाई जिल्लाभित्र ओसारेका छन्। अहिले जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाका ६० वटै वडामा सडक सञ्जाल जोडिएको छ। अधिकांश गाउँबस्तीमा खाद्यान्न बोकेका गाडी पुग्छन्।
वर्षौंसम्म सडकबाट वञ्चित कर्णालीका जिल्लामा विकास निर्माण ठप्पप्रायः थियो। भौतिक निर्माणका लागि आवश्यक पर्ने सामग्री पुर्याउने एक मात्र विकल्प हवाई मार्ग थियो। त्यो पनि भरपर्दाे थिएन। जसका कारण विकास निर्माणले गति लिन सकेको थिएन। कर्णाली राजमार्ग सञ्चालनमा आएपछि कर्णालीका जिल्लामा विकासको ढोका खुलेको छ।
निर्माण व्यवसायी राजबहादुर महत सडक निकै महत्वपूर्ण हुने बताउँछन्। उनले भने, ‘सोचे जस्तो परिवर्तन त हुन सकेको छैन। हाइवेका नाममा सडक निकै साँघुरा छन्। कर्णालीबासीले गरेको आशा पूरा हुन नसके पनि विस्तारै कर्णालीमा सडकले विकास ओसारिरहेको छ। यो निकै राम्रो पक्ष हो।’
पहिले हरेक सामग्री जहाजबाट ल्याउनु पथ्र्यो। भनेको समयमा जहाज पाइन्नथ्यो। भाडा निकै महँगो पथ्र्यो। भनेको समयमा भौतिक संरचना निर्माण हुन सकेका थिएनन्। अहिले कुनै पनि निर्माण सामग्री समयमै ल्याउन सकिन्छ। पहिले जहाजबाट नआउने सामान खच्चरले ओसार्थे। जहाज चार्टर गरेर ल्याउनु पथ्र्यो।
अहिले सस्तो मूल्यमा इँटा, ब्लक, रड, सरिया, सिमेन्ट जस्ता निर्माण सामग्री गाउँगाउँमा पुगेका छन्। गाउँमा भूकम्पप्रतिरोधी भवन बनेका छन्। सडकले निर्माण कार्यदेखि उपभोग्य वस्तु ल्याउन सहज भयो। महिनौंसम्म सामग्रीको पखाइमा रहनुपर्ने बाध्यता हटेको छ। सडक हुँदै दक्ष मिस्त्री जुम्लामै पुग्छन्। गुणस्तरीय विकास सम्भव भएको छ।
अहिले सुर्खेत, नेपालगन्जदेखि दैनिक उपभोग्य सामान ल्याउने मोटर कर्णालीको फलफूल लिएर फर्किन्छन्। यहाँको जडीबुटी लैजान्छन्। उताबाट आएका गाडी भरेर पठाउन नसकिएकोमा कर्णालीबासी खिन्न छन्।
यता आउने सामान बढी छ। उता लैजाने कम छ। महतले भने, ‘तर सडक आर्थिक समृद्धिको आधार बनेको छ।’ सडकले समयमै पाठ्यपुस्तक पुग्छन्। विद्यार्थीले समयमै अध्ययन गर्न पाउँछन्। स्वास्थ्य सामग्री, औषधि सडकबाटै आउँछ। औषधि अभावमा छट्पटिनु परेको छैन।’
‘पहिले नुन र चामल त बाहिरबाट बोकेर ल्याउनुपथ्र्यो, निर्माणका सामान बोकेर ल्याउने सम्भावना थिएन,’ स्थानीय जीवनबहादुर बुढाले भने, ‘सडक खुलेपछि मात्र गाउँमा विकासको लहर चलेको हो। मोटरले निर्माणका सामान ढुवानी गर्न थालेका छन्।’
‘मोटर हाम्रा लागि बरदान बनेका छन्। दुःख बोकेर बाहिरिन्छन्, विकास बोकेर भित्रिन्छन्,’ उनले भने, ‘कर्णालीमा मोटरसँगै विकास पनि भित्रिएको छ। जीवन निर्वाह गर्न पुरुषहरू कालापहाड जानुपर्ने बाध्यता हट्दै जान थालेको छ। सडक खुलेपछि गाउँमै रोजगारी सिर्जना भएको छन्। यो सुखद पक्ष हो।’
कर्णाली राजमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको थियो। सेनाले ट्र्याक खोलेपछि पहिलोपटक जुम्लामा २०६३ सालमा मोटर आइपुगेको हो। तर सडक स्तरोन्नति हुन सकेको छैन।
अहिले यो राजमार्गअन्तर्गत कर्णालीका कालीकोट, जुम्ला र मुगुसम्म मोटर चल्छन्। मोटर चलेपछि गाउँमा विकास निर्माणको अभियान नै चलेको छ। ‘हामी त हिँडेरै कालापहाड जान्थ्यौं, गाउँमा गाडी आउला भन्ने कल्पना पनि थिएन तर हामीले हेर्दाहेर्दै कर्णालीमा सडक खुल्यो। मोटर चल्न थालेपछि गाउँको मुहार नै फेरिएको छ,’ स्थानीय जयबहादुर कार्कीले सुनाए।
