४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुधबारदेखि पोखरा–सिमरा उडान हुँदै

पोखराले हवाई उडान मार्फत तराई जोड्दै

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा सिधा उडान सुरु गर्दैछ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ । यात्रुको माग थपिँदै गएमा सातैदिन र एकभन्दा बढी पनि उडान गर्न सकिने बुद्धको भनाई छ ।  

पोखरा–सिमरा रुटमा सानो जहाज (१८ सिट) बाट उडान थाल्ने तयारीमा रहेको बुद्धले आवश्यकता अनुसार सबैभन्दा ठुलो (७० सिट) आकारको जहाज पनि प्रयोगमा ल्याउन सक्ने बताएको छ । बुद्धले पोखराबाट भारतीय सिमा नजिकको तराईको गन्तव्यमा गर्न थालेको तेश्रो उडान हो । यसअघि भैरहवा, नेपालगञ्ज सिधा उडान गरिरहेको छ । सिमरा पछि विराटनगर उडान थाल्ने बुद्धको योजना छ ।  

भैरहवा र नेपालगञ्जसम्मको उडानबाट उत्साही भएपछि सिमरा उडान गर्न प्रोत्साहन मिलेको बुद्धको भनाई छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार गत साउन १७ देखि पोखरा–नेपालगञ्ज उडान थाल्दा सातामा तीनदिनबाट सुरु गरिएको थियो । तर, अहिले नेपालगञ्ज सातैदिन उडान भईरहेको छ । त्यस्तै कोरोनाको दोश्रो लहर कमजोर भएपछि आन्तरिक उडान खुले लगत्तै पोखरा–भैरहवा पनि एकदिन बिराएर उडान थालेकोमा अहिले दिनमा भैरहवाका लागि दुईवटा उडान भईरहेका छन ।  

‘भारतीय सिमा जोडिएका सहरलाई हवाई माध्यममार्फत पोखरा जोड्दा यात्रु अभाव भएको छैन । सिमरा पनि त्यही हुने अपेक्षा छ,’ बरालले भने, ‘दिन बिराएर उडान थालेको रुटमा अहिले दैनिक वा दिनमै दुईवटासम्म उडान गर्न सकिएको छ । यसले यात्रुलाई सहज बनाएको छ ।’ सिमरा पनि पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार उडान थाल्ने योजना रहेको उनले सुनाए । पोखराबाट दिउँसो १२ः२० मा सिमराका लागि उड्ने जहाज सिमराबाट सब १ बजे पोखराका लागि उड्नेछ ।  

‘हुन त सिमरा पनि भारतीय सहरसँग नजिकको गन्तव्य हो । पहिलो चरणमा सातामा तीनदिन उडान गर्ने हो । आवश्यकता अनुसार जहाजको आकार ठुलो हुन सक्छ वा दैनिक उडान पनि बढाउन सकिन्छ,’ उनले भने, ‘सातैदिन उडान गर्न पनि सकिन्छ ।’ १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पहिलो चरणमा यो रुटमा उडान गर्ने उनले बताए । पोखराबाट सिमराको ७१ सय ७०, ५२ सय ७० र ४७ सय ७० रुपैयाँ भाडा तोकिएको छ । पोखराबाट सिमरा पुग्न ३५ मिनेट लाग्छ ।  

पोखराबाट भारतीय सहर नजिकको गन्तव्यमा उडान गर्दा बुद्धलाई यात्रु अभाव भएको छैन । बरालका अनुसार वर्षायाम भएको र टाढाको गन्तव्य भएकोले पनि यात्रुले छोटो र सहज यात्राका लागि हवाई यात्रा रोजेका हुन.् । वर्षायामले सडकमा यात्रा असुरक्षित हुँदा पनि यात्रुले हवाई यात्रालाई प्राथमिकता दिएको उनको भनाई छ । ‘तोकिएको समयमा स्थलमार्गबाट गन्तव्यमा पुग्नै सकिन्न । त्यही भएर पनि यात्रुले अहिले हवाई यात्रा रोजेका हुन्,’ उनले भने, ‘त्यसले गर्दा हवाई यात्रा स्थापित भएको छ ।’  

लामो दूरीको गन्तव्यलाई जोडेका कारण पनि अहिले हवाईयात्रामा यात्रु आकर्षित भएको उनले बताए । पोखराबाट स्थलमार्ग हुँदै नेपालगञ्ज पुग्न करिब १४ घण्टा लाग्नेमा अहिले आधा घण्टामा हवाईजहाजको यात्राले पु¥याउने भएकोले पनि यात्रुले झन्झटमुक्त यात्रा गर्न रुचाएको उनले सुनाए । उनका अनुसार अहिले उडान भएका भैरहवा र नेपालगञ्जका यात्रुमा केही भारतीय पाहुना पनि छन । तराईका ती सहरमा गर्मि भएकोले पनि सितल अनुभव गर्न पोखरा आउने भएकोले पनि यात्रु थपिएको बरालको भनाई छ । ‘सबै आन्तरिक यात्रु नभई केही भारतीय पनि छन । कोरोना संक्रमण कमजोर भयो भने भारतीय पाहुना थपिँदा सहज हुनेछ,’ उनले भने, ‘कोरोना कहर कम हुनासाथ पक्कै भारतीय पाहुना आउन थाल्नेछन् ।’  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) पश्चिमाञ्चलका अध्यक्ष सञ्जयकान्त सिग्देल भारतीय सिमा नजिक भएको र गर्मि हुने ठाउँ भएकोले पाहुनाहरु घुमघामका लागि पोखरा आउँदा यात्रु अभाव नभएको बताउँछन । ‘भारतीय सहर नजिक भएको र तराईको गन्तव्य भएकोले अधिक गर्मि हुँदा सहजै पोखरा आउन सकिने भएकोले हवाई यात्रा सफल भएको हो,’ उनले भने, ‘स्थलमार्गको यात्रा अहिले निकै नै कष्टपूर्ण छ ।  त्यो भन्दा पनि तराईको गर्मि छल्न आउने गर्दा यात्रु अभाव भएको छैन ।’ आगामि दिनमा कोरोना कहर कमजोर हुँदा भारतीय सिमा जोडिएका गन्तव्यमा उडानलाई यात्रु अभाव नहुने उनले बताए ।  

बुद्धसँग अहिले ७० सिट क्षमताका एटिआर७२–५०० सिरिजका ११ वटा जहाज छन् । त्यस्तै ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ र १८ सिट क्षमताका बिचक्राफ्ट १९०० डी दुईवटा जहाज छन् । अहिले बुद्धले पोखराबाट काठमाडौं, भैरहवा, नेपालगञ्ज र भरतपुर उडान गरिरहेको छ । पोखरा–काठमाडौं अहिले बुद्धले दैनिक आठवटा उडान गरिरहेको छ ।  

प्रकाशित: १४ भाद्र २०७८ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App