६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

जुम्ला जाजरकोट जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु

जुम्ला जाजरकोट जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु भएको छ। जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी सम्मको बीचमा सुरुङ निर्माण गर्नको लागि सम्भाव्यता अध्ययन सुरु भएको हो।  

जाजरकोट सदुमरकाम खलंगादेखि पाँचकाटिया हुँदै कुशे ८ साङटाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सम्मको सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।  

उनका अनुसार सडक डिभिजन कार्यालय चौरजहारीले प्रक्रिया थालिसकेको छ। सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनसँगै जुम्ला जाजरकोट सडक सञ्जालमा छिट्टै जोडिने अपेक्षा राखिएको छ। अहिले जुम्लाबाट पनि जाजरकोट जोड्ने सडक खनिरहेको अवस्था छ। जाजरकोट पाँचकाटिया हुँदै हानी सल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माणको काम जारी नै रहेको छ।  

जाजरकोट– डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ। पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण जारी रहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए। यो आर्थिक बर्षमा  सो सडक निर्माणका लागि बजेट विनियोजन भइसकेकाले काम निरन्तर जारी रहने प्रदेशसभा सदस्य सिंहले बताए।  

जुम्ला जानका लागि सबै भन्दा छोटो बाटोमध्येको सुरुङ मार्ग नै हुने भएकाले यो निर्माण कार्यलाइ बढी जोड गरिएको पुर्वमन्त्री बस्नेतले जानकारी दिए। साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्वाइ झण्डै १० किलोमिटर छ । सुरुङ निर्माणका लागि झण्डै पाँच किलोमिटर भन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।  

हिँडेर झण्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ। सुरुङ मार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए। लुम्बिनी– दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबै भन्दा छोटो हुने भएकाले काम शुरु गर्न लागिएको हो। जुम्ला जाजरकोट सडक सञ्जालमा जोड्नको लागि जुम्लादेखि पनि पहल भइरहेको छ। 

प्रकाशित: २४ श्रावण २०७८ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App