८ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

सुठौली भन्सारमा प्लान्ट क्वारेन्टिन कार्यालय नहुँदा समस्या

वार्षिक डेढ अर्ब राजस्व गुम्ने अवस्था

वार्षिक डेढ अर्ब बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार नाकामा क्वारेन्टिन कार्यालय नहुँदा भन्सार कारोवारमा ठूलो प्रभाव परेको छ। भन्सारको ९० प्रतिशत आम्दानी कृषजन्य बस्तु आयातबाट हुने गरेको छ। 

स्तराेन्नती भई ठूलो भन्सार भएको ३ वर्ष हुँदा समेत अहिले सम्म यहाँ प्लान्ट क्वारेन्टिन कार्यालय स्थापना हुन सकेको छैन। भन्सार संचालन भएपछि काम चलाउ रुपमा कृष्णनरमा रहेको प्लान्ट क्वारेन्टिनका कर्मचारीहरुले चेकजाँच गरी कागजात बनाउँदै आएका थिए। तर भन्सार विभागले साउन २० गतेदेखि नेपाल नेशनल सिङगल बिन्डो सिस्टम संचालनमा ल्याएपछि भने भन्सारमा ठूलो समस्या आएको सुठौली भन्सारका प्रमुख रमेश खड्काले बताए। कृषिजन्य बस्तुको प्रज्ञापन पत्र बनाउँदा क्वारेन्टिन प्रतिबेदन अनिवार्य गरिएकाले समस्या आएको हो। 

क्वारेन्टिन कार्यालयले प्रतिबेदन अनलाईन सिस्टममा राख्ने गरेको छ। त्यो प्रतिबेदन नआएसम्म भन्सारको प्रज्ञापन पत्र नै भर्न नमिल्ने भएकाले कारोवारमा समस्या आएको भन्सार प्रमुख खड्काले बताए। साउन २० गतेदेखि सो सिस्टममा लयाउँदा ३ दिनसम्म भन्सार प्रभावित भएको थियो। ब्यापारीहरुको तरकारी, फलफूल धेरै सडेर खेर समेत गएको थियो। क्वारेन्टिन कार्यालयमा आग्रह गरे पछि यहाँबाट भित्रिने कृषि सामग्रीहरुको प्रतिबेदन कृष्णनगरबाट ईन्ट्रा प्वाईन्ट भनेर देखाउने गरिएको खड्काले बताए। 

‘सामान सुठौली भन्सारबाट भित्रिएको छ तर क्वारन्टिनले भने ईन्ट्री प्वान्इन्ट कृष्णनगरलाई देखाउनु उचित होईन,’ उनले भने, ‘सुठौली भन्सारको मुख्य आम्दानी नै कृषिजन्य बस्तु हो त्यसैले यहाँ जति सक्दो चाडो क्वारेन्टिन कार्यालय स्थापना गर्नु पर्छ।’ नेपालभर ३९ वटा ठूला भन्सार कार्यालय छन्। जसमध्ये १५ स्थानमा मात्र क्वारेन्टिन कार्यालय छन्। सुठौली भन्सारमा क्वारेन्टिन कार्यालय नराखिए भन्सार सुनसान हुने ब्यापारीहरु बताउँछन्। रुपन्देहीको बेलहीया र कपिलवस्तुको कृष्णनगर नाकाको बीचमा पर्ने यो नाका पायक पर्ने भएकाले ब्यापारीहरु यही भन्सारबाट कारोवार गर्ने गरेका छन्। क्वारेन्टिन कार्यालय नहुँदा ब्यापारीहरु भने बिस्तारै निरुत्साही हुँदै गएका छन्।   

सुठौलीमा खाद्य र पशु क्वारेन्टिनको स्थापना हुन नसक्दा तौलिहवा मर्यादपुर सडकखण्डमा घण्टौसम्म नेपाल भित्रिने मालबाहक सवारी लाम लाग्ने गरेका छन्। नेपाल प्रवेश गर्ने मालबाहक सवारी साधनको क्यारेन्टिन प्रक्रियाकै लागि ५/७ घण्टा लाग्ने हुँदा सडकमै सवारी साधन पार्किङ्ग गर्नु पर्ने समस्याले आवागमन समेत प्रभावित हुने गरेको छ। 

मालबाहक सवारी साधन पार्किङ्गका कारण सडक आवागमनमा समस्या उब्जिदा दुर्घटनाको सम्भावना बढेको ब्यापारीहरु बताउँछन्। यता क्यारेन्टिनकै लागि समय बढी लाग्दा सवारी र कामदारका लागि बढी मूल्य लाग्दा आफूहरु पनि समस्यामा परेको व्यवसायीको गुनासो छ। क्वारेन्टिन कार्यालय नहुँदा आफूहरुले नमुना लिएर परीक्षण गराएर आउँदासम्म ५/७ घण्टा लाग्ने गरेको भन्सार प्रतिनिधि कमाल खाँले बताए।

यो भन्सार नाकाबाट मुख्य पैठारी हुने सामग्री नै खाद्यान्न हो। भन्सारमा पर्याप्त भौतिक पूर्वाधारको अभाव रहनुका साथै हालको भन्सार कार्यालयमा यार्ड नहुँदा क्यारेन्टिन नगराउँदाको अवधिसम्म मुल सडकमै सवारी पार्किङ्ग गर्नु पर्ने समस्या रहेको खड्काले बताए।  

सुठौलीमा क्वारेन्टिन कार्यालय स्थापना गर्न माग गरिएको खड्काले बताए। भन्सारमा खादान्न, तरकारी फलफूल आयात हुने गरेका छन्।

प्रकाशित: ३२ श्रावण २०७८ १४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App