६ वैशाख २०८१ बिहीबार
अर्थ

व्यवसायी भन्छन्ः अल्ट्रालाइट उडानको विकल्प देउ

एयर ट्राफिक व्यवस्थापन गरे हटाउनु पर्दैनः प्रशिक्षक पाइलट

पोखराको आकाशमा उडान गरिरहेको अल्ट्रालाइट जहाज । फाइल तस्बिरः नागरिक

स्वदेशी र विदेशी पर्यटकलाई पोखराको आकाशमा सयर गराउने उद्देश्य सहित एभिया क्लव नेपालले झन्डै अढाई दशकअघि पोखरामा अल्ट्रालाइट जहाजको सेवा सुरु ग¥यो । त्यो बेला नेपालमा वर्षमा झन्डै चारलाख विदेशी पर्यटक भित्रिन्थे । व्यवसायीका अनुसार त्यो बेला पोखरामा वर्षमा करिब ३० हजार विदेशी आउँथे ।  

नेपालमा वर्षेनी पर्यटक आगमन बढ्दै जाँदा एभिया जस्तै अल्ट्रालाइट जहाजको सेवा दिने अरु दुईवटा कम्पनि पोखरामा थपिए । अहिले तीनवटा अल्ट्रालाइट कम्पनि पोखरामा संचालनमा छन । त्यसबाहेक हेलिकप्टर आकारको जाइरोकप्टरले पनि पोखरामा पर्यटकलाई यहाँको आकाशमा सयर गराउँछ । प्यारामोटरबाट समेत पोखराको आकाशमा पर्यटक सयर गराउन सकिन्छ । तर, अहिले प्यारामोटर भने संचालनमा छैन ।

पोखराको आकाशमा पर्यटकलाई सयर गराउने मध्ये अर्काे प्रडक्ट हो हटएयर बेलुन । हटएयर बेलुन पनि फाट्टफुट्ट मात्र उडान हुने गरेको छ । त्यसबाहेक यहाँ आकाशमा उड्नेमा प्याराग्लाइडिङका झन्डै ६० वटा कम्पनि छन । पोखराका आएका स्वदेशी र विदेशी पर्यटकले आफ्नो रुची अनुसार कुनै पनि सेवा लिन सक्छन । टाढासम्मको हिमाली दृष्य अवलोकन रुचाउने पाहुना अल्ट्रालाइट र जाइरोकप्टरमा उड्छन भने पोखरा आसपासको दृष्यावलोकनमा रमाउने पाहुना भने हटएयर बेलुन र प्याराग्लाइडिङमा रमाउँछन ।  

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । २०२२ को जुलाई १० मा यो विमानस्थल संचालनमा आउने लक्ष्य छ । तर, पोखराको यही आकाशमा पर्यटक सयर गराउने अल्ट्रालाइट, जाइरोकप्टर, प्याराग्लाइडिङ, हटएयर बेलुनको उडान अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै के हुने भन्ने अन्योलमा छ । प्याराग्लाइडिङ व्यवसायीले विमानस्थल संचालनमा आएपनि पोखरामै व्यवस्थित गर्न सकिने बताउँदै आएका छन । अल्ट्रालाइटका संचालक भने अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि के गर्ने भन्ने योजना नै बनाउन नसकेको बताउँछन । उनीहरु भन्छन, ‘हामीलाई पोखराको अकाशमा अल्ट्रालाइट उडान गर्न पाइने अवस्था रहन्छ वा रहँदैन, स्पष्ट पारिदिनुपर्छ ।’

एभिया क्लवकी प्रबन्ध निर्देशक नताशा श्रेष्ठले पोखरा प्राकृतिक रुपमा हवाई खेलकुदका क्षेत्रमा विश्वमै कहलिएको गन्तव्य भएकोले अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदा पनि बिस्थापित गर्न नहुने बताउँछिन । उनले भनिन, ‘सकेसम्म पोखरामै रहिरहन पाए सबैलाई सहज हुन्छ । तर, विमानस्थल संचालन आएपछि हामी (अल्ट्रालाइट) यहाँ (पोखरा) बाट उड्न पाउने वा नपाउने भन्ने छिटो यकिन गरिदिनुपर्छ ।’ पोखराको आकाशबाट बिस्थापित भएर बाहिरिनु परेमा संचालनमा समस्या हुने उनले बताईन ।

‘नेपालमा झन्डै चारदर्जन विमानस्थल छन । ती मध्ये झन्डै ३० वटा विमानस्थल संचालनमा छैनन । ती विमानस्थलबाट पनि अल्ट्रालाइट उडान गरेर पर्यटन क्षेत्रलाई बिस्तार गर्र्नै नसक्ने होईन, तर, हामीसँग जनशक्ति र लगानीको खाँचो छ । पोखराबाट बाहिरिनु परे ठुलो जनशक्ति र लगानी खाँचो पर्छ ।’ सरकारले हवाई खेलकुदका अबका गतिविधि अन्यत्र पनि बिस्तार गर्न प्रोत्साहन गर्नुपर्ने उनले सुझाईन ।  

