coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मध्यपहाडी लोकमार्ग: म्याद थपेको थप्यै, कालोपत्रेको काम सुस्त

मध्यपहाडी लोकमार्ग अन्तरगत दोर्पाचिउरीडाँडाको बानाचुङमा कालोपत्रे अगाडि बेस पेल्दै रोलर। तस्बिर: दमन/नागरिक

खोटाङमा पुष्पलाल मध्यपहाडी लोकमार्ग कालोपत्रेको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती भएको छ। मध्यपहाडी लोकमार्ग अन्र्तगत चखेवाभञ्ज्याङ–दिक्तेल (४६ किलोमिटर) सडकको विभिन्न खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको हो। 

चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये भरतमैनाचुली सिद्धिसाई जेभीले ठेक्का लिएको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर)को काम अन्य प्याकेजको तुलनामा सबैभन्दा बढी सुस्त देखिएको छ। पटक–पटक म्याद गुज्रिदा चखेवाभञ्ज्याङ–सेखुवाको काम हालसम्म करिब ३५ प्रतिशत मात्र पुरा भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलीखेलका ईन्जिनियर बिश्वबिजयलाल श्रेष्ठले बताए।  

चखेवाभञ्ज्याङ–सेखुवामा हालसम्म करिब ५ किलोमिटर खण्डमा सव–बेसको काम मात्र भएको छ। सो खण्डको दोश्रो पल्ट थप भएको म्याद समेत गत असार १३ गते गुज्रिसकेको छ। ठेकेदारको ढिलासुस्तीका कारण सो सडक खण्डको म्याद २०७५ साल चैत ३० गत गुज्रिएको थियो। त्यसपछि सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली अन्तरगत पहिलोपल्ट थप भएको म्याद २०७७ साल पुस १३ गते सकिएपछि दोश्रोपल्ट म्याद थप गरिएको थियो। काममा ढिलासुस्ती गरेपछि पुष्पलाल मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि सूचना नै निकालेको थियो। सूचनापछि सम्पर्कमा आएका ठेकेदारले कालोपत्रेको प्रगती भने देखाउन नसकेको ईन्जिनियर श्रेष्ठले बताए। विभिन्न पाँच खण्डमा बिभाजन गरेर २०७२ साल चैतदेखि चखेवाभञ्ज्याङ–दिक्तेल सडकको विभिन्न खण्डमा कालोपत्रेका विभिन्न चरणका काम थालिएको थियो।  

चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डको पाँच खण्डमध्ये (सेखुवा–दिक्तेल ३६ किलोमिटर) कालोपत्रेको काम भने रमन–गोल्डेन गुड जेभीले गरिरहेको छ। सो खण्डको कालोपत्रेको कामको प्रगती पनि सन्तोषजनक छैन। कार्यालयका अनुसार हालसम्म कालिखोला–दिक्तेल खण्डको कालोपत्रे सम्पन्न भइसकेको छ। दारुला–माम्खा (कालीखोला) र पेलुङ–दारुला खण्डको काम पनि करिब सम्पन्न भइसकेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलीखेलका ईन्जिनियर श्रेष्ठले बताए।  

रमन–गोल्डेन गुडको जिम्मामा रहेको पहिलो प्याकेज सेखुवा–पेलुङ (१० किलोमिटर) सडकमा हालसम्म करिब ९२ प्रतिशत काम सम्पन्न भएको छ। सो खण्डमा २/३ किलोमिटर डिबिएसटी पिच गर्न बाँकी छ। दोश्रोपल्ट थप भएको सेखुवा–पेलुङ खण्डको एक वर्षे म्याद गत २०७७ साल पुस ८ गते गुज्रिएको हो। त्यसपछि थप भएको म्याद पनि गत असार ८ गते गुज्रिसकेको छ। यस्तै, दोश्रो प्याकेज पेलुङ–दारुला (८ किलोमिटर) खण्डको काम करिब ९८ प्रतिशत सकिएको छ। सो खण्डको तेश्रोपल्ट थप भएको म्याद २०७७ साल मंसिर २९ गते र त्यसपछि थप भएको म्याद गत जेठ २९ गते सकिएको ईन्जिनियर श्रेष्ठले बताए।  

यस्तै, तेश्रो प्याकेज दारुला–कालीखोला (९ किलोमिटर) खण्डको कालोपत्रेको काम पनि ९८ प्रतिशत सकिएको छ। तेश्रोपल्ट थप भएको सो खण्डको म्याद गत २०७७ साल असोज ३० गते सकिएपछि थप भएको म्याद पनि गत चैत २९ मै सकिसकेको छ। चौथो प्याकेज कालिखोला–दिक्तेल (९ किलोमिटर) खण्डमा पिचको काम भने सम्पन्न भइसकेको रमन–गोल्डेन गुड जेभीका साइड ईन्चार्ज आङसाङ्गे शेर्पाले बताए।  

मध्यपहाडी लोकमार्ग तथा सो राजमार्गमा निर्माणाधिन पुलको काममा भइरहेको ढिलासुस्ती तथा गुणस्तरका विषयमा प्रशासनले समेत बेला–बेलामा चासो देखाउँदै आएको छ। मध्यपहाडी लोकमार्ग कालोपत्रेको गति र गुणस्तर सन्तोषजनक नभएको जनगुनासो रहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए। 

प्रकाशित: १५ श्रावण २०७८ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App