coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन सुरु

दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने आशा गरिएको दोधारा–चाँदनी सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको गुरुयोजना अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्न लागिएको हो।  

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. १ र ३ को क्षेत्रमा फैलिने गरी प्रस्ताव गरिएको दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँच चौकीको निर्माणका सन्दर्भमा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन थालिएको हो। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन क्षेत्रको प्रस्तावित करिब २८० बिघा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, रेल्वे प्लेटफार्म, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइन लगायतका लागि आवश्यक भौतिक संरचनाको वातावरणीय प्रभाव अध्ययन गर्न लागिएको उनले बताए।  

सचिव भट्टराईले निर्माणअघिका वातावरणीय प्रभाव मूल्यांकन, अध्ययन लगायत सम्पूर्ण आवश्यक कार्य शीघ्र सम्पन्न गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई निर्देशन समेत दिएका छन्। हाल महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलदेखि पारिपट्टि करिब १२०० मिटरको दुरीमा उक्त सुक्खा बन्दरगाह निर्माण हुन लागेको छ। 

मन्त्रालयका अनुसार सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भई गुरुयोजना समेत तयार भइसकेकोेले वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको कार्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिबाट सुरु गरिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।  

सो कार्यको लागि परामर्शदाता छनोट भई काम अघि बढेको छ। सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार एवं दोधारा चाँदनी नगरपालिका प्रमुख बिरबहादुर सुनारले सुक्खा बन्दरगाह शीघ्र निर्माण सम्पन्न गर्न आवश्यक सम्पूूर्ण सहयोग गर्ने बताए। 

समितिका कार्यकारी निर्देशक गजुरेलले दुई सय ८० बिघा क्षेत्रफलमा निर्माण गरिने यो परियोजनाको प्रथम चरणको संरचना निर्माणको लागि ६ अर्ब ९८ करोड अनुमान गरिएको छ। यो परियोजना कञ्चनपुरको महाकाली पारि दोधारा–चाँदनी गौरीशंकर र मायपुरी सामुदायिक वनको जंगलमा निर्माण गर्न प्रस्ताव गरिएको छ। अहिलेसम्म यो परियोजनाले समेट्ने क्षेत्रको जग्गा प्राप्ति भने भइसकेको छैन।  

समितिले यो परियोजनाको परियोजनाको सर्भे तथा विस्तृत डिजाइनको र इआइए र टेन्डर डकुमेन्ट तयार पार्न १५ महिना छुट्ट्याइएको छ। १२ जुलाई २०२२ सम्म विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने योजना तय गरिएको छ। समितिले यो परियोजनाको कुनै अवरोधबिनै पूर्वतयारीको काम भएको खण्डमा १२ अक्टोबर २०२२ देखि निर्माण सुरु गरेर दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ।  

विस्तुत परियोजना सम्भाव्यता अध्ययन र निर्माण अवधिसमेत गर्दा तीन वर्ष १० महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो परियोजनाबाट वार्षिक ३.२० प्रतिशत प्रतिफल प्राप्त हुने अनुमान छ। यो परियोजना पहिलो चरणको संरचना सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ। 

परियोजनामा मेनगेट तीनवटा, भन्सार तथा अध्यागमन सेक्युरिटी, बैंक/भन्सार, अत्याधुनिक ल्याब, भान्छा यार्ड, वेयरहाउस, १२ सय क्षमताको ट्रक पार्किङ, तीन हजार क्षमताको कन्टेनर पार्किङ, रेल्वे प्याटफर्म, रेल्वे वेयरहाउस कन्टेनर यार्ड, डर्टी यार्ड लगायत संचरना निर्माण गरिनेछ ।

प्रकाशित: ४ आश्विन २०७८ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App