१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

संक्रमण दर नघटेपछि धरानमा अनुगमन

धरानमा बजार अनुगमनको क्रममा मास्कबिना हिँडेकालाई मास्क वितरण गरिँदै। तस्बिर: रोहित/नागरिक

निषेधाज्ञा खुकुलो पारेसँगै धरानमा कोरोना संक्रमण दर बढेपछि स्थानीय सरकारसँगै व्यापारीमा चिन्ता छाएको छ। धरानमा फेरि कडाइका साथ निषेधाज्ञा गर्नुपर्ने माग पनि बढिरहेको छ। तर लामो निषेधाज्ञापछि भर्खर बजार खुला भएकोमा राहत महसुस गरेका व्यापारी चिन्तित छन्। 

धरानमा पछिल्लो समय दैनिक ५० भन्दा बढी संक्रमित थपिइरहेका छन्। शुक्रबार ७३ जना संक्रमित थपिएको धरानमा अघिल्लो दिन बिहीबार ४७ जना, बुधबार ७१ जना र मंगलबार ६३ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमण दर उच्च हुँदै गएपछि उपमहानगरपालिकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन अनुगमन सुरु गरेको छ।  

फेरि जनजीवन तथा व्यापार व्यवसाय ठप्प बनाउने गरी लकडाउन वा निषेधाज्ञा गर्नुभन्दा तोकिएको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्नु उपयुक्त हुने भएकोले अनुगमन सुरु गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन्। ‘धरानमा संक्रमणको दर बढिरहेको छ, यसले गर्दा फेरि निषेधाज्ञा गर्नुपर्छ भन्ने दबाब परिरहेको छ,’ उनले भनिन्, ‘बल्ल जनजीवन सहज हुँदै गएको थियो, फेरि लकडाउन गर्नुप¥यो भने के होला ? त्यसैले सबैले स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरौं भन्ने आग्रह, सचेतना गराउन अनुगमन