coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रभावकारी बन्दै चाँगुनारायण मोडल

भक्तपुरको चाँगुनारायण नगरपालिकाले सुरु गरेको मेयर उद्यमशीलता प्रभावकारी बन्दै गएको छ। युवाहरुलाई आफ्नै ठाउँमा उद्यमी बनाउनका लागि नगरपालिकाले सुरु गरेको मेयर उद्यमशीलता कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन्।

दायित्व नेपाल जनप्रशासन २०२१ को आयोजनामा स्थानीय युवा र चाँगुनारायण नगरपालिकाबीचको सहकार्यमा भएको मेयरसँग नागरिक संवाद कार्यक्रममा सहभागीहरुले नगरपालिकाले सुरु गरेको उद्यमशीलता विकास कार्यक्रमले युवाहरुलाई स्वरोजगार बनाउन सघाउ पुर्याएको बताएका हुन्।

कार्यक्रममा सहभागीहरुले मात्र नभएर नगर प्रमुख सोमप्रसाद मिश्रले पनि मेयर उद्यमशीलता कार्यक्रम प्रभावकारी बन्दै गएको बताए। उनले भने, ‘सुरुमा यो कार्यक्रमको अवधारणा गतिलो होला कि नहोला भन्ने चिन्ता थियो, पक्षपातपूर्ण होला कि भन्ने चिन्ता थियो, तर हामीले यसको कार्यविधि बनाएर कार्यान्वयन थालेपछि यसप्रति युवाको आर्कषण बढ्दो छ।’

उनले स्थानीय तहमध्ये सबैभन्दा पहिला मेयर उद्यमशीलताको अवधारणा बनाएको बताउँदै त्यो अवधारणाले युवाहरुमा आफ्नै ठाउँमा केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने भावना विकास भएको बताए। ‘युवाहरुमा उद्यमी बन्ने चाहना बढेको छ, योबारेमा चासो राख्ने, यसको अवधारणा बुझ्ने युवाहरु बढेका छन्’, उनले भने, ‘अहिले हाम्रो यो अवधारणा चाँगुनारायण मोडलका रुपमा विकास हुँदै गइरहेको छ, विभिन्न नगरपालिकाका प्रमुखहरुले हाम्रो मोडलबारे चासो दिन थालेका छन्।’

नगरप्रमुख मिश्रले नगरपालिकाले निर्व्याजी तीन लाख रुपैयाँ उपलब्ध गराउने नीति र कार्यविधि बनाएपछि सो कार्यक्रमका लागि ११२१ जना युवाले आवदेन दिएका थिए। आवदेन दिएकाहरुलाई नगरपालिकाले राष्ट्रिय युवा परिषद्सँग समन्वय गरी उद्यमीको अवधारणाबारे एकहप्ते तालिम दिएको थियो।

तालिम तथा अभिमुखीकरणबाट निर्व्याजी ऋणका लागि २६५ जना युवाहरु छनोट भएकामा अहिलेसम्म नेपाल बैंक लिमिटेडले ५९ जनाको योजना स्वीकृत गरेको नगरपालिकाले जनाएको छ। ‘हामीले गत वर्षबाट दिन थालेको निव्र्याजी ऋणका लागि छनोट भएकामध्ये ३३ जनाले ऋण पाइसकेका छन्, बाँकी युवाहरु प्रक्रियामा छन्, यो कार्यक्रमले युवाहरुमा उद्यमी बन्नुपर्छ भन्ने भावना विकास भएको छ।’ नगरप्रमुख मिश्रले भने।

उनले चाँगुनारायण नगरपालिकामा कृषि, पर्यटन, उद्यम, स्वरोजगारका अथाह सम्भावना भएको यथार्थलाई मध्यनजर गरी ल्याइएको सो कार्यक्रमले युवा सशक्तिकरणमा पनि सहयोग पुगेको बताए। नगरप्रमुख मिश्रले चाँगुनारायण नगरपालिकामा अहिले १७ स्थानमा कालिज पालन भइरहेको उदाहरण दिँदै युवाहरुमा आफ्नै ठाउँमा उद्यम गर्ने वातावरण बनाउन नगरपालिका लागिरहेको बताए।

कार्यक्रममा सहभागी चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलका बलराम थापा क्षेत्री, ताथलीका दिलकुमार बाला, सुडालका निरञ्जन दुलाललगायतले नगरपालिकाले उद्यमको क्षेत्रमा गरिरहेको कामलाई समीक्षा गर्नुपर्ने र थप प्रभावकारी बनाउनका लागि अनुरोध गरेका थिए।

कार्यक्रममा नगरपालिकाका नगरपालिकाकी अधिकृत(छैटौं) सन्तोषी नेपालीले गरिबी निवारणका लागि लघु उद्यमी कार्यक्रम(मेड्पा) बारेमा जानकारी दिँदै सो कार्यक्रमले चाँगुनारायण नगरपालिकाका विभिन्न वडाका महिला, युवाहरुमा लघु उद्यमको चेतना विकास भएको बताइन्।

कार्यक्रममा दायित्व नेपालका युथ फेलो सजना भुजु श्रेष्ठ, दायित्व नेपालका परियोजना संयोजक कृपा श्रेष्ठ, सुशासन तथा नागरिक सहभागिता कार्यक्रमका परामर्शदाता राज खरेललगायतले लघु उद्यमले समता विकास गर्नमा सघाउ पुर्याइरहेको बताए।

प्रकाशित: १ आश्विन २०७८ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App