२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विकास ओसार्दै कर्णाली सडक

जुम्ला सिँजाका ८० वर्षीय पर्वते सार्कीलाई जुम्लामा मोटर आउला भन्ने लागेको थिएन। उनी कर्णालीको जुम्ला सम्म सडक खनिरहेको भन्दा पत्याउदैनथ्ये। कर्णालीमा सडक पुग्न अझै धेरै समय लाग्ने उनी बताउँथे।  

जुम्लामा मोटर आउला भन्ने कुरा चल्दा उनी पटक्कै विश्वास मान्दैनथ्ये। उनी भन्थे,‘न हामी मोटरबाटो देख्न पाउँछौँ। नत मोटर नै। गाडी देख्न नपाउँदै आफ्नो पुस्ता सकिनेछ। ’भारी बोकेर पैदल मात्र हिड्न बानी परेका उनी गाउँमा मोटर त के सडक सम्म पनि पुग्दैन भन्ने व्यक्ति हुन्।  

तर जब उनको आँगनमै सुर्खेत नेपालगंजबाट चामल बोकेर मोटर सडकमा गुड्न थाले उनी छक्क परे। उनले भने, ‘आगनमै गाडी गुडेको देख्दा भगवानकै दर्शन पाएको अनुभुति भयो। कल्पनै नगरेको विकास हुँदा निकै उत्साहित भयौँ। यो समग्र दुर्गम ठानिएको कर्णालीबासीका लागि राम्रो सन्देश थियो। ’

सुर्खेत र नेपालगन्जबाट पैदल हिँडेर नुन र चामलको भारी बोक्दै जीवनका ६ दशक विताएका उनले भने ‘जुम्लासम्म मोटर आउला भन्ने सोचेका पनि थिएनौं, हाम्रा दिन त भारी बोकेरै गए। अहिले गाउँमै गाडी कुद्न थालेका छन्। छोरानातिले भने सुख पाउने भए। यसैमा हामी पहिलो पुस्ता खुसी छौँ।’

जुम्ला देखि सुर्खेत आउजाउ गर्न झण्डै दुइ साताको समय लाग्थ्यो। कालापहाडमा जादा हिडेर नेपालगंज सम्म पुग्थे। सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्ग सञ्चालनमा आएपछि उनको गाउँमा पनि अहिले मोटर पुगेको छ। गाउँमै दैनिक उपभोग्य सामान पुग्छ। विकास निर्माणका सामाग्री सस्तो मुल्यमै पुग्छन। निर्माण सामाग्री समयमै नपुग्दा विकासको काम रोक्नु परिररहेको छैन।  

गाउँमा गाडी चल्न थालेपछि यहाँको भौतिक विकासले फड्को मार्न थालेको छ। मोटरसँगै पुगेको चेतना र शिक्षाले बिस्तारै परम्परागत अन्धविश्वासको जालो पनि तोडिएको छ। बजार अभावमा गाउँमै कुहिने स्थानीय उत्पादनलाई मोटरले जिल्लाबाहिर लैजान थालेको छ। जिल्ला बाहिर देखि दैनिउपभाग्य बस्तु मोटरले घरदैलोमै पुर्याउछन्। विकासको सम्भावना र आधारलाई जिल्लाभित्र ओसार्न थालेका छन्। अहिले जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाका ६० वटै वडामा सडक सञ्जाल जोडिएको छ। अधिकांस गाउँबस्तीमा मोटर खाद्यन्न लिएर पुग्ने गरेका छन्।  

वर्षौंसम्म सडकबाट वञ्चित कर्णालीका जिल्लामा प्रायः विकास निर्माण ठप्प नै थियो। भौतिक निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ पुर्‍याउने एक मात्र विकल्प हवाईमार्ग थियो। त्यो पनि भरपर्दाे थिएन। जसका कारण विकास निर्माणले गति लिन सकेको थिएन। अहिले कर्णाली राजमार्ग सञ्चालनमा आएपछि कर्णालीका जिल्लामा विकासको ढोका खुलेको छ।

निर्माण व्यवसायि राजबहादुर महत सडक निकै महत्वपुर्ण हुने बताउँछन्। उनले भने,‘सोचे जस्तो परिवर्तन त हुन सकेको छैन। हाइवेका नाममा सडक निकै साँघुरो छ। कर्णालीबासीले गरेको आशा पुरा हुन नसकेपछि विस्तारै कर्णालीमा सडकले विकास ओसारीररहेको छ। यो निकै राम्रो पक्ष हो। ’

