पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नवौं नगरसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम बिहीबार आयोजित समारोहमा संविधानसभा सदस्य सूर्याबाला राईले सार्वजनिक गरे।
नगरले कोभिड–१९ ले सिर्जना गरेको मनोवैज्ञानिक त्रासबीच उत्पादनशील क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने, उद्यमशीलता विकासमार्फत् रोजगारीका अवसर सिर्जना हुने र उत्पादन, उत्पादकत्वको वृद्धिमार्फत् आर्थिक वृद्धि भइ गरिबी न्यूनीकरणमा योगदान गर्ने नीति लिएको छ। त्यस्तै, शिक्षामा गुणात्मक सुधार, सर्वसुलभ स्वास्थ्य, स्वस्थ, अनुशासित र आत्मनिर्भर नागरिक तयार गर्न सहयोग पुग्ने, पूर्वाधार विकासमार्फत् विकासका अन्य आयाममा सहजीकरण गर्ने कार्यक्रममा विशेष ध्यान दिने नगरले लक्ष्य राखेको छ।
नगरले कृषि क्षेत्रको विकासका लागि ‘व्यावसायिक पशुपन्छी र कृषि : नगरबासीको समृद्धि’ नारा लिएको छ। निर्माणाधीन टि टेस्टिङ तथा प्रोमोसन सेन्टरमार्फत् चियाको अन्तर्राष्ट्रिय बजार विस्तार गरी चिया पर्यटनमार्फत् आर्थिक विकास गर्ने नगरले जनाएको छ। प्रांगारिक कृषि पर्यटन प्रवर्द्धन, कृषिउपज संकलन केन्द्र स्थापना, कफी खेतीको सम्भाव्यता अध्ययन र खेती विस्तार, अलैंची, अदुवा र बेसार उत्पादन, प्रशोधन, बजार प्रवर्द्धन गर्नेलगायत महत्वपूर्ण २० कार्यक्रम नगरले प्राथमिकतामा राखेको छ।
पशुपालनलाई व्यावसायिक बनाउने, दूध उत्पादन बढाउने, गाईको स्रोतकेन्द्र बनाउन ‘एक घर–एक उन्नत गाई’ नीति ल्याइएको छ। भेडापालन संरक्षण, माछापालनलाई व्यावसायिक बनाउने, पशुबिमागायतका कार्यक्रम पनि ल्याइएको छ। शिक्षा क्षेत्रको विकासका लागि ‘शिक्षामा गुणस्तरीय, प्राविधिक व्यावहारिक शिक्षाः नैतिकवान् र सक्षम जनशक्ति हाम्रो आकांक्षा’ नारा तय गरिएको छ।
यसअन्तर्गत विद्यालय सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’ राखिएको छ। ऐतिहासिक करफोक विद्या मन्दिरलाई अध्ययन–अनुसन्धानको केन्द्र बनाउने, शिक्षालाई बढी व्यावहारिक बनाउँदै शिक्षकको दक्षता अभिवृद्धि, विद्यालयको भौतिक सुधार, विद्यार्थीलाई प्रोत्साहनलगायतका कार्यक्रम राखिएको नगरले जनाएको छ।
यसअघि नै ‘पर्यटकीय नगरी’ घोषित सूर्याेदयले यो वर्षका लागि ‘हाम्रो संस्कार, पर्यटकको सत्कार’ नीति लिएको छ। नगरलाई बाह्रै महिना पर्यटकीय आकर्षणको गन्तव्य बनाउने, साइकल चलाउन योग्य हरित सडक निर्माण गर्ने, ऐतिहासिक र पुरातात्विक महत्वका स्थललाई पर्यटनसँग जोड्ने तथा गुणस्तरीय पर्यटन अभ्यास कार्यान्वय गरिनेछ। नगरलाई चलचित्र छायांकनस्थलका रूपमा विकास गर्न पहल गर्ने र साहसिक पर्यटनको सम्भाव्यता अध्ययन गर्ने नगरले जनाएको छ।
भौतिक पूर्वाधार, युवा, खेलकुद, स्वास्थ्य, सञ्चार, खानेपानी, सिँचाइ, विद्युत्लगायत सबै क्षेत्रको समुन्नतिका लागि नीति र कार्यक्रम तयार गरेको मेयर रणबहादुर राईले बताए। ‘केही नयाँ कार्यक्रम ल्याइएका छन्, केही महत्वपूर्ण तर पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ,’ उनले भने, ‘कोभिड महामारीका कारण चुनौती रहेपनि कार्यान्वयनमा नगरले लक्ष्य प्राप्त गर्ने आशा छ।’
देशकै लोपोन्मुख लेप्चा समुदायको मुख्य बसोबास रहेको नगरले यो समुदायको संस्कृति उत्थान र विकासका लागि कार्यक्रम तय गरेको छ। ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति, महिला, बालबालिका, श्रमिकको सहयोग र लाभका लागि योजना बनाएको छ। नगरलाई प्रविधिमैत्री बनाउँदै वैज्ञानिक र प्राविधिक हिसाबले समुन्नत नगर निर्माण गर्ने योजना राखिएको मेयर राईले बताए।
करफोक विद्यामन्दिरलाई नगरको शान बनाउने लक्ष्यअनुसार आउँदो वर्षमै ४ करोड रुपैयाँभन्दा बढी लगानी गरिनेछ। भौतिक र शैक्षिक सुधार गरी करफोकलाई नगरका सबै विद्यार्थीको आकर्षणको केन्द्र बनाउने नगरको लक्ष्य रहेको उनको भनाइ छ। ‘चालू वर्ष गुरुयोजनाअनुसार नगरका १ सय ५८ वडास्तरीय र नगरस्तरीय सडक स्तरोन्नति/कालोपत्रे गर्ने योजना छ,’ उनले भने, ‘नगरले यसअघि सुरु भएका ठूलो लगानीका महत्वपूर्ण योजनालाई पनि विशेष निरन्तरता दिनेछ।’
प्रकाशित: १० भाद्र २०७८ १४:३९ बिहीबार