२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यवसायीको खोप माग सुनिएन

पर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप माग्न थालेको महिनौं भयो। खोप नपाएसम्म व्यवसाय सञ्चालन नगर्ने पर्यटन व्यवसायीको अडान छ। खोप माग्दै उनीहरू दिनहुँजसो संघीय, प्रदेश सरकार, स्थानीय तहमा पुगिरहेका छन्। तर अहिलेसम्म व्यवसायीले खोप पाएका छैनन्। एकाध व्यवसायीले पहुँचको आधारमा खोप लगाए पनि पर्यटन क्षेत्रले खोपमा प्राथमिकता पाएको छैन।

पर्यटन क्षेत्र चलायमान बनाउन खोपको विकल्प नभएको ठान्ने व्यवसायीले खोप पाउने विश्वस्त आधार पाएका छैनन्। व्यवसायी र मजदुरले खोप नपाएसम्म पाहुना नआउने र पाहुना नआए व्यवसाय नचल्ने उनीहरूको भनाइ छ।  

उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीले पनि खोप मागिरहेका छन्। खोप नपाउँदा व्यवसाय चलाउन कठिन भएको उनीहरूको गुनासो छ। उद्योगी, व्यवसायीलाई खोपको प्राथमिकतामा राख्नुपर्ने संघको भनाइ छ। यातायात व्यवसायीलाई पनि खोप चाहिएको छ। दिनहुँ हजारौं यात्रुसँग ठोक्किने भएकोले यातायात व्यवसायीलाई पनि अग्रपंक्तिका व्यक्तिसरह खोपमा प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ।  

खेल क्षेत्रमा पनि खोपको माग छ। साना, ठूला व्यवसायीका संस्थाहरू खोप माग्दै सरकारी निकाय धाइरहे पनि पाएका छैनन।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई अहिलेसम्म आश्वासन मात्र पाएको बताउँछन्। ‘तीनै तहको नेतृत्वसँग बारम्बार खोप मागे पनि सकारात्मक भनाइ बाहेक केही पाएनौं,’ उनले भने।  

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले अहिलेसम्म खोप माग्ने मात्र काम भएको बताए। ‘केही दिनअघि यातायात मजदुरलाई पनि खोप दिने भनेर लाम बस्न भनियो, तर लाम बसेकालाई फिर्ता पठाइयो,’ केसीले भने, ‘यातायात व्यवसायी र यात्रुको सम्बन्धलाई राज्यले बुझ्न सकेन।’ पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी–व्यवसायीलाई खोपको प्राथमिकतामा राख्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। दैनिक हजारौं व्यक्तिसँग सम्पर्क हुने व्यवसायी खोपबाट वञ्चित हुँदा संक्रमण फैलन सक्ने खतराप्रति सचेत रहन पनि संघले प्रदेश सरकारलाई सुझाएको छ।  

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसमक्ष व्यवसाय जोगाउने दायित्व सरकारकै भएको भन्दै व्यवसायीलाई खोप दिन आग्रह गरेको छ। यथासक्य छिटो व्यवसायीलाई खोप दिनुपर्ने संघको माग छ। 

प्रकाशित: १८ श्रावण २०७८ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App