हवाई खेलकुदको क्षेत्रको अबको लगानी अन्यत्र बिस्तार हुनुपर्ने उनको भनाई छ । ‘पूर्वतिरका विमानस्थलबाट उडान गरेर सगरमाथा क्षेत्रमा पर्यटकलाई सयर गराउन सकिन्छ । त्यस्तै रारातालको आकाशसम्म पनि पुग्न सकिन्छ । तर, अब त्यस क्षेत्रमा लगानी गर्न व्यवसायीले आँट गर्नुपर्छ,’ श्रेष्ठले भनिन, ‘नयाँ ठाउँमा जान उत्ति सहज भने छैन । किनकी त्यहाँ ठुलो लगानी चाहिन्छ । सबैभन्दा बढी समस्या जनशक्तिको छ ।’  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि दिनमा कतिवटा उडान हुने, कुन आकारका जहाज पोखरा आउने, कुन समयमा अवतरण र उडान हुने भन्ने यकिन हुने हो भने आफुहरुजस्ता पर्यटन व्यवसायीलाई सहज हुने उनको भनाई छ । ‘अन्तर्राष्ट्रिय विमानस्थल संचालनको मोडालिटी थाहा नहुँदा हामीले पनि योजना बनाउन सकेका छैनौ,’ उनले भनिन, ‘हामीलाई पनि त्यसबारेमा अन्योल भईरहेको छ । अढाईदशक देखिको सेवालाई अब कुन रुपमा संचालन गर्ने भन्नै सकिएन ।’

हेलि एयरले संचालन गरिरहेको जाइरोकप्टरका प्रबन्ध निर्देशक सन्तबहादुर लामिछाने पोखराबाट अल्ट्रालाइट, जाइरोकप्टर जस्ता प्रडक्ट विस्थापित गर्दा सधैंका लागि हराउने बताउँछन । ‘पोखराबाट यी (अल्ट्रालाइट, जाइरोकप्टर) हटाउनु भनेको सधैंका लागि साहसिक हवाई खेलकुद क्षेत्र बिस्थापित हुनु हो,’ लामिछानेले भने, ‘यसले पर्यटनमा ठुलो असर पर्ने पक्का छ ।’  

जाइरोकप्टर र अल्ट्रालाइटका प्रशिक्षक पाइलट समेत रहेका लामिछानेका अनुसार विमानस्थलको टावरसँग कम्युनिकेसन गरेर अल्ट्रालाइट र जाइरोकप्टर उडान गर्ने भएकोले अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदा पनि समस्या नहुने उनले बताए ।

 ‘एयर ट्राफिक व्यवस्थापन गर्ने हो भने पोखराबाट हटाउन जरुरी छैन । प्राविधिक समस्या केही देखिन्न,‘ उनले भने, ‘किनकी हामी विमानस्थल टावरको निर्देशनमा मात्र उडान भर्ने हो । प्याराग्लाइडिङमा संचार हुँदैन, तर, अल्ट्रालाइट र जाइरोकप्टर टावरको निर्देशनमा मात्र उड्ने हो ।’

पोखरामा अढाई दशक अघिदेखि सेवा बाहिर पठाउने हो भने सधैंका लागि बन्द हुने उनले बताए । ‘हामीलाई उड्ने धावनमार्ग भएर मात्र हुँदैन । त्यहाँ पर्यटक पुग्नुपर्छ,’ उनले भने, ‘आन्तरिक  पाहुनाको भरमा हामी चल्न सक्दैनौ ।’ अहिले पोखराको हवाई खेलकुद क्षेत्रमा ठुलो लगानी गरेकोले अन्यत्र जाँदा त्यस्तै खर्च व्यवसायीले गर्नुपर्ने हुँदा त्यो क्षमता व्यवसायीले नराख्ने उनले बताए । ‘हामीलाई त नेपालभर उड्न दिएपनि उडाउन सकिन्छ । विमानस्थलकै टावरको निर्देशनमा हामी उड्ने हो । त्यही भएर उत्तिसारो समस्या हुँदैन,’ लामिछानेले भने, ‘पोखराबाट बाहिरिनु सधैंका लागि बन्द हुनु हो ।’  

उनका अनुसार करिब ६ सय मिटरको धावनमार्ग भए यी उडान सम्भव हुन्छन । ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि केहीगरि पोखराभित्रबाट उड्न दिन नसकेको खण्डमा आसपासका क्षेत्रमा भिन्दै एयरफिल्ड बनाएर पनि उडान गर्न दिनुपर्ने उनले बताए । ‘बरु सम्भावना भएको ठाउँमा पोखरा नजिकै सार्न सकिन्छ । रिक्रिएसन गतिविधिलाई अन्तर्राष्ट्रिय बजारमा पनि संरक्षण गरिएको छ । तर, पोखराबाट बाहिरिनु भनेको सधैंका लागि बन्द हुनु हो,’ उनले भने ।  

प्रकाशित: २ आश्विन २०७८ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App