८ वैशाख २०८१ शनिबार
अर्थ

खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरणमा ढिलाइ

६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको एक वर्षअगावै हुनुपर्ने स्वामित्व हस्तान्तरण अहिलेसम्म हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले कोभिड–१९ महामारीको बहानामा स्वामित्व हस्तान्तरण नगरेको आरोप लागेको छ। प्राधिकरणले समयमै आवश्यक पहलकदमी नगर्दा लामो समय बित्दासमेत आयोजनाको स्वामित्व हस्तान्तरण हुन नसकेको बताइन्छ।  

प्राधिकरण र नर्वेजियन कम्पनीबीच भएको विद्युत् खरिदबिक्री सम्झौता अनुसार व्यावसायिक उत्पादन भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरण मातहत आउनुपथ्र्यो। सम्झौता अनुसार २०७७ असारमा तोकिएको समय पूरा भइसकेको छ। यो आयोजनासँग डलरमा पिपिए गरेकाले मनग्ये नाफा आर्जन गर्ने, तर प्राधिकरण घाटामा जाने समस्या थियो।  

यो आयोजनाले वार्षिक ५ अर्ब ८० करोड रूपैयाँ आम्दानी गर्थ्र्यो भने प्राधिकरणले वार्षिक करिब दुई अर्ब जति नोक्सानी बेहोर्दै आएको थियो। वैदेशिक लगानीमा बनेको खिम्ती आयोजनाबाट उत्पादन हुने ६० मेगावाट बिजुली खरिद गर्न प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच ९ मंसिर २०५१ मा सम्झौता भएको थियो। सुरुमा यो आयोजनासँग ५.२ सेन्टमा प्रतियुनिट बिजुली किन्ने गरी पिपिए गरिएको थियो।

पछि आयोजनाको मूल्य समायोजन हुँदा प्रतियुनिट ५.९ सेन्ट (सरदर प्रतियुनिट २१ रूपैयाँ) पर्न आउथ्यो। सम्झौतामा उत्पादन सुरु भएको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा आउने उल्लेख थियो। महालेखापरीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनले पनि तोकिएको समयमा आयोजनाको स्वामित्व हस्तान्तरण नभएको औंल्याएको छ।

‘उक्त कम्पनीले २०५७ असारदेखि व्यापारिक उत्पादन सुरु गरेकाले सम्झौता अनुसार ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा प्राप्त गर्नुपर्नेमा सो हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाको ५० प्रतिशत स्वामित्व हस्तान्तरणका लागि प्राधिकरण र प्रवद्र्धक कम्पनी दुवैको स्वामित्व रहने गरी छुट्टै कम्पनी स्थापना गर्नुपर्ने, हाल उक्त कम्पनी बनिनसकेको, नयाँ कम्पनीले पुन विद्युत् बिक्रीका लागि विद्युत् खरिदबिक्री सम्झौता गर्नुपर्ने जस्ता प्रक्रिया पूरा नभएको कारण जनाई स्वामित्व हस्तान्तरणमा ढिलाइ गरेको देखिन्छ।’  

खिम्तीबाट प्रतिघन्टा ३५० मिलियन किलोवाट विद्युत् उत्पादन हुने देखिन्छ। कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार नर्वेजियन कम्पनीले २०७७ असार २७ मा संस्थाको ५० प्रतिशत स्वामित्व हस्तान्तरणबाट प्राप्त मुनाफा नर्वेजियन क्रोनर ११९ मिलियन हिसाबमा लेखांकन गरिसकेको छ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणको वार्ताकै क्रममा कोभिड–१९ महामारी फैलिएकोले काम हुन नसकेको बताए। ‘खिम्तीको स्वामित्व हस्तान्तरणको लागि वार्ता भइरहेकै बेला कोभिड–१९ को पहिलो लहर देखापर्‍यो,’ उनले भने, ‘महामारीको कारण देखाउँदै उनीहरू अहिलेसम्म नआएकाले स्वामित्व हस्तान्तरण हुन सकेको छैन।’  

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले खिम्तीबाट उत्पादन हुने बिजुलीको लागि प्रतियुनिट दुई रूपैयाँको दरले अपरेसन खर्च मात्रै उपलब्ध गराउँदै आइरहेको बताए। ‘स्वामित्व हस्तान्तरण नभएकाले अहिलेसम्म खिम्ती जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता हुन सकेको छैैन। त्यसैले अहिले अपरेसन खर्चबापत प्रतियुनिट दुई रूपैयाँको दरले खरिद गर्दै आइरहेका छौं।’  

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले खिम्ती आयोजनाबाट उत्पादन भएको बिजुली यसअघि वार्षिक ५ अर्ब ८० करोड रूपैयाँमा खरिद गर्दै आए पनि अहिले भने ७० देखि ७५ करोड रूपैयाँमा मात्रै खरिद गर्दै आएको दाबी गरे। ‘२० वर्ष नपुगुन्जेसम्म वार्षिक ५ अर्बभन्दा धेरै भुक्तानी गर्दै आएका थियौं,’ उनले भने, ‘अहिले त वार्षिक ७० देखि ७५ करोड मात्रै भुक्तानी भइरहेको छ।’  

महालेखाको प्रतिवेदनले कम्पनीको तेस्रो ठूलो सेयरहोल्डर नेपालको एक कम्पनीको सेयर स्वामित्व १६.९० प्रतिशत रहेको जनाएको छ। सोही प्रतिवेदनले कम्पनीको लाभकर हिसाब गर्दा एक अर्ब २९ करोड ७६ लाख र सोको ब्याजसहित आउने रकम असुलउपर गर्नुपर्ने औंल्याएको छ। ‘कारोबार मूल्य र बजार मूल्यको फरक हिसाब गर्दा आउने रकममा २५ प्रतिशत लाभकर एक अर्ब २९ करोड ७६ लाख एवं सोको शुल्क र ब्याजसमेत असुल हुन छुटेको अवस्था देखिएकाले थप छानबिन गरी सरकारी संस्था र सरकारले प्राप्त गर्नुपर्ने राजस्व यथाशीघ्र असुल गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ।

कम्पनीको वार्षिक प्रतिवेदन अनुसार २०७६ को अन्त्यमा आयोजना सञ्चालन गर्ने एक लिमिटेड कम्पनीमा २९ लाख ७८ हजार ५०२ किता सेयरको मूल्य प्रतिकित्ता ३९४.५१ दरले देखाएको छ। यो हिसाबले उक्त आयोजनाको कुल सेयर एक करोड ७६ लाख २४ हजार २ सय ७२ कित्ता रहेको पुष्टि हुन्छ। उक्त सेयरको किताबी मूल्य एक सय रूपैयाँ घटाउँदा मुनाफा प्रतिकित्ता २९४.५१ का दरले कुल मुनाफा ५४ अर्ब १९ करोड ५ लाख हुन आउँछ। यो मूल्य वर्तमान सेयर बजारको अवस्था विश्लेषण गर्दा असामान्य रूपमा न्यून देखिएको छ। 

प्रकाशित: ८ भाद्र २०७८ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App