१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

संघीय संसद भवनको एक तिहाइ निर्माण

संघीय संसद भवनको पूर्वाधार निर्माण एक तिहाइ सकिएको छ। पहिलो र दोस्रो लहरको कोभिड–१९ मा पनि निर्माण कार्य नरोकिएकोले उक्त उपलब्धि हासिल भएको बताइएको छ। सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय मातहत यो भवन निर्माण भइरहेको छ।  

कार्यालयका सिनियर डिभिजनल इन्जिनियर हिमाल केसीले सिंहदरबारस्थित पुतलीबगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक भवनको ३३ प्रतिशत निर्माण सकिएको बताए। ‘कोभिड–१९ महामारीमा पनि संघीय संसद भवन निर्माण कार्य रोकिएको छैन,’ उनले भने, ‘अहिलेसम्म प्रिन्टिङ प्रेसबाहेक अन्य भौतिक पूर्वाधारको संरचना निर्माण भइरहेको छ।’ आयोजनाले अहिलेसम्म करिब दुई अर्ब रूपैयाँ खर्च गरिसकेको छ। आयोजनाको वित्तीय प्रगति ३० प्रतिशत छ।

सिनियर डिभिजनल इन्जिनियर केसीले कोभिड महामारीमा स्वास्थ्य मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको बताए। ‘अहिलेसम्म तोकिएको समय तालिका अनुसार नै काम भइरहेको छ,’ उनले भने, ‘सरकारले कोभिड–१९ का कारण आयोजनाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। २०८० वैशाखभित्र संघीय संसद भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।’  

भवन निर्माणको ठेक्का तुँदी–एसएचइसी जेभीले पाएको छ। उक्त कम्पनीसँग १६ असोज २०७६ मा ठेक्का सम्झौता भएको थियो। कम्पनीले तीन वर्ष (२०७९ असोज १६ गते) भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर लकडाउनका कारण आयोजनाको म्याद ६ महिना थप भएको छ। सरकारले आफ्नै स्वामित्वको संसद भवन अभाव टार्न भ्याटसहित पाँच अर्ब ६८ करोड ३९ लाख रूपैयाँ लागतमा सिंहदरबारमा उक्त भवन निर्माण गर्न थालेको हो।  

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर केसीले संघीय संसद भवन काठमाडौंको स्थानीय वास्तुकला झल्कने खालको हुने बताए। ‘संघीय संसद भवन आधुनिक प्रविधिलाई आत्मसात गरेर निर्माण भइरहेको छ,’ उनले भने, ‘भवनभित्र तीन तल्लाको प्रतिनिधिसभा भवन, तीन तल्लाको राष्ट्रियसभा भवन, तीन तल्लाकै कमन लबी, चार तल्लाको अति विशिष्ट व्यक्तिहरूको कार्यालय, पुस्तकालय लगायत संरचना निर्माण गरिँदैछ।’  

सरकारले मुख्य गुरुयोजनालाई चार क्षेत्रमा विभाजन गरेर निर्माण गर्न लागेको हो। अहिले निर्माणाधीन संघीय संसद भवनको संरचनाले २७ प्रतिशत भूभाग ओगट्नेछ। खुला हरियाली क्षेत्रले ४५ प्रतिशत र अन्य क्षेत्रमा सडक तथा अन्य पूर्वाधार निर्माण गरिनेछ। संघीय संसद भवनको गुरुयोजना अनुसार मूलढोका दक्षिणतर्फ राखिनेछ।  

सरकारले प्रतिनिधिसभाको भवन, राष्ट्रियसभाको भवन, कमन लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय/संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेनागृह, प्रेस/छपाइ भवन र ७ सयवटा सवारी साधन पार्किङ तथा सुरक्षाकर्मीको भवन गरेर आठवटा ठूला र चारवटा साना खालका भवन निर्माण गर्दैछ। सांसदहरूको प्रवेशका लागि उत्तर (महालेखा नियन्त्रकको कार्यालय) तर्फ आकर्षक गेट राखिनेछ। दक्षिणपूर्वमा कर्मचारी तथा सर्वसाधारणको प्रवेशद्वार रहनेछ। अत्याधुनिक सुरक्षा प्रविधिबाट जाँच गरेर मात्रै भवनमा प्रवेश गर्न पाइने व्यवस्था गर्न सकिनेछ।

२०८० वैशाखभित्रै तयार हुने

संघीय संसद् भवनको ठेक्का सम्झौता तुँदी–एसएचइसी जेभीले १६ असोज २०७६ मा पाएको थियो। कोभिड-१९ को पहिलो लहरको कारण आयोजनाको म्याद ६ महिना थप गर्ने निर्णय भइसकेको छ। त्यसैले अब आयोजनाको निर्माण आगामी २०८० सालको वैशाखभित्र गर्नुपर्नेछ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर केसीले अहिले दैनिक चार सयभन्दा धेरै कामदारले काम गरिरहेको बताए। ती कामदारलाई खोपको व्यवस्था गरेर कामको गति बढाउन लागेको उनले जानकारी दिए।

प्रकाशित: १३ भाद्र २०७८ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App