७ वैशाख २०८१ शुक्रबार
अर्थ

एक खर्बले बढ्यो रेमिटेन्स

अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले रेमिटेन्स बढेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह भने वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।  

अघिल्लो वर्षको तुलनामा गत वर्ष ९.८ प्रतिशतले रेमिटेन्स वृद्धि भएको हो। कोरोना महामारीको बेला वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आउनुको साथै गन्तव्य मुलुकसमेत महामारीबाट प्रभावित भएपछि रेमिटेन्समा गिरावट आउने विज्ञहरूको अनुमान थियो।  

यस्तो अनुमान गर्नुको कारण आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा रेमिटेन्स आप्रवाहमा केही गिरावट आउँदा पनि हो। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा करिब चार अर्ब रूपैयाँले रेमिटेन्समा गिरावट आएको थियो। आर्थिक वर्ष २०७६/७७ को अन्तिमतिर (चैतपछि) नेपाल कोरोना महामारीबाट प्रभावित हुन थालेको हो। त्यसलगत्तै नेपालीहरू रोजगारीका लागि जाने गन्तव्य मुलुक पनि महामारीबाट प्रभावित हुने क्रम सुरु भएको थियो।  

आर्थिक वर्ष २०७५/७६ मा आठ खर्ब ७९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भित्रिएको भित्रिएको रेमिटेन्स अहिलेसम्मकै बढी हो। विज्ञहरू महामारीमा रेमिटेन्सको वृद्धि हुनुमा हुन्डीको कारोबार रोकिनुलाई मुख्य कारण ठान्छन्। हुन्डीको कारोबार रोकिनुबाहेक महामारीको बेला गन्तव्य मुलुकमा रहेका नेपालीको फजुल खर्च नियन्त्रण हुनु र विलासिताका सामान खरिदमा कमी आउनुलाई पनि रेमिटेन्स वृद्धिको आधार मानिएको छ।  

विज्ञहरूले आगामी दिनमा समेत हुन्डीको कारोबार रोक्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षदेखि रेमिटेन्स बैंकमा जम्मा गरे एक प्रतिशत बढी ब्याज पाइने घोषणा गरेको छ। रेमिटेन्सले नेपालमा गरिबी घटाउन मदत गरिरहेको छ भने सहरीकरणको विस्तार तथा निजी विद्यालय र बैंक तथा वित्तीय संस्था सञ्चालनमा पनि उत्तिकै योगदान पुर्‍याइरहेको छ।  

केन्द्रीय तथ्यांक विभागले केही वर्षअघि गरेको एक अध्ययन अनुसार रेमिटेन्स देशका ५६ प्रतिशत घरधुरीमा प्रत्यक्ष पुग्ने गरेको छ। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब, असोजमा ९३ अर्ब, कात्तिकमा ७८.९ अर्ब, मंसिरमा ७९ अर्ब, पुसमा साढे ७८ अर्ब, माघमा साढे ७२ अर्ब, फागुनमा साढे ७४ अर्ब, चैतमा ८७ अर्ब, वैशाखमा ८१ अर्ब, जेठमा ६१ अर्ब र असारमा साढे ९० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।  

गत वर्ष धेरै रेमिटेन्स कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स, साउदी अरेबियालगायतका गन्तव्य मुलुकबाट आएको पाइन्छ। धेरै रेमिटेन्स प्राप्त हुने मुलुकमध्ये एक दक्षिण कोरियामा नेपालीहरू यसबीचमा जान पाएको भए रेमिटेन्स अझै वृद्धि हुने धेरैको भनाइ छ।  

कोरोना महामारीका कारण साढे एक वर्षदेखि नेपालीहरू रोजगारीका लागि कोरिया जान पाएका छैनन् । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरोना महामारीका कारण करिब १० हजार नेपाली रोजगारीका लागि कोरिया जानबाट रोकिएका छन्।  

सुरुमा नेपालले रोकेको कोरिया रोजगारी पछिल्लो समय कोरिया सरकारका कारण ढिलाइ भइरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार अब कोरियाको सर्त अनुसार काठमाडौंबाट सिधै कोरिया हवाई उडान सुरु गर्ने तयारी गरिएकाले चाँडै कोरिया रोजगारी सुचारु हुने सम्भावना छ। केही  दिनअघि विभागले काठमाडौंबाट सिधै कोरिया हवाई उडान सुरु गर्नका लागि टेन्डर आह्वान गरेको छ ।

रोकिएको रोजगारी सुरु गर्न केही दिनअघि कोरिया सरकारले नेपालीहरू कोरिया गइसकेपछि १४ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नु पर्ने र त्यसको सम्पूर्ण खर्च कामदारले बेहोर्नुपर्ने लगायत नेपालबाट कोरिया सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको थियो। क्वारेन्टिनमा बस्नुपर्ने र बस्दा लाग्ने खर्च कामदारले बेहोर्नेमा सहमति भइसकेको छ।  

एक वर्षमा रेमिटेन्स वृद्धि भए पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ । जेठसम्मको विवरण अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ ।  

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशत घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४७.१ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशत घटेको थियो ।  

कतिपय विज्ञ विगतमा गएका नेपालीहरू महामारीमा घर फर्कन नपाएका कारण यसपटक रेमिटेन्स पठाउन समर्थ भए पनि अहिले नेपाली वैदेशिक रोजगारीमा जान नपाएको असर आगामी वर्ष देखिने बताउँछन् । कोरोना महामारी विस्तारै नियन्त्रण उन्मुख हुँदै जाँदा वैदेशिक रोजगारीमा रहेका नेपाली घर फर्कने र त्यसपछि रेमिटेन्स घट्ने उनीहरूको धारणा छ ।  

कोरोना महामारी सुरु भएपछि कहिले लकडाउन त कहिले पर्याप्त हवाई उडान नहुँदा चाहेर पनि कैयौं नेपाली घर फर्कन पाएका छैनन् । महामारीपछि नेपालीहरू वैदेशिक रोजगारीमा कम गएपछि कैयन रोजगारदाताले बिदामा वा श्रम सम्झौता सकाएर आउनुपर्नेलाई समेत आउन नदिएको भुक्तभोगीको भनाइ छ ।  

महामारी नियन्त्रणमा आएपछि वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएर रेमिटेन्स पठाउँदा केही वर्ष कुर्नुपर्ने अवस्था आउन सक्ने कतिपय बताउँछन्। हालसम्म श्रम स्वीकृति लिएर रोजगारीमा गएका संख्याको आधारमा सबभन्दा ठूलो मलेसिया रोजगारी अझै बन्द छ। मलेसियास्थित नेपाली राजदूताबासका श्रम काउन्सेलर दीपक ढकाल मलेसियाको अवस्था हेर्दा सन् २०२२ पछि मात्र मलेसियाको रोजगारी सुचारु हुने सम्भावना छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेका कारण आगामी दिनमा रेमिटेन्स आप्रवाहमा कमी आउने र जसले गर्दा शोधनान्तर स्थितिमा दबाब पर्न सक्ने कतिपयको अनुमान छ। 

प्रकाशित: ९ भाद्र २०७८ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App