पहिले हरेक सामाग्री जहाजबाट उतार्नु पथ्र्यो। भनेको समयमा जहाज पाउँथेन। भाडा निकै महंगो पथ्र्यो। भनेको समयमा भौतिक संरचना निर्माण हुन सकेका थिएनन्। अहिले कुनै पनि निर्माण सामाग्री समयमै ल्याउन सकिन्छ। उनले जहाजबाट नआउने सामान खच्चरले ओसार्थे। जहाज चार्टर गरेर ल्याउनु परेको हुन्थ्यो।  

अहिले सस्तो मुल्यमा इट्टा,ब्लक,रड,सरीया,सिमेन्ट जस्ता निर्माण सामाग्री गाउँगाउँमा बनेका छन्। गाउँमा भुकम्प प्रतिरोधी भवन निर्माण भएका छन्। सडकले निर्माण कार्य देखि उपभोग्य वस्तु ल्याउन सहज भयो। महिनौ सम्म सामाग्रीको पखाईमा हुनु पर्ने बाध्यता हटेको छ। सडक हुँदै दक्ष मिस्त्री जुम्लामै पुग्छन्। गुणस्तरीय विकास संभव बनेको छ।  

अहिले सुर्खेत नेपालगंज देखि दैनिक उपभोग्य सामान ल्याउने मोटरले कर्णालीको फलफूल लिएर जान्छन्। यहाँको जडिबुटी लैजान्छन्। उताबाट आएका गाडीहरु परिपुर्ति गर्न नसकिएको प्रति कर्णालीबासी चिन्तित छन्। यता आउने सामान बढि छ। उता लैजाने सामान कम छ। उनले भने,‘तर सडक आर्थिक समृद्धिको आधार बनेको छ। ’ सडकले समयमै पाठ्यपुस्तक पुग्छन। विद्यार्थीले समयमै अध्ययन गर्न पाउँछन। स्वास्थ्य सामाग्री,औषधि सडकबाटै आउँछ। औषधि अभावमा छटपटिनु परेको छैन। ’

पहिले नुन र चामल त बाहिरबाट बोकेर ल्याउनुपथ्र्यो, निर्माणका सामान बोकेर ल्याउने सम्भावना थिएन’, स्थानीय जीवनबहादुर बुढाले भने,‘सडक खुलेपछि मात्र गाउँमा विकासको लहर चलेको हो। मोटरले निर्माणका सामान ढुवानी गर्न थालेका छन्।‘

मोटर त हाम्रा लागि निकै सहज बनेका छन्।  दुःख बोकेर बाहिरिन्छन् अनि विकास बोकेर भित्रिन्छन्, उनले भने,‘ कर्णालीमा भित्रिएका मोटरसँगै विकास पनि भित्रिएको छ। जीवन निर्वाह गर्न पुरुषहरू काला पहाड जानुपर्ने बाध्यता हट्दै जान थालेको छ। सडक खुलेपछि गाउँमै रोजगारी सिर्जना भएको छन्। यो सुखद पक्ष हो। ’

कर्णाली राजमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको थियो। सेनाले ट्रयाक खोलेपछि पहिलोपटक जुम्लामा २०६३ सालमा मोटर पुगेको थियो। तर सडक स्तरोन्नति हुन सकेको छैन।    

अहिले यो राजमार्गअन्तर्गत कर्णालीका कालीकोट, जुम्ला र मुगुसम्म मोटर सञ्चालन भइरहेको छ। मोटर सञ्चालन भएपछि गाउँमा विकास निर्माणको अभियान नै चलेको छ। ‘हामी त हिँडेरै कालापहाड जान्थ्यौं, गाउँमा गाडी आउला भन्ने कल्पना पनि थिएन तर हामीले हेर्दाहेर्दै कर्णालीमा सडक खुल्यो, मोटर चल्न थालेपछि गाउँको मुहार नै फेरिएको स्थानीय जयबहादुर कार्कीले सुनाए।  

गाडीमा ढुवानी गर्दा निर्माण सामग्री सस्तो पर्ने भएकाले पनि भौतिक निर्माणको कामले तीव्रता पाएको स्थानीय बताउँछन्। अहिले गाउँगाउँमा सडक पुगेको छ। यहाँ उत्पादन भएका सामान बाहिर बिक्री हुन थालेको छ। विद्यालय र अस्पताल निर्माण हुन थालेका छन्, रोजगारी पाइन थालेको छ। पैदल हिँड्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ।  

