३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण

सरकारले आत्मनिर्भर बनाउन लागि ल्याइएको सहुलियतपूर्ण कर्जा लिनेको आकर्षण बढेको पाइएको छ।  

विना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि युवामा कर्जाप्रति आकर्षण बढेको पाइएको हो। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा १ लाख ४ हजार १०९ जनाले सहुलियपूर्ण कर्जा लिएर व्यवसाय गरेको छ।  

सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउनका लागि विना धितो पाँच लाखदेखि ५ करोड रुपैयाँसम्म बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन्।  

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सहुलियपूर्ण कर्जा लिने युवाको सङ्ख्या बढेको बताए। उनका अनुसार एक वर्षमा ७२ हजार युवाले कर्जा लिएको छन्। शुरुको वर्षमा ३२ हजार युवाले कर्जा लिएका थिए।  

उनले युवाले प्रस्ताव सहित कर्जाका लागि निवेदन दिए बैंकले सहजै कर्जा उपलब्ध गराउने बताए। “काम गर्नका लागि बैंकलाई विश्वास दिलाउनुपर्दछ”, उनले भने,“बैंकलाई विश्वास लिएपछि कर्जा सहजै पाइन्छ।”

बैकका प्रवक्ता ढकालले सहुलियतपूर्ण कर्जालाई थप ब्यवस्थित बनाउन आवश्यक नीति तथा नियमन गर्न आफूहरु तयार रहेको समेत बताए। उनले सरकारले सहुलियत कर्जाका लागि छुट्याएको १३ अर्ब रुपैयाँको सहि सदुपयोग हुन गुणात्मक कर्जा कारोबारमा जोड दिनुपर्ने बताए। अर्थ मन्त्रालयले युवालाई स्वरोजगार बनाउनका लागि ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि–२०७५’ लागु गरेर कर्जा प्रवाह गर्न थालेको हो।  

उनले कार्यविधि अनुसार लगानी भएका कर्जाको अलग्गै लेखा परीक्षण गर्ने तयारी राष्ट्र बैंकको रहेको पनि उनले जानकारी दिए।  

बैंकको आधार दरमा २ प्रतिशत व्याज (व्याज अनुदान ५ प्रतिशत पुरुष र महिलालाई ६ प्रतिशत) मा ५ वर्षसम्म सहुलियत दरमा कर्जा पाउने छन्।

सरकारले विभिन्न बैंकमार्फत ९ प्रकारका व्यवसायका लागि कर्जा उपलब्ध गराउँदै आएको छ। एउटा बाणिज्य वा विकास बैंकको शाखाले न्यूनतम १० जना युवालाई कर्जा अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने हुन्छ।  

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा रु ५ करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा अधिकतम सात लाख, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा रु १० लाखसम्म,  महिला उद्यमशिलता कर्जा रु १५ लाखसम्म, दलित समुदाय व्यवसाय कर्जा रु १० लाखसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा रु पाँच लाखसम्म र भूकम्प पीडितको निजी आवास निर्माण कर्जा रु तीन लाखसम्म बैंकले उपलब्ध गराउँदै आएको छ।  

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले व्यावसायिक हुन चाहने युवालाई बैंकले विश्वास गरेर कर्जा प्रवाह गरिरहेको बताए। उनले बैंकले विस्तारै विश्वास गर्न थालेकोले युवाले सहजै कर्जा समेत पाइरहेको बताए। “ बैंकले प्रवाह गर्ने कर्जामा सुरक्षणको केही समस्या देखिएको छ, ” उनले भने, “बैंकको कर्जामा सुरक्षणको सुनिश्चिता हुने वित्तिकै मागे जति युवाले कर्जा पाउने छन्।”

उनले युवा र बैंकबीच विश्वासको वातावरण निर्माण गरेर कर्जा प्रवाहलाई सहजीकरण गर्नुपर्ने बताए। उनका अनुसार सरकारले यस आर्थिक वर्षका १३ अर्ब रुपैयाँ ५ प्रतिशत ब्याजमा बैंकलाई कर्जा प्रवाह गर्न निर्देशन दिएको छ। उक्त रकम करिव ८० हजार युवाले कर्जा उपलब्ध गराउने सहजीकरण गर्ने परिषद्को योजना रहेको छ।  

राष्ट्र बैंकको अनुसार असार मसान्तसम्ममा १ लाख ४ हजार १०९ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु. १६१ अर्ब ४४ करोड कर्जा गरेको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको रु. १०६ अर्ब ९८ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएको रु. ५० अर्ब ९८ करोड कर्जा रहेको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ५०१ ऋणीको रु. ३ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ।  

परिषदका कार्यकारी उपाध्यक्ष ढुङ्गेलले संख्यात्मक भन्दा गुणात्मक हिसाबले युवा उद्यमीलाई सरल र सहज किसिमले  कर्जा पाउने वातावरण बन्नु पर्ने कुरामा सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए।

उनका अनुसार परिषद्ले कर्जा लिन चाहने युवालाई साक्षरता कक्षा, आवश्यक अभिमुखीकरण तथा छनौटका काम समेत गर्दै आइरहेको छ।

उनले सहरका घरजग्गा र कालोपत्रे सडकले छोएका घरजग्गालाई मात्र धितो मान्ने चलन अब हट्नु पर्ने भन्दै गाउँका युवा उद्यमी लक्षित कर्जा लगानी बढाउन बैंकलाई आगह पनि गरे।  

कृषि बिकास बैकका नायव महाप्रवन्धक बाबुकाजी थापाले बैकिङ्ग प्रक्रिया र गलत जानकारीका कारण पनि कतिपय कर्जा लगानीमा अप्ठ्यारो परेको बताए। उनले कतिपय व्यक्ति परियोजनाको लागत भन्दा ऋण धेरे माग गरेकोले कर्जा लगानी हुन नसकेको बताए।  

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले युवा लक्षित सहुलियतपूर्ण कर्जा परिचालनका लागि आफूहरुले छुट्टै कार्यबिधि लागु गरि आफ्नो स्थानिय तह भित्रका युवाहरुलाई कर्जा दिने तयारी गरेको बताए। रासस

प्रकाशित: ११ भाद्र २०७८ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App