२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पहिला खोप, अनि मात्र पर्यटन पूर्वाधारमा ध्यान: व्यवसायी

सरकारले खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने नीति सार्वजनिक गरेको छ। तर पर्यटन सम्बद्ध व्यवसायीले भने खोप सुनिश्चित गर्न माग गरिरहेका छन्।सरकारको न्यूनतम साझा कार्यक्रमले पर्यटन पूर्वाधारमा जोड दिने बताए पनि अहिले पर्यटन क्षेत्रको आधारभूत समस्या कोरोनाविरुद्वको खोप भएको व्यवसायीको भनाइ छ। खोपको व्यवस्था भए विदेशी नागरिकलाई नेपाल सुरक्षित भएको महसुस गराउन सकिने जनाउँदै व्यवसायीले आश्वासनभन्दा व्यवहारिक पक्ष हेर्न सरकारलाई आग्रह गरेका छन्।

कोरोनाले सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रभाव पारेको भन्दै व्यवसायीले न्यूनतम साझा कार्यक्रमले पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेमा ठोस योजना ल्याउन नसकेको गुनासो गरेका छन्। कारोनाले पारेको प्रभाव कम गर्न सरकारले राहत र सहुलियतका कार्यक्रम नल्याउँदा पर्यटन क्षेत्रलाई सरकारले उपेक्षा गरेको अनुभूति भएको व्यवसायीको गुनासो छ। कोरोना महामारीका कारण सन् २०२० मा ठूलो क्षति बेहोरेको पर्यटन क्षेत्रलाई अझै खोप सुनिश्चित नभएको जनाउँदै व्यवसायीले समस्यालाई गम्भीरताका साथ लिन आग्रह गरेका छन्।

पछिल्लो समय हिमाली पर्यटन क्षेत्रमा केही आशा देखिए पनि पर्यटन मजदुरलाई खोपको व्यवस्था नहुँदा पुनः पोहोर कै गति हुने देखिएको व्यवसायीको भनाइ छ। गत वर्ष आरोहण क्षेत्रले नसोचेको क्षति भोगे पनि यो वर्षको बसन्त सिजनमा नेपाल आउन चाहने विदेशी आरोहीको संख्या हेर्दा केही आशा पलाएको थियो। तर सरकार गैरजिम्मेवार बन्दा आगामी सिजनमा समेत आरोहण चलायमान हुन नसक्ने व्यवसायीको आकलन छ। सरकारको आगामी सिजनलाई ध्यानमा राखेर पर्यटन व्यवसायी र मजदुरलाई खोपमा प्राथमिकता दिनुपर्नेमा कानमा तेल हालेर बसेको उनीहरूको भनाइ छ।

पछिल्लो समय नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल, होटल एसोसियसन अफ नेपाल लगायत संस्थाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन खोपलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।

कोरोनाअघिका वर्षमा आगामी सिजनको लागि विदेशबाट दैनिक होटल बुकिङ तथा आरोहण र पदयात्राका लागि बुकिङ तथा चासो बढ्दै जाने गरेकामा हालको क्वारेन्टिन र सरकारको फितलो कार्यविधिका कारण यो वर्ष समेत नेपाललले लाखौं पर्यटक गुमाउने व्यवसायीको चिन्ता छ।नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसामा समस्या र क्वारेन्टिन बस्नुपर्ने प्रावधान कायम रहेकाले सुधार नहुने उनीहरूको चिन्ता छ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा खोप उपलब्ध नहुँदा कोभिड संक्रमणबाट नेपालको हिमाली पर्यटन सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन नसकिएको बताउँछन्।सरकारले आरोहणलाई चलायमान बनाउन चासोे नदेखाएको भन्दै सरकार विस्तार र मन्त्रालय बाँडफाँटमा अल्झिनु नेपाली पर्यटकका लागि विडम्बना रहेको उनको भनाइ छ।

‘लाखौं खर्चेर आउने विदेशी नेपाल भ्रमण सुरक्षित छ भन्ने पक्का नहुन्जेल आउने कुरा हुँदैन,’ उनले भने, ‘यसअघि विदेशबाट आउने पर्यटकलाई अनिवार्य क्वारेन्टिनमा राख्ने सरकारी मापदण्ड रहे पनि कयौं विदेशी खुलेआम डुल्न हिँडेका उदाहरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्र बदनाम बनिसकेको छ।’

एउटा पर्यटक विमानस्थलबाट भित्र छिर्नेबित्तिकै कयौं नेपालीका लागि रोजगारी सिर्जना हुन्छ। तर सरकारसँग पर्यटनसँग सम्बन्धित कसले खोप पायो, कसले पाएन भन्ने तथ्यांक समेत नहुँदा पर्यटक नेपाल आउन डराइरहेको उनको भनाइ छ। 

प्रकाशित: २५ श्रावण २०७८ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App