जुम्लामा सुविधा सम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण भएको छ। अहिले जुम्लामै डक्टरी उत्पादन शुरु भएको छ। सडक नहुँदा डक्टर त के कर्णालीले स्वास्थ्यकर्मी पनि पाएन। अभावै अभावको उपमा पाइरह्यो। दुर्गम भन्दै हरेक क्षेत्रबाट हेपियो। ‘मान्छे बिरामी भएपछि बोकेर लग्नुपर्ने बाध्यता थियो। जहाजमा लैजान पैसा धेरै चाहिन्थ्यो। पैसा सबै संग हुन्थ्थेन। पैसा नहुँने कर्णालीबासी मृत्यु पर्खेर बसेका हुन्थे।  

सडक सञ्चालनमा नआउँदा उपचार नपाउँदा अकालमै धेरै मान्छे मरे। बाँच्ने मान्छेलाई पनि समयमा नै अस्पताल पुर्‍याउन कठिन थियो। अहिले त गाउँमै गाडी पुगे। चाहेको समयमा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सजिलो भएको छ।’ गाउँगाउँमै एम्बुलेन्स पुग्छन। उनले मोटर पुगेसँगै गाउँमा पनि स्वास्थ्यचौकी स्थापना भएका छन्। डाक्टर पनि बस्न थालेका छन्। ‘विकास भनेकै सडक रहेछ, पहिला पनि त्यही ठाउँ हो। हालत निकै खराब थियो। अहिले गाडी पुगेपछि सबै सुविधा गाउँमा पुगेको छ। उनले भने, ‘सडकले कर्णालीबासीको मुहारमा खुसी ल्याएको छ। कर्णालीबासीको परिभाषा बदलिदिएको छ। ’

कर्णालीका लागि सडक नै भाग्यरेखा भएको कर्णालीबासी बताउँछन्।  तत्कालिन कर्णालीको कालिकोट,जुम्ला र मुगु जिल्लामा सडक पुगिसकेको छ। कर्णाली राजमार्गको स्तरउन्नतीका लागि माग गरिएको छ। वर्षायाममा यो राजमार्गको ठाउँठाउँमा पहिरो जानाले अवरुद्ध हुन्छ।  हिउँदमा धुलो र वर्षामा हिलो कर्णाली सडकको पहिचान नै बनेको छ।  

सडकले भौतिक निर्माण मात्र होइन, सामाजिक विकासमा पनि कर्णालीले फड्को मारेको छ’, जुम्लाका सामाजिक कर्णबहादुर भण्डारीले थपे,‘मोटरसँगै शिक्षित मान्छेको पनि आगमन भयो। बाहिरबाट नयाँ संस्कार र सोच पनि भित्रिएको छ। यसले यहाँको अन्धविश्वासलाई तोडेको छ, यो पनि विकास नै हो।’  

मोटरले नै खाद्यान्न ढुवानी गर्न थालेपछि पछिल्लो केही बर्ष देखि खाद्यान्न अभाव हुने समस्या हटेको छ। पैदल हिँड्नुपर्ने बाध्यता छैन। कर्णालीबासीले आफ्ना छोराछोरीलाई हिजोआज सुर्खेत र नेपालगन्जमा पढाउन थालेका छन्। आवतजावत गर्न सहज भएपछि छोराछोरीलाई बाहिरी जिल्लामा पढ्न पठाएको स्थानीय बताउँछन्।

शिक्षा स्वास्थ्यको पहुँच राम्रो संग पुगेको छ। कृषि, पर्यटनका संभावना बढेका छन। कर्णालीबासीले आफ्नो गाउँठाउँमै रोजगारीको अनुभुति गर्न थालेका छन। यहाँ उत्पादन हुने स्याउ, सिमी, मार्सीचामल, कोदो, स्याउ लगायत यहाँ पाइने जडिबुटीले निकै राम्रोसाथ दिएका छन्।  

सडकले यहाँ उत्पादित स्याउ समयमै नेपालका ठुला सहर पुग्छ। भारत र चीनको स्याउलाई विस्थापित गर्दै आफ्नो वर्चश्व कायम राख्छ। सिमी नेपालका ठुला सहरमा पुग्छ। यहाँको स्याउका विरुवा अहिले हिमाली क्षेत्रका अधिकांस जिल्लामा पुग्छन्। सडकले किसानका बगैँचा र खेतबारीमै पुगेर ब्यापारीले स्थानीय उत्पादन खरिद गरेर लैजान्छन्। सडकका कारण यहाँ ठूलठूला मेसिन भित्रिएका छन्। उद्योग स्थापना भएर चलिरहेका छन्।

प्रकाशित: ६ आश्विन २०७८ ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App