७ कार्तिक २०७८ आइतबार
अर्थ

आम्दानीको स्रोत बन्दै धुपीको दाउरा र पात

जुम्ला तातोपानी गाउँपालिका ८ का ३८ वर्षीय भीमबहादुर बुढा अधिकांस समय धुपीको दाउरा र पात संकलनमै व्यस्त हुन्छन्। उनी धुपीको पात र दाउरा बेचेर गुजारा चलाउँछन्। गत वर्ष १ क्वीन्टल ५० केजी धुपीको दाउरा बेचे। दाउरा संगै उनले धुपीको पात बेचेर एकमुष्ट ९ हजार रुपैयाँ कमाए। उनका लागि त्यो ९ हजार रुपैयाँ राम्रो आम्दानी हो।  

उनी अहिले धुपी प्रशोधन तीरै अग्रसर छन्। सोही गाउँका वर्ष ४५ का भीमबहादुर रावत धुपीको दाउरा र पात संकलन गरेर मनग्गे आम्दानी गर्ने दाउँमा छन्। यो वर्ष उनले ५ क्वीन्टल धुपीको दाउरा संकलन गरे। दाउरा र पात बेचेर कमाएको आम्दानीले निकै खुसी ल्याएको छ। उनले भने,‘यहाँ धुपी प्रयाप्त पाइन्छ। धुपीको दाउरा र पाता बेचेर रुपैयाँ कमाउला भन्ने कल्पना थिएन। तर यही धुपी रोजीरोटी गर्ने गतिलो स्रोत बन्यो।’

यी दुई भीमबहादुर उदाहरण मात्र हुन्। उनी जस्ता कैयन भीमबहादुरले धुपीको दाउरा र पात बेचेर गुजारा चलाइरहेका छन्। अहिले उनीहरु पाटनमा धुपीको दाउरा र पात प्रशोधन गरिरहेका छन्। गाउँमै बसेर धुपीको पात र दाउराबाट रुपैयाँ कमाउने बातावरण बनेपछि अधिकांस स्थानीय कालापहाड जाँदैनन्। वर्षेनी धुपी बेचेर घरखर्च चलाउँछन्। छोराछोरीको पढाइ खर्च जुटाउँछन्।  उनीहरुको आम्दानी वर्षेनी ६० देखि ७० हजार रुपैयाँसम्म दाउरा र पात बेचेरै हुन्छ। 

भीमबहादुरले भने,‘पहिले धुपीलाई हेला गर्यौँ। अहिले धुपीले घर खर्च व्यवस्थापन गर्न सघाइरहेको छ। परिवारको सुखदुखमा साथ दिइरहेको छ। परिवारमा आर्थिक समृद्धि ल्याउनमा सहयोग गरिरहेको छ।’ तिला गाउँपालिका ६ सुडी गाउँमा पनि धुपीका दाउँरा र पात संकलनको काम तीव्र भइरहेको छ। उनीहरु एक जना बराबर वर्षेनी धुपीबाट ५० देखि ६० हजार रुपैयाँसम्म कमाउँछन्। उनले भने,‘धुपीको पात र दाउराले आम्दानी भित्र्याइरहेको छ। यो किसानका लागि राम्रो पक्ष हो। तर यो संगै धुपीको संरक्षण र वृक्षारोपणका क्रियाकलाप हुन जरुरी छ।’  

'एकोहोरो धुपीको दाउरा र पात निकाल्नाले धुपी लोप हुन सक्ने अवस्था आउन सक्छ,' भीमबहादुरले भने,‘धुपी रोपौँ। संरक्षण गरौँ। आम्दानीको स्रोत वृद्धि गरौँ। धुपीमै किसानको भविष्य लुकेको छ।’

धुपीको दाउरा र पात खरिदका लागि ठेकेदार गाउँमै पुग्छन्। यो वर्ष २० क्वीन्टल धुपीको दाउरा र १० क्वीन्टल पात बिक्री भएको किसान बताउँछन्। यहाँको धुपीको दाउरा र पात काठमाडौं पशुपति र बौद्धमा पुग्छ। धुपीको दाउरा र पातको माग बढिरहेकोले ठेकेदार गाउँमै आएर खरिद गर्ने गरेको स्थानीय बताउँछन्।

यहाँका स्थानीयले धुपीको पात र दाउरा के गर्न प्रयोग हुन्छ भन्ने बारेमा थाहा पाएका छैनन्। तर धुप बनाएर देविदेवतालाई धुपाउनका लागि प्रयोग गर्न मिल्ने अनुमान सहजै रुपमा गर्छन्। यहाँको धुपी काठमाडौंमा लिएर धुपि पेल्ने र धुटो बनाउने मेशिनमा राखिन्छ। त्यो मेशिनमा हालेर धुपीको पातको धुलो बनाई पोका पारेर बिक्री गरिन्छ। अनि यहाँका किसानले बेचेको भन्दा धेरै मूल्यमा धुपीको धुलो किनबेच गर्ने गरेको पाइन्छ।

वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकण चौलागाइ जुम्लामा प्रशस्त धुपीको पात र दाउरा पाइने गरेको बताउँछन्। 'धुपीको संरक्षणसहित संकलन र प्रशोधन कार्यलाई व्यवस्थित बनाउन सकेको खण्डमा स्थानीयको आम्दानीको मुख्य स्रोत बन्ने थियो,' उनले भने,‘ त्यसको लागि स्थानीय सरकारले धुपी संरक्षण ऐन बनाउन आवश्यक छ। यो ऐनले धुपीको संरक्षण र प्रशोधन बारे बोलोस्।’  

तातोपानी ८ मछाली बुढावाडामा गठित नदी वन उपभोक्ता समितिका सचिव बृर्षबहादुर रावत धुपीलाई कानुनी र सामाजिक रुपमा प्रशोधन गर्ने विकल्प खोजिएको बताउँछन्। उनले भने,‘धुपी संकलन र संरक्षण गर्ने खाले कानुन स्थानीय सरकारले बनाओस्। सहजै रुपमा धपीबाट स्थानीयले आम्दानी गर्ने माहोल बनाओस्। हामी किसानको माग यही छ।’

'स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गरी आयआर्जन गर्न सकिने अवस्था छ। तिला गाउँपालिकाका प्रशासकीय अधिकृत मीनबहादुर रावल गाउँपालिकाले ऐनको ड्राफ्ट तयार गरेको बताउँछन्। ड्राफ्टलाई कार्यपालिकामा पेस गरेर पास हुने आशामा छौं,' उनले भने,‘ ऐन पास भएमा   धुपी र देवद्यारका उद्योगहरु स्थापना गर्न ढोको खुल्नेछ।’ किसानले व्यवसायीक रुपमा धुपी खेती गर्न सक्ने गरि कानुन तर्जुमा हुनु पर्नेमा जोड दिए।  

अहिले जुम्लाका गाउँबस्तीमा धुपी प्रशोधन उद्योग स्थापना गर्न माग बढेको छ। स्थानीयले स्थानीय सरकार र गैरसरकारी संस्था संग उद्योग स्थापना गरिदिन दबाव दिँदै आइराखेका छन्। साँझेदारी सहयोग केन्द्र पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपाने किसानले धुपी प्रशोधन उद्योग स्थापना गर्न निरन्तर माग गरिरहेको बताए। उनले भने,‘स्थानीयतहले कानुन बनाएर वैधानिक रुपमा अनुमति दिएको खण्डमा धुपी प्रशोधन उद्योग स्थापना गर्न खासै असहज हुने छैन। किसानको माग अनुसार नै धुपी प्रशोधन उद्योग बन्छ।’

'हामीले कार्यक्रम तयार गरेका छौं', अध्यक्ष न्यौपानेले भने,‘स्थानीय ऐन निर्माण र समुदायको तालमेल मिलेमा तुरुन्तै उद्योग स्थापना गर्न सकिने छ। उद्योग स्थापना गर्न किसानलाई गाह्रो साह्रो हुने अवस्था रहँदैन।’

अनुकुलन कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहयोगमा पेस नेपालद्धारा संचालित क्याप्स कर्णाली परियोजनाको माध्यमबाट उद्योग स्थापना गर्न सकिने उनले बताए।  

गाउँमा धुपी प्रशोधन उद्योगका लागि उद्यमी समूह गठन भइसकेको छ। भीमबहादुरले थपे,‘उद्यमी समूहबाट उद्योग दर्ता गरेर धुपीको पाउडर उत्पादन गरेर बजारसम्म लैजाने सोच छ। धुपी पाउडर नेपाली बजारमा निकै माग छ।’

स्थानीयले जागरुकता देखाएमा र  स्थानीय सरकारले उद्योग स्थापनाको अनुमति दिएमा धुपि प्रशोधन उद्योग स्थापना गर्न सकिने पेस नेपालका भीमबहादुर सार्की(कसिंगर) ले जानकारी दिए। दुरदरामा मात्र नभइ जिल्लाका अधिकांस व्यक्ति समुदायको आम्दानीको स्रोत धुपी नै बन्ने संभावना बलियो भएको उनी बताउँछन्।    

धुपी जुम्लामा जंगलका हिसावले पाउँछ। धुपी खोज्न टाढा जानु पर्दैन। तर निरन्तर धुपीको पाता र दाउरा संकलनले धुपी संरक्षणमा चुनौति थपिन सक्ने खतरा पनि उत्तिकै बढेको छ।

प्रकाशित: ८ भाद्र २०७८ १९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App