२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

तावा खोला मोटरेबल पुल अन्तिम चरणमा, वारपार गर्न थाले सवारी साधन

मात्तिम र टेम्मा जोड्ने तावा खोलाको नवनिर्मित पुल । तस्बिर : धनपाल राईको फेसबुक

खोटाङको साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा जोड्ने तावा खोला मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ। दिक्तेल–खोटाङबजार सडक खण्डमा पर्ने स्टील आरसिसि पुल निर्माणको काम सम्झौता म्याद नाघेको १ वर्ष २० महिनापछि अन्तिम चरणमा पुगेको हो। 

पुलको वारिपारी पुल र सडकलाई जोड्ने ग्याविन वाल र पेन्टिङ बाहेकका काम पूरा भएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। ५० मिटर लम्बाई भएको पुलको केही काम बाँकी भएपनि हाल मोटरसाईकल तथा अन्य सवारी साधन वारपार गर्न थालेको छ। पुलबाटै सवारी साधन वारपार गर्न थालेपछि वर्षा याममा भलबाढीका कारण रोकिनुपर्ने वाध्यता भने अन्त्य भएको छ।

नेशनल महाबीर सिद्धिसाई जेभी पुरानो बानेश्वर, काठ्माण्डौंले १८ महिनाभित्र पूरा गर्नेगरी २०७५ साल वैशाख २१ गते पुल निर्माणको सम्झौता गरेको थियो। तर, पुल निर्माणमा निर्माण कम्पनीको चरम ढिलासुस्ती भएको हो। स्थानीय पूर्वाधार विभाग (डोली) को ४ करोड ५१ लाख ३५ हजार (भ्याटसहित) मा पूरा गर्नेगरी पुलको काम नेशनल महाबीर सिद्धिसाई जेभीले ठेक्का लिएको थियो। निर्माण कम्पनीका प्रतिनिधि कर्ण खत्रीले भने पुलको रंगरोगन बाहेकका काम सम्पन्न भइसकेको बताए। 

दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष राईले अलपत्र अवस्थामा रहेको पुलको काम तत्काल सुरु गर्नका लागि गत फागुन–४ गते निर्माण कम्पनीका प्रतिनिधि खत्रीलाई निर्माणस्थलमै बोलाएर निर्देशन दिएका थिए। पुलको काम सम्पन्न भएको भनेर हस्तान्तरण गर्न बाँकी रहेको साकेला गाउँपालिका–५ मात्तिमका वडासदस्य धनपाल राईले बताए। ‘पुलको काम चै लगभग सकियो भन्दा पनि हुन्छ। सबै गाडी हिड्न थालिसक्यो,’ वडा सदस्य राईले भने, ‘तर ठेकदारले काम सम्पन्न भयो भनेर बुझाउन बाँकी छ।’  

पुल निर्माणका लागि ठेक्का लागेको वर्षदिन ढिला गरेर निर्माण कम्पनी र तत्कालीन जिल्ला प्राविधिक कार्यालयबीच सम्झौता गरिएको थियो। जिल्लाकै विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने पुलको सम्झौतामा ढिलाई भएकामाथि झन् निर्माणकै काममा ढिलासुस्ती भएको थियो। निर्माण व्यवसायीले सम्झौता म्याद गुज्रेको वर्ष दिनपछि पुलको जग खन्ने लगायतका सामान्य काम थालेको थियो। तीन तहको सरकार कार्यान्वयनमा आउनुअघि साविकको प्राविधिक कार्यालयमार्फत बजेट आएपनि सो कार्यालय खारेज भएपछि हाल प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत बजेट परिचालनको व्यवस्था मिलाइएको जनाइएको छ। 

तावा खोलामा पुल नहुँदा २०७५ साल वैशाख ४ गते तावा खोलामा आएको बाढीले पञ्चमीबजारबाट यात्रु लिएर दिक्तेल जाँदै गरेको बा २ ख ४८९६ नम्बरको बस बगाएको थियो।  

बाढीले पुलको डिजाइन नै परिवर्तन  

मात्तिममा र टेम्मा जोड्ने तावा खोला पुलको डिजाईन दोश्रो पटक फेरिएको हो। सुरुमा २५ मिटरको पक्की पुल निर्माणका लागि डिजाईन गरिएको भए पनि काम सुरु नहुँदै २०७२ साल असार १९ गते आएको बाढीले खोलाको चौंडाई बढाएपछि पुलको डिजाइन परिवर्तन गरिएको हो। सो बाढीले सडकको झण्डै ११० मिटर खण्ड बगाएको थियो भने खोलामा ठूला–ठूला ढुंगा थुप्रिएका कारण लामो समयसम्म सवारी साधन आवत–जावत ठप्प भएको थियो।

प्रकाशित: १४ भाद्र २०७८ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App