२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कास्कीलाई पशुमा पूर्ण खोप जिल्ला बनाउने तयारी

पशुमा कास्कीलाइ पूर्ण खोप जिल्ला बनाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीले जिल्लालाई पशुमा पूर्ण खोप बनाउने तयारी गरेको हो । पशुमा पूर्ण खोप बनाउने पशु विज्ञ केन्द्रको अभियानलाई कास्कीका पाँचवटै स्थानीय तहले सघाउने प्रतिबद्धता जनाएका छन् ।

पशुलाई रोगबाट मुक्त बनाई पशु व्यवसायी कृषकको जोखिम कम गराउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीकी प्रमुख शोभा शर्माले बताईन् । पशुमा पूर्ण खोप बनाउने हो भने पशु कम विरामी हुने र मृत्यु हुने सम्भावना कम हुने र यसले किसानको आम्दानीमा वृद्धि गर्ने उनले बताईन् । उनले ६ महिनाको अन्तरमा वर्षमा २ पटक खोप लगाए पशुलाई धेरै किसिमका रोगहरुबाट जोगाउन सकिने बताए ।

पशुमा खोप लगाउन अघिल्लो वर्षदेखि नै शुरु गरिएको थियो । अघिल्लो वर्ष कास्कीको माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिकामा खोप लगाइएको थियो । अघिल्लो वर्ष दुई पालिकामा गरेको खोप कार्यक्रम सफल भएपछि यस वर्ष कास्की जिल्लाका पाँचवटै पालिकामा खोप लगाउने तयारी गरिएको पशु विज्ञ केन्द्रकी प्रमुख शर्माले बताईन् ।

कास्की जिल्लालाई आवश्यक खोप खरिद गर्न प्रदेश सरकारले पशु सेवा विज्ञ केन्द्रमार्फत बजेट छुट्याएको छ । सोहि बजेटबाट खोप खरिद गरेर लगाइने प्रमुख शर्माको भनाई छ । खोप किसानको गोठ–गोठमा पुगेर लगाइने प्रमुख शर्माले जानकारी दिईन् । ‘जसको घरमा पशु पालेको छ, उसको घर वा गोठमै पुगेर हाम्रा पशु प्राविधिकहरुले खोप लगाउँछन्’ उनले भनिन् । तर खोप लगाउन पालिकाहरुले सघाउनुपर्ने उनको भनाई छ । कतिपयमा पशुलाई खोप किन लगाउनु प¥यो ? भन्नेजस्ता बिचारहरु छन्,’ उनले भनिन्,‘उनीहरुमा सचेतना जगाउनदेखि खोपकेन्द्र पुगेर खोप लगाउनसम्म पालिकाहरुको सहयोग आवश्यक छ ।’

पशु सेवा विज्ञ केन्द्रको आग्रहलाई कास्कीका पाँचवटै पालिकाहरुले स्वीकारेका छन् । उनीहरुले पशुमा पूर्ण खोप जिल्ला बनाउने अभियान सकारात्मक भएको भन्दै यसलाई सफल बनाउन सघाउने प्रतिबद्धता जनाएका हुन् । पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपालीले पशुमा पूर्ण खोप लगाउने विषय आम नागरिकको जीवनसँगसमेत जोडिएको र कृषकको फाईदाका लागि पनि भएकाले यसलाई सफल बनाउन महानगरले सघाउने बताए । तर छाडा चौपायालाई समेत समेट्नुपर्नेमा उनले जोड दिए ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले आफ्नो गाउँपालिका भित्र कसैले पनि पशुमा खोप लगाउँदिन भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘खोप लगाउनु एकदमै राम्रो हो, यसलाई सफल बनाउन हामी लाग्छौं, हाम्रो गाउँपालिका भित्र खोप लगाउँदिन भन्ने आवाज आउन नदिने गरी काम गर्छौं ।’

रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले खोपलाई प्रभावकारी बनाउनुपर्ने भन्दै त्यसका लागि आफ्नो गाउँपालिकाले सघाउने बताए । उनले मान्छेले मात्रै खोप लगाउनुपर्छ भन्ने मानसिकता हुँदा पशुमा खोप लगाउन आनाकानी हुनसक्ने भन्दै त्यसका लागि सचेतना जगाउन आवश्यक रहेको बताए ।

मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले पशुलाई खोप लगाउने विषय नयाँ भएपनि यसलाई आफ्नो गाउँपालिकाले पूर्ण सहयोग गर्ने बताए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले पशु अधिकार रक्षा गर्न, लगानीको जोखिम कम गर्न, आयआर्जन बृद्धि गर्न खोप महत्वपूर्ण भएकाले यसलाई सफल बनाउन जिससले समन्वयकारी भूमिका खेल्ने बताए । खोप सफल बनाउन सबैभन्दा पहिले किसानलाई मैले मेरै पशुको सुरक्षा गर्दै आफ्नो आम्दानी बढाउनका लागि खोप दिनुपर्छ भन्ने बनाउन आवश्यक रहेको औंल्याए ।

प्रकाशित: ४ भाद्र २०७८ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App