coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मन्त्रीको लागि भैंसेपाटीमा २७ वटा सुविधा सम्पन्न भवन तयार

संघीय सरकारका सबै मन्त्रीहरू ढिलोमा आगामी वैशाख महिनासम्म भैंसेपाटीस्थित सुविधा सम्पन्न भवनमा सर्दैछन्। संघीय सरकारका मन्त्रीका लागि भैँसेपाटीमा २७ वटा सुविधासम्पन्न भवन तयार भएका छन्। त्यहाँ संघीय सरकारका मन्त्रीसहित राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रतिनिधिसभाका उपसभामुख पनि बस्ने भएका छन्।

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सकेसम्म आगामी चैत महिनामा, कारणवश चैतमा नसके वैशाख महिनासम्म पुल्चोकस्थित मन्त्री क्वार्टरलाई भैंसेपाटीमा सार्ने तयारी भएको बताए। ‘भवन निर्माण भइसकेका छन्। रंगरोगन र फिनिसिङको मात्र काम बाँकी छ,’ सिंहले भने, ‘त्यो काम पनि चैतसम्म पूर्णरूपमा सक्ने योजना छ।’

९६ रोपनी १० आना जग्गामा फैलिएको मन्त्री क्र्वाटर निर्माणका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रूपैयाँ वजेट छुट्टयाइएको छ। विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार हालसम्म ५७ करोड २३ लाख रूपैयाँ खर्च भइसकेको छ। प्रत्येक भवन करिब ७ आना जग्गामा फैलिएका छन्। सहरी विकास मन्त्रालयका अनुसार मन्त्री आवासीय गृहमा जिम हल, पौडी पोखरी, सामुदायकि भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको छ। प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्टयाइएको छ।  

मन्त्रालयका अनुसार प्रत्येक भवनमा आगन्तुकका लागि भूइँतलामा प्रतीक्षा कोठा, बैठक कोठा (सामान्यतया १५ जना व्यक्ति अटाउन सक्ने), निजी कोठा तथा स्वकीय सचिव बस्ने कोठा व्यवस्था गरिएको छ। यसैगरी दोस्रो तलामा आवासका लागि कोठा छुट्टयाइएको छ। यसमा बेडरुम पनि राखिएको छ। प्रत्येक भवनमा एउटा पूजा कोठा पनि राखिएको छ।  

मन्त्रीका लागि बनाइएका भवन नेपाली कला, संस्कृति तथा परम्परा झल्कने किसिमका भएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका सिनिएर डिभिजन इञ्जिनियर प्रमोदकृष्ण कर्माचार्यले बताए। भवन निर्माणका लागि २०७६ कात्तिक गते केसी–समानान्तार जेभी व्यावासायिक कम्पनीसँग सम्झौता गरिएको थियो। कोरनाको महामारी नभएको भए असोज महिनाभित्रै सबै काम पूरा भइसक्नुपथ्र्यो तर कोरना महामारीको कारण निर्माण व्यावसायी कम्पनीलाई छ महिना थप समय दिएको सहरी विकास मन्त्रालयले जनाएको छ। मन्त्री क्र्वाटर पुल्चोकबाट भैंसेपाटीमा सरे पुल्चोकमा रहेको खाली जग्गामा विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुख काठमाडौं आएका बेला उनीहरूको आवासका लागि राजकीय अतिथि गृह बनाउने सरकारले योजना बनाएको छ। त्यसका लागि डिजाइनसमेत तयार भएको मन्त्रालयका सचिव सिंहले जनाए। ‘मन्त्री क्र्वाटर सरेलगत्तै राजकीय अतिथि गृहका लागि काम सुरु गर्छाैं,’ सिंहले भने, ‘मन्त्री क्र्वाटर नसर्दैै काम गर्न अप्ठ्यारो हुने भएकाले सरेपछि काम सुरु हुनेछ।’

यसैगरी, सरकारले भैंसेपाटीमै मुख्यमन्त्री तथा प्रदेश प्रमुखका लागि सम्पर्क कार्यालय तथा आवासीय प्रयोजनका लागि सातवटा सुविधा सम्पन्न भवन बनाएको छ। सहरी विकास मन्त्रालयका सचिव सिंहले आइतबार संसद्को विकास समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालय भवन निर्माण गर्न ८० प्रतिशत काम पूरा भएको जनाइएको छ। २०७८ असोजसम्म भवनको सबै काम पूरा गर्ने लक्ष्य राखिएको थियो। कोभिडका कारण छ महिना पर सरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आगामी चैतसम्म सबै काम पूरा हुनेछ।  

प्रदेशका प्रदेश प्रमुख तथा प्रदेश मुख्यमन्त्री काठमाडौं आएका बेला उनीहरूका लागि आवास तथा तथा सम्पर्क कार्यालयका लागि सातवटा सुविधासम्पन्न भवन बनाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सातवटा सुविधासम्पन्न भवन निर्माण भएपछि प्रदेश प्रमुख तथा मुख्यमन्त्री काठमाडांै आएको बेला आवासका लागि होटलमा बस्नुपर्दैन। यसका लागि राज्यको खर्च जोगिने मन्त्रालयको बुझाइ छ। विशेष भवन निर्माण आयोजना समनन्वय कार्यालयका अनुसार प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि सातवटा अलगअलग सुविधासम्पन्न भवन बनाइएका छन्। प्रत्येक भवनलाई दुई भागमा छुट्टयाइएको छ। एउटा भागमा प्रदेश प्रमुखका लागि तथा अर्को भागमा मुख्यमन्त्रीका लागि छुट्टयाइएको समन्वय कार्यालयले जनाएको छ। प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माणका लागि संघीय सरकारले ७३ करोड रूपैयाँ छुट्टयाएको छ।

प्रकाशित: १ भाद्र २०७८ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App