२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ। सडक निर्माणमा ह्युमपाइप र पर्खाल निर्माणको क्रममा गुणस्तरहीन र मापदण्डविपरीत कार्य भइरहेको भन्दै स्थानीय आक्रोशित भएका छन्।

निर्माण कम्पनीले नाफा मात्रै चाहेको र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन्। 

‘निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सिमेन्ट प्रयोग भइरहेको छ,’ स्थानीय राजेन्द्र धामीले भने, ‘हामीले धेरै पटक गाउँपालिकामा गुनासो राखे पनि सुनुवाइ नै भएको छैन।’ यस्तै सोही सडक खण्डमा ह्युमपाइप राखेपछि माटो मात्रै भरेका कारण ठाउँठाउँमा गाडी फस्ने र यात्रुहरू अलपत्र पर्ने गरेका छन्।  

सहजपुरदेखि अलाडसम्मको यात्रा कष्टकर हुने गरेको बताउँदै गुराँस सुपर यातायातका महासचिव तथा सोही क्षेत्रमा बस चलाउँदै आएका तेजसिंह ठगुन्नाले भने, ‘यो सडकमा ठेकेदार कम्पनीले ह्युमपाइप राख्दा माथिबाट अलिकति मात्रै माटो राखेका कारण समयसमयमा बस फस्ने समस्या छ।’ 

४ दिनदेखि गुप्तपानीमा फसेको बस निकाल्न गाह्रो भएको उनले बताए। ‘हाम्रो यातायातले सो सडक खण्डमा रुट परमिट दिएको छ,’ उनले भने, ‘सडकको अवस्था बेहाल हुँदा सो सडक खण्डमा समयसमयमा गाडी फस्ने र चार÷पाँच दिनसम्म पनि निकाल्नै नसकिने अवस्था आउने गरेको छ।’ सडकमा ह्युमपाइप राखेपछि ढुंगाको पर्खाल लगाउनुपर्ने हो। तर, त्यहाँ माटो मात्रै भरेकाले समयसमयमा गाडी फस्ने गरेको उनले बताए।

पिच र आवश्यक ठाउँमा नाली निर्माण गर्ने गरी झन्डै करसहित ३ करोड ६४ लाख रूपैयाँमा ६ किलोमिटर सडकखण्ड ठेक्का सम्झौता भएको थियो। उक्त सडकमा जागृति निर्माण सेवाले ठेक्का पाएको थियो। २०७५ मा ठेक्कासम्झौता भएको सहजपुर–अलाड सडकको निर्माण अवधि गत असारमा सकिएको थियो। समयमै काम गर्न नसकेपछि ६ महिना म्याद थप भएर अहिले निर्माण कार्य भइरहेको छ।

सो सडक खण्डमा अहिले पेटी ठेकेदार नेत्र शाहले काम गरिरहेका छन्। पेटी ठेकेदार शाहको साइडमा पुरानो सेट भएको सिमेन्ट प्रयोग भएको भन्दै स्थानीयले विरोध जनाएका थिए। 

विरोध जनाउँदाजनाउँदै पनि पेटी ठेकेदारले अटेरी गरिरहेको बताइएको छ। ‘स्थानीयको विरोध हुँदाहुँदै पनि पेटी ठेकेदार शाहले अटेरी गरिरहेका छन्,’ नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘यी ठेकेदार राजनीतिक आडमा कमसल सामग्री प्रयोग गरिरहेका छन्।’ 

सडकमा प्रयोग भइरहेको कमसल सामग्रीको स्थानीय सरकारले पनि रखेदेख गर्नुपर्नेमा कुनै वास्ता नगरेको बताउँदै अर्का स्थानीय हरीश धामीले भने, ‘सडकमा गुणस्तरहीन सामान प्रयोग हुँदासमेत कोही बोल्दैनन्।’ बजेटको दुरूपयोग गर्नुभन्दा बरु सास्ती नै सहन तयार रहेको स्थानीय रमेश रोकामगरले बताए। उनले भने, ‘यसरी बजेटको दुरूपयोग गर्नुभन्दा त बरु हामीलाई सकस नै ठिक छ।

चुरे गाउँपालिकाका इन्जिनियर विक्रम कँडेलले सहजपुर–अलाड सडकखण्डमा राजनीति घुसेका कारण सडक विवादित भइरहेको बताए। उनले भने, ‘सडकमा राजनीति घुसेका कारण गुणस्तरीय काम भइरहेको छ वा छैन भन्ने थाहै छैन।’ कार्यालयमा प्राविधिक कर्मचारी भए पनि साइड हेर्न कोही नगइदिँदा ठेकेदार कम्पनीको मनोमानी हुने गरेको बताउँदै उनले भने, ‘ठेकेदार कम्पनीलाई साइजमा ल्याउन पनि प्राविधिक कर्मचारीले अनुगमन गरिदिनुपर्ने हो, तर हाम्रोमा कोही पनि प्राविधिक कर्मचारी त्यो साइडमा जान चाहँदैनन्, खाली मेरै मात्र ठेक्का हो जस्तो गर्छन्।’ आफू प्राविधिक कार्यालयको प्रमुख भएका नाताले आफूमातहत कर्मचारीलाई साइडमा खटाउँदा पनि भनेको नमान्ने गरेकाले यहाँको विकास निर्माणका काममा झारो टार्ने काम भइरहेको उनले स्विकारे।

सहजपुर–अलाड सडकखण्डमा काम गरिरहेका पेटी ठेकेदार नेत्र शाहले पहिले पनि कमसल सामग्री प्रयोग गरेर निर्माण गरेको पर्खाल आफूले भत्काइदिएको बताउँदै उनले थपे, ‘केही ठाउँमा मैले नै आफैंले कमसल सामग्री प्रयोग भएको भन्दै भत्काइदिएको थिएँ अनि केही ठाउँमा आफैं भत्किएको थियो।’ त्यसपछि पनि पेटी ठेकेदार शाहले गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको प्रमाणित भएको एक प्राविधिकले बताए। यदि फेरि पनि पर्खाल र ह्युमपाइप निर्माणमा कमसल वस्तु प्रयोग भएको भेटिएमा पुनर्निर्माण गर्ने गरी भत्काउने उनले बताए । 

प्रकाशित: ७ आश्विन २०७८ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App