१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जीवन रक्षा कोषलाई प्रभावकारी बनाउँछौंः मुख्यमन्त्री

कोरानाबाट मारमा परेको साना उद्योगी व्यवसायीलाई लक्षित गरी ल्याइएको जीवन रक्षा कोषलाई प्रभावकारी बनाउने दृढता गण्डकी प्रदेश सरकारले व्यक्त गरेको छ । कोरोनाले झण्डै डेढवर्षसम्म व्यापार व्यावसाय ठप्प प्राय छ ।  

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै जीवन रक्षा कोषलाई प्रभावकारी बनाउने दृढता व्यक्त गरे । ‘जीवन रक्षा कोषमा देखिएका कमी कमजोरीलाई सुधारेर यसलाई तत्काल कार्यान्वयनमा ल्याउँछौं,’ उनले भने ।  

उद्योग व्यवसाय नै धरासायी बन्दै गएको अवस्थामा लगानी गर्ने बातावरण समेत नभएको गुनासो व्यवसायीले गरिरहेको अवस्थामा मुख्यमन्त्री पोखरेलले लगानी र व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गर्ने तर्फ गम्भीर चासो रहेको अभिव्यक्ति दिए । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढन सरकार आतुर रहेको उल्लेख गर्दै लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने प्रष्ट पारे ।  

पोखरा उद्योग वाणिज्य संघले गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो । ‘लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार गर्नुपर्ने लगायतका विषयमा प्रदेश सरकारलाई सुझावको खाँचो छ,’ उनले भने, ‘व्यवसायीको सुझाव अनुसार क्षमता र बलबुताले भ्याएसम्म सहकार्य गरेर अगाडि बढ्न सरकार तत्पर छ ।’ मुख्यमन्त्री पोखरेलले प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्ने विकासको चाहना पूरा हुने स्पष्ट पारे ।  

उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नुपर्ने भन्दै उनले यसका लागि संघ सरकारसँग सहयोग मागिरहेको बताए । पोखरामै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको भन्दै उनले यसबाट अधिकतम लाभ लिन तयारी थाल्नुपर्ने बताए । पर्यटन मात्र होइन अरु सबै खालका व्यवसाय प्रवद्र्धनमा यो विमानस्थलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उनले भनाइ राखे ।  

पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि संघ सरकारले काम थालिसकेको भन्दै उनले यसपछि गण्डकी प्रदेश र राजधानी पोखराको आर्थिक गतिविधि थप मजबुत हुने बताए । उनले थपे, ‘यहाँको विमानस्थल अनि राजमार्ग प्रयोग गरेर आयात प्रतिस्थापन गरी निर्यात बढ्दा प्रदेश आफै समृद्ध हुन्छ ।’ पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शितामा सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।  

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रतिकुल समयबीच व्यवसायीहरु रहेको भन्दै उनीहरुको वाध्यता आफूले बुझेको बताए । २१ अर्ब केन्द्रको अनुदान हुँदा हामीले ३० अर्बको बजेट ल्याउनुपर्ने वाध्यता औंल्याउँदै आन्तरिक राजश्व वृद्धि नगर्दासम्म प्रदेशमा ठूला परियोजना परिकल्पना गर्न नसकिने उनको भनाइ थियो । बजेट वितरणमा संघ सरकार अनुदार रहेको भन्दै उनले यो प्रक्रिया संघीय लोकतान्त्रिक पद्धतिकै प्रतिकुल रहेको बताए ।  

अर्थमन्त्री रामजी बराल जीवनले सानो बजेट लिए सरकार अगाडि बढेको भन्दै निजी क्षेत्रलाई साथमै लिएर आफूहरुले काम गर्ने बताए । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले व्यवासायीहरुलाई खोप प्रदान गर्न लागि परेको भनाइ राखे । कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले सरकार आफैले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले त्यस्तै खालको वातावरण बनाउनुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले समावेशिताका आधारमा विकास गर्नुपर्नेमा जोड दिइन् ।  

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको राजधानी पोखराको समग्र विकासका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए । पोखरा लगायत आसपासमा तीब्र सहरीकरण भइरहेको भन्दै उनले यसतर्फ पनि बेलैमा सोच्न आग्रह गरे । पोखरा चक्रपथको आवश्यकता महसुस गरी आयोजना अगाडि बढाउन उनले सुझाव दिए । निजी क्षेत्रलाई साथमै लिएर विकासको पथमा लम्कन उनले आग्रह गरे । उनले भने, ‘राजनीतिक कुरा धेरै नगर्नुस्, आर्थिक क्षेत्रका कुरा गर्नुस्, जति बोल्नुहुन्छ, त्यसलाई काममा देखाउनुहोस् ।’  

अरु प्रदेशभन्दा गण्डकीको बजेट कम भएको, विदेशी लगानी समेत कम भएको भन्दै यसका लागि प्रदेश सरकारले संघ सरकारसँग लबिङ गर्न पछि पर्न नहुने भनाइ उनले राखे । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहे पनि उडान भर्ने रुटका बारेमा अझै निर्णय हुन नसक्दा अलमल भएकाले यसमा प्रदेश सरकारले पहल गर्नुपर्ने भनाइ राखे ।  

नेपाल उद्योग वाणज्य महासंघ केन्द्रीय सदस्य बाबुराम गिरीले चुनौतीबीच आएको अहिलेको सरकारबाट आफूहरुले धेरै अपेक्षा गरेको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सहजरुपमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै प्रदेश सरकारसँग संघ सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भनाइ राखे । 

प्रकाशित: १९ श्रावण २०७८ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App