९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

धरानमा सर्दु करिडोरको शिलान्यास

धरानमा सर्दु करिडोर निर्माण कार्य सुरु भएको छ। वर्षायाममा वर्षेनी आउने आउने बाढीले हुने क्षतिबाट जोगाउन तटबन्ध निर्माण गर्ने र करिडोर पनि बनाएर पर्यटकीय स्थल बनाउने लक्ष्यका साथ सो कार्य सुरु गरिएको हो। धरानको महत्वकांक्षी योजना रहेको करिडोरको शनिबार १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले शिलान्यास गरेका छन्। सुनसरी क्षेत्र नं १(ख) मा पर्ने सर्दु करिडोर मुख्यमन्त्री आचार्यको निर्वाचन क्षेत्र पनि हो। पूर्वमा सबैभन्दा बढी अव्यवस्थित तथा सुकुम्बासी बस्ती भएको सहर धरान हो। यहाँका दुई ठूला खोला सेउती र सर्दु साथै सहरको बीचमा भएर बग्ने खहरे खोलाहरुको किनारमा थुप्रै बस्ती बसेको छ।

हरेक वर्ष वर्षात्को बेला ती बस्तीहरु उच्च जोखिममा पर्छन् भने धेरै क्षति पनि हुने गरेको छ। बस्तीमा हुने क्षति रोक्न र पर्यटकीय विकास गर्न पनि प्रदेश सरकार अन्तर्गतको जलश्रोत तथा सिँचाई विकास डिभिजन सुनसरीले यो करिडोर निर्माण गर्न लागेको हो। करिडोर निर्माण गर्न प्यासिफिक जलजला कम्पनीले १० करोड ६३ लाखमा ठेक्का पाएको छ। कम्पनीसँग २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गएको भदौ २५ गते सम्झौता भएको डिभिजन प्रमुख चुडाराज ढकालले जानकारी दिए। डिभिजन प्रमुख ढकालका अनुसार गत वर्ष नै ठेक्का लागे पनि कोभिड महामारीको कारण एक वर्ष ढिला सम्झौता भएर निर्माण सुरु भएको हो। सर्दु करिडोर वडा नं १७, ११, १३ र १६ मा पर्छ।

करिडोर निर्माणको लागि कूल १९ किलोमिटरको डिपिआर भएको छ। तर, धरान चतरा सडक खण्डदेखि उत्तर करिब ८ किलोमिटर मात्र करिडोर निर्माण हुने प्रमुख ढकालले बताए। ‘त्यसमध्ये पनि अहिले ५ किलोमिटरको ठेक्का लागेको हो,’ डिभिजन प्रमुख ढकालले भने, ‘२५ करोडको लागत स्टिमेटमा आयोजना गर्ने गरी प्रदेश सरकारले बहुवर्षीय ठेक्का स्वीकृत गरेको छ।’ संघीय सरकार र धरान उपमहानगरपालिकाले पनि साझेदारी गर्ने गरी बजेटको व्यवस्था गरिएको उनले बताए।

डिभिजन कार्यालयका अनुसार ठेक्का अनुसार ५ किलोमिटर तटबन्ध निर्माण हुनेछ। त्यस क्षेत्रमा ठाउँठाउँमा ३ वटा मोडालिटीअनुसार निर्माण गरिनेछ। तल्लो क्षेत्रमा ड्यामसहित जालीढुंगाको वाल निर्माण हुनेछ भने १७ सय मिटर प्लम्ब कंक्रिटको वाल लगाइनेछ। यस्तै, १६७५ मिटर आरसिसि रड लगाएर वाल निर्माण हुनेछ।

करिडोर निर्माण गर्नको लागि औसत ८७ मिटर खोलाको चौडाई कायम हुने गरी डिपिआर स्वीकृत भएको छ। सडकको चौडाई नगरपालिकाले बनाएको डिपिआरमा ३० मिटर राखेको छ। डिपिआर अनुसारको यो सडक बनाउन वडा नं १७ मा मात्र सम्भव छ। अन्य वडा ११, १३ र १६ मा भने सम्भव नहुने डिभिजनको भनाइ छ। सर्दु करिडोर निर्माण हुँदा २० हेक्टरजति खोलाको जग्गा उकास हुनेछ। त्यहाँ नरपालिकाले पार्क वा करिडोर निर्माण हुँदा स्थानान्तरण गर्नुपर्ने घरहरुलाई व्यवस्थापन गर्न सकिने डिभिजन कार्यालयको भनाइ छ। करिडोर निर्माण हुँदा वर्षेनी क्षति हुने १२० हेक्टर हाराहारीमा जमिनलाई क्षति हुनबाट जोगाउने छ भने ७ सय घरधुरीका १४ हजार स्थानीयलाई प्रत्यक्ष लाभ हुने उपमहानगरपालिकाको अपेक्षा छ।

सर्दु करिडोर निर्माणको क्रममा विस्थापित हुने घर परिवारलाई प्रदेश सरकारले घर निर्माणको लागि ५ लाख सहयोग गर्ने भएको छ। शनिबार करिडोरको शिलान्यास गर्दै प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित ठाउँ उपलब्ध गराउने र घर निर्माणको लागि ५ लाख सहयोग गर्ने बताए।

मुख्यमन्त्री आचार्यले धरानलाई सुन्दर पर्यटकीय सहरको रुपमा विकास गर्न पनि करिडोरको अवधारणा अघि बढाइएको बताए। ‘यो तटबन्धन गर्ने योजनामात्र होइन, पर्यटकीय आकर्षण बनाउने, सडक भएको, रेष्टुरेष्ट भएको, हजारौं पर्यटकहरु राती घुम्न जाने, रमाउने र फर्कने स्थलकोरुपमा विकास गर्ने परिकल्पना अन्तर्गत यो आज शुरुवात हो,’ उनले भने, ‘कसैलाई पनि उठिबास बनाउदैनौं, स्थानीय सरकारसँग समन्वय गरेर जमिन उपलब्ध गराएर घर बनाउन ५ लाख दिन्छौं।’ धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले अहिलेसम्म अभिशाप बन्दै आएको सर्दु खोलालाई अब स्थानीयले वरदानको रुपमा लिने बताइन्।

प्रकाशित: २ आश्विन २०७८ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App