८ वैशाख २०८१ शनिबार
अर्थ

डोटीमा 'मगर गाउँ होमस्टे' को तयारी

मगरगाउँ होमस्टे सञ्चालनका लागि छलफलमा जुटेका स्थानीय । तस्बिरः पुष्पराज/नागरिक

डोटीको दक्षिणी भूभागमा रहेको बडिकेदार गाउँपालिकाका मगर समुदाय होमस्टेको तयारीमा जुटेका छन्। बडिकेदार गाउँपालिका वडा नम्बर २ स्थित गर्बुजा–खरहर होमस्टे सञ्चालनका लागि मगर समुदायले तयारी थालेका हुन्।  

मगर समुदायको मात्रै बसोबास भएको खरहर–सडेखान क्षेत्रलाई समेटेर ‘गर्बुजा–खरहर मगर गाउँ होमस्टे’को तयारी थालिएको हो। मगर समुदायको एक भेलाले प्रस्तावित होमस्टे सञ्चालकको तयारीका लागि समिति समेत चयन गरेको छ। बडिकेदार गाउँपालिका–२ सडेखानकी दिलसरी लामिछाने मगरको अध्यक्षतामा समिति गठन गरेर प्रक्रिया अगाडि बढाएका छन्। अध्यक्ष दिलसरीले गर्बुजा, खरहर, सडेखान, कुडी, तिलाडी, नवलकुडी, बसेल, खारा, चर्केन, कालामाटी, बट्टोमारे, केरेनी टोल समेटेर ‘गर्बुजा–खरहर मगर गाउँ होमस्टे’ दर्ता प्रक्रिया अगाडि बढाएको बताइन्। 

होमस्टे सञ्चालन भएपछि आउने पाहुनालाई स्थानीय जातको धानको भात, मकैका परिकार, लोकल कुखुराको मासुका साथै ठूली गाडको माछाको परिकारसँगै लोकल मदिराले स्वागत गर्ने बताइएको छ। कला र संस्कृतिका धनी मगर समुदायको लोक संस्कृति मारुनी, कौह, सोरठी, नचरी, झोरा, सालैजो नृत्य पनि संरक्षण तथा सम्वर्द्धन गर्न होमस्टेल सहजता हुने बताउँदै उनले भनिन्,‘लोक संस्कृति पनि पुस्तान्तरण गर्न सहजता हुनुका साथै आम्दानी पनि गर्न सकिने छ।’  

मगर समुदायको लोप हुन लागेको भेषभूषा, कला, संस्कृति तथा खानपानलाई व्यवसायीकरण गर्ने उद्देश्यले सो क्षेत्रमा बसोबास गर्ने मगर समुदायले होमस्टे सञ्चालनको तयारी गरेको नवलकुडी गाउँका खगेन्द्र नाम्जाली मगरले बताए। मगरगाउँ होमस्टे सञ्चालनका लागि आफूहरुले सक्दो सहयोग गरेको बताउँदै स्थानीय केशव बमले भने,‘९० प्रतिशत मगर समुदाय रहेको गाउँमा मगर गाउँ होमस्टे सञ्चालन गर्नका लाग गाउँलेहरु मिलेर सल्लाह गरेर प्रक्रिया अगाडि बढाएका छौँ।’ 

डोटी र कैलालीको बीचबाट बग्ने ठूली गाडको माछाको स्वादका साथै नदीको बीचमा रहेको हात्ती आकारको ढुङ्गालाई सेल्फी ढुङ्गाको रुपमा निर्माण गरेर पर्यटकलाई मनोरञ्जन गर्न वातावरण सृर्जना गरिने उनले बताए।

प्रकाशित: ११ श्रावण २०७८ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App