गाडीमा ढुवानी गर्दा निर्माण सामग्री सस्तो पर्ने भएकाले पनि भौतिक निर्माणको कामले तीव्रता पाएको स्थानीय बताउँछन्। अहिले गाउँगाउँमा सडक पुगेको छ। यहाँ उत्पादन भएका सामान बाहिर बिक्री हुन थालेको छ। विद्यालय र अस्पताल निर्माण हुन थालेका छन्, रोजगारी पाइन थालेको छ। पैदल हिँड्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ।
जुम्लामा सुविधासम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण भएको छ। अहिले जुम्लामै डाक्टर उत्पादन सुरू भएको छ। सडक नहुँदा डाक्टर त के कर्णालीले स्वास्थ्यकर्मी पनि पाएन। अभावै अभावको उपमा पाइरह्यो।
दुर्गम भन्दै हरेक क्षेत्रबाट हेपियो। ‘मान्छे बिरामी भएपछि बोकेर लग्नुपर्ने बाध्यता थियो। जहाजमा लैजान पैसा धेरै चाहिन्थ्यो। पैसा सबैसँग हुन्थेन। पैसा नहुने कर्णालीबासी मृत्यु पर्खेर बसेका हुन्थे।
सडक सञ्चालनमा नआउँदा उपचार नपाउँदा अकालमै धेरै मान्छे मरे। बाँच्ने मान्छेलाई पनि समयमा नै अस्पताल पुर्याउन कठिन थियो। अहिले त गाउँमै गाडी पुगे। चाहेको समयमा बिरामीलाई अस्पतालसम्म पुर्याउन सजिलो भएको छ।
गाउँगाउँमै एम्बुलेन्स पुग्छन्। मोटर पुगेसँगै गाउँमा पनि स्वास्थ्यचौकी स्थापना भएका छन्। डाक्टर पनि बस्न थालेका छन्। ‘विकास भनेकै सडक रहेछ, पहिला पनि त्यही ठाउँ हो। हालत निकै खराब थियो। अहिले गाडी पुगेपछि सबै सुविधा गाउँमा पुगेको छ,’ उनले भने, ‘सडकले कर्णालीबासीको मुहारमा खुसी ल्याएको छ। कर्णालीबासीको परिभाषा बदलिदिएको छ।’
कर्णालीका लागि सडक नै भाग्यरेखा भएको कर्णालीबासी बताउँछन्। तत्कालीन कर्णालीको कालीकोट, जुम्ला र मुगु जिल्लामा सडक पुगिसकेको छ। कर्णाली राजमार्गको स्तरोन्नति माग गरिएको छ। वर्षायाममा यो राजमार्गको ठाउँठाउँमा पहिरो जानाले अबरुद्ध हुन्छ। हिउँदमा धुलो र वर्षामा हिलो कर्णाली सडकको पहिचान नै बनेको छ।
‘सडकले भौतिक निर्माण मात्र होइन, सामाजिक विकासमा पनि कर्णालीले फड्को मारेको छ,’ जुम्लाका सामाजिक अभियन्ता कर्णबहादुर भण्डारीले थपे, ‘मोटरसँगै शिक्षित मान्छेको पनि आगमन भयो। बाहिरबाट नयाँ संस्कार र सोच पनि भित्रिएको छ। यसले यहाँको अन्धविश्वासलाई तोडेको छ, यो पनि विकास नै हो।’
मोटरले नै खाद्यान्न ढुवानी गर्न थालेपछि पछिल्ला केही वर्षदेखि खाद्यान्न अभाव हुने समस्या हटेको छ। पैदल हिँड्नुपर्ने बाध्यता छैन। कर्णालीबासीले आफ्ना छोराछोरीलाई हिजोआज सुर्खेत र नेपालगन्जमा पढाउन थालेका छन्। आवतजावत गर्न सहज भएपछि छोराछोरीलाई बाहिरी जिल्लामा पढ्न पठाएको स्थानीय बताउँछन्।
शिक्षा स्वास्थ्यको पहुँच राम्रोसँग पुगेको छ। कृषि, पर्यटनका सम्भावना बढेका छन। कर्णालीबासीले आफ्नो गाउँठाउँमै रोजगारीको अनुभूति गर्न थालेका छन्। यहाँ उत्पादन हुने स्याउ, सिमी, मार्सी चामल, कोदो, स्याउ लगायत यहाँ पाइने जडीबुटीले निकै राम्रो साथ दिएका छन्।
सडकले यहाँ उत्पादित स्याउ समयमै नेपालका ठूला सहरमा पुर्याउन सघाएको छ। कर्णालीको स्याउले भारत र चीनको स्याउलाई विस्थापित गर्दै आफ्नो वर्चश्व कायम राखेका छन्। सिमी पनि नेपालका ठूला सहरमा पुग्छ।
यहाँको स्याउका बिरुवा अहिले हिमाली क्षेत्रका अधिकांश जिल्लामा पुग्छन्। किसानका बगैंचा र खेतबारीमै पुगेर व्यापारीले स्थानीय उत्पादन खरिद गरेर लैजान्छन्। सडकका कारण यहाँ ठुलठूला मेसिन भित्रिएका छन्। उद्योग स्थापना भएर चलिरहेका छन्।
प्रकाशित: १२ आश्विन २०७८ ०२:३९ मंगलबार