१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माथिल्लो सान्जेनको उपकरण जडानका लागि चिनियाँ टोली वैकल्पिक मार्गबाट आउने

रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ  उपकरण जडान गर्नका लागि वैकल्पिक मार्ग भएर चिनियाँ टोली आउने भएका छन्। कोभिड–१९ का कारण नेपाल चीनबीच सिधा हवाइ सेवा सञ्चालन नभएका कारण टोली कतारको दोहा हुँदै आउन लागेका हुन्।  

इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका टोली कोभिडका कारण उतै रोकिएपछि लामो समयदेखि कामअघि बढ्न सकेको थिएन। आयोजना प्रमुख सुदनसिंह महतका अनुसार टोली नेता सहितको चार जनाको टोली सेप्टेम्बर पहिलो सातासम्ममा आउने छन्।  

पहिलो चरणमा चारजना आउने भएपनि अन्य जनशक्ति पनि चाँडै आउने उनले बताए। टोली आएपछि उपकरण जडानको काम अघि बढ्ने छ। इलेक्ट्रोमेकानिकलबाहेक अन्य काम अन्तिम चरणमा पुगेको छ। उपकरण जडानको काम सुरु भएको नौ महिनाभित्र आयोजनाले उत्पादन सुरु गर्नेछ। आयोजनाको ९९ प्रतिशत भौतिक प्रगति भइसकेको छ।  

यो १४.८ मेगावट क्षमताको आयोजना हो। आयोजनाले अहिले पोखरी निर्माणको काम गरिरहेको छ। आयोजनाले दिएको जानकारीअनुसार सिभिलतर्फ ९९, इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ९० प्रतिशत काम सम्पन्न भएको छ। आयोजनामा अहिले फिनिसिङ, उपकरण जडानको काम चलिरहेको छ। आयोजनाको हालसम्म ८९ प्रतिशत काम सकिएको छ।

आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता भएको थियो। आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।  

आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ। आयोजनाले विद्युत उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नभएमा कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत जोडिने छ। ११ केभी डबल सर्किट लाइनमा सीमित विद्युत् जोड्न सकिने उनले बताए। हब निर्माण भएपछि उत्पादित विद्युत हबमा नै जोडिने छ। 

प्रकाशित: १२ भाद्र २०७८ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App