१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेयर भित्रको कारोवार: अर्थले धितोपत्र बोर्ड र नेप्सेसँग स्पष्टीकरण माग्यो

अर्थ मन्त्रालयले सञ्चार माध्यमले उठाएका विषयवस्तुलाई लिएर धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई तीन दिनभित्र प्रस्ट गर्न निर्देशन दिएको छ।  बुक बिल्डिङ पद्धतिबाट सार्वजनिक निष्कासनको तयारी गरेको सर्वोत्तम सिमेन्टको सेयरमा पदको दुरूपयोग गरी बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफन्तलाई भित्री कारोबार गराएको समाचार सञ्चार माध्यममा सार्वजनिक भएपछि बिहीबार मन्त्रालयले स्पष्टीकरण मागेको हो।  

ढुंगानाले अमेरिकामा रहेकी छोरी रेबिका ढुंगानाको नाममा १० हजार कित्ता र साउदले पत्नी सुशीलाकुमारी बोहराको नाममा त्यत्ति नै कित्ता सेयर किनेको भेटिएको छ।  रेबिका र सुशीलाकुमारीको नाममा सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुकुमार न्यौपानेले २०७७ पुस २० मा प्रतिकित्ता दुई सय ५० रूपैयाँका दरले १०–१० हजार कित्ता सेयरको हक हस्तान्तरण गरेको विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा छ। त्यतिबेला सर्वोत्तमले बुक विल्डिङ पद्धतिबाट सेयर जारी गर्ने तयारी गरिसकेको थियो।  

नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ मा ‘बोर्ड सदस्यले (अध्यक्षसहित) बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरूपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन नपाइने प्रस्ट उल्लेख छ। सोही आचार संहिताको आधारमा ढुंगाना र साउदले निष्कासनको तयारीमा रहेको कम्पनीको सेयर आफू र आफ्नो परिवारको नाममा खरिद गर्न पाउँदैनन्।

बुक बिल्डिङ पद्धति भनेको धितोपत्रको प्रारम्भिक सेयर निष्कासन गर्दा धितोपत्रको मूल्य निर्धारण गरिने विधि हो। यस्तो विधि नेपालमा सर्वोत्तमले पहिलोचोटि प्रयोगमा ल्याएको हो। बढी मूल्य पाइने भएकाले निजी स्तरमा सञ्चालन हुँदै आएका कम्पनी पब्लिक कम्पनीमा रूपान्तर भई धितोपत्र बजार गुल्जार हुने अपेक्षाले नेपालमा पहिलोपटक बुक बिल्डिङ पद्धतिको सुरुआत  गरिएको हो। बुक बिल्डिङ पद्धतिमा कम्पनीले आफूले चाहेको मूल्यमा सेयर बिक्री गर्न पाउने भएपछि निजी क्षेत्रका थुप्र्र्रै कम्पनी पब्लिकमा रूपान्तरण भएर सेयर जारी गर्ने अनुमान छ। सुरुमा पुँजी बजारका संस्थागत लगानीकर्ताले निष्कासन गरिन लागेको कम्पनीको सेयर मूल्य निर्धारण गर्छन् र सोही मूल्यको आधारमा सार्वजनिक निष्कासनमा मूल्य कायम गरिन्छ।  

करिब ४० खर्ब रूपैयाँ पुगेको नेपालको सेयर बजारमा अझै पनि तीन सयभन्दा बढी कम्पनीको सेयर सूचीकृत हुन सकेको छैन। यतिखेर वर्षमा एक सुको लाभांश दिन नसक्ने कम्पनीको मूल्य बढाएर प्रतिकित्ता चार–पाँच सय रूपैयाँ पु¥याइएको छ। कमजोर कम्पनीको मूल्यलाई चलखेल गरी महँगोमा बिक्री गर्ने गरेको आरोप विगतदेखि लाग्दै आएको छ। सर्वोत्तमले यसै महिनाको अन्त्यदेखि प्रतिकित्ता सात सय ५० रूपैयाँमा बुक बिल्डिङ पद्धतिमा रहेर आइपिओ जारी गर्ने तयारी गरेको छ। आइपिओ जारी गर्नका लागि बोर्ड, नेप्से लगायत निकायबाट स्वीकृत लिनुपर्छ। सर्वोत्तमले ६० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ। सेयर बजारका जानकार सर्वोत्तमको प्रतिकित्ता एक सय रूपैयाँ बराबरको सेयरलाई सात सय ५० रूपैयाँ कायम गर्न पनि चलखेल भएको दाबी गर्छन्।  

‘सेयरको वास्तविकभन्दा बढी मूल्य कायम गरेबापत नियामक निकायमा बसेकाहरूले त्यो सेयर (१०–१० हजार कित्ता) उपहार पाएका हुन् सक्छन्,’ उनले भने, ‘नत्र बुक बिल्डिङ पद्धतिबाट जारी गर्न ठिक्क परेको बेला कसरी सेयरको किनबेच हुन सक्छ ?’ अहिलेसम्म सर्वोत्तमको सेयर नेप्सेमा सूचीकृत भएको छैन। संस्थापक सेयर हस्तान्तरण भएको हो।  बोर्डका अध्यक्ष ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयरमा भित्री कारोबार भएको आरोपमा कुनै सत्यता नभएको दाबी गरे। नागरिकसँग कुरा गर्दै उनले विवाहिता छोरीले कुन कम्पनीको सेयर खरिद गर्ने र कस्तो व्यवसाय अँगाल्ने भन्नेमा बाबुको कुनै भूमिका नहुने दाबी गरे। 

प्रकाशित: १५ श्रावण २०७८ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App