coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गण्डकीका ८५ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएको  जनाएको छ। पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो।

प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको टेलिकमका सह–प्रवक्ता रञ्जित रैयाले जानकारी दिए। सबै स्थानीय तहमा फोरजी सेवा पुगे पनि केही पालिकाका केही ठाउँमा भने नेटवर्क पुगिनसकेको उनले बताए। ‘नेटवर्क नपुगेका ठाउँको पहिचान भइसकेको छ,’ उनले भने, ‘प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राखेर नेटवर्क पुर्‍याउँछौं।’

सह–प्रवक्ता रैयाले नेपाल टेलिकमको सिममध्ये टुजी भ्वाइस, थ्रिजी भ्वाइस र डाटा तथा फोरजी डाटा बेसिस रहेको बताए। नेपाल टेलिकमले सेवाको गुणस्तरसँगै प्रविधि पनि थपिरहेको जनाएको छ। उनका अनुसार पछिल्लोपटक फाइबर र फाइभजी बिस्तारको काम भइरहेको छ। 

फाइबर तीव्र रूपमा बिछ्याउने काम भइरहेको सह–प्रवक्ता रैयाले बताए। ‘यसको गुणस्तर राम्रो भएर अहिले यसको डिमान्ड हाई छ, तर डिमान्ड अनुसार सेवा पुर्‍याउन नसके पनि सक्दो कोसिस गरिरहेका छौं,’ उनले भने। उनका अनुसार फाइबर टू दी होम सर्भिसका लागि ११ लाख ७४ हजार साइडको लागि तयारी भएको छ भने ५ लाख ६४ हजारलाई वितरण गर्नयोग्य रहेको र १ लाख ८३ हजारलाई वितरण गरिसकेको जानकारी गराए।

सह–प्रवक्ता रैयाले फाइभजीको ट्रायल टेस्टको तयारी भइरहेको छ। चार ठाउँमा परीक्षण स्थान तोकेर सेवा दिने तयारी भइरहेको उनको भनाइ छ।

नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ सञ्चालनमा ल्याएको छ। नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्र बैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सह–प्रवक्ता रैयाले जानकारी दिए।

प्रकाशित: ३१ भाद्र २०७८ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App