१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भैंसीपालकलाई अनुदान वितरण

पोखरा महानगरपालिकाले भैंसीपालकलाई अनुदान दिएको छ। अरूणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा आइतबार महानगरले व्यावसायिक भैंसीपालकलाई भैंसी किन्न अनुदान दिएको हो।  

लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरले ११ भन्दा बढी भैंसी पाल्ने ५० कृषक परिवारलाई जनही ३४ हजार १२० रूपैयाँका दरले १७ लाख ६ हजार वितरण गरेको महानगर कृषि महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए। महानगरले ११ भन्दा कम भैंसी पाल्नेलाई भने अनुदान नदिएको उनले बताए।

प्रदेश सरकारको किसान वर्गीकरण नीति अनुरूप महानगरपालिकाले पशुपालकलाई ७ वर्गमा राखेर परिचयपत्र वितरण गरिसकेको छ। प्रदेश सरकारले १५० भन्दा बढी गाईभैंसी पाल्ने र करोडभन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट, ६१ देखि १५० वटासम्म गाईभैंसी पाल्ने र करोडसम्म लगानी गर्नेलाई उद्यमी कृषक, ३० देखि ६० वटासम्म गाईभैंसी पाल्ने र ५० लाखभन्दा बढी लगानी गर्नेलाई व्यावसायिक कृषक, १० देखि ३० वटासम्म गाईभैंसी र ५० लाखसम्म लगानी गर्नेलाई व्यवसायउन्मुख कृषक, ५ देखि ९ वटासम्म गाईभैंसी र १० लाखसम्म लगानी गर्नेलाई साना व्यवसायी कृषक भनेर वर्गीकरण गरेको छ।

अनुदान वितरण कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि व्यावसायिक उत्पादन आवश्यक रहेको र त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने बताए। अर्थमन्त्री बरालले अनुदान वितरणप्रति आम कृषकको गुनासो रहेको भन्दै यसलाई सच्याएर पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याए।  

पोखरा महानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले किसानलाई प्रोत्साहन गर्दै उत्पादन बढाउने उद्देश्यले महानगरले अनुदान वितरण गरेको बताइन्।  किसानहरूले भने झोले किसानले अनुदान पाउँदा व्यावसायिक किसान निराश हुनुपर्ने अवस्था रहेको गुनासो गरे। उत्पादनमा आधारित अनुदान वितरण प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ थियो।

प्रकाशित: ११ श्रावण २०७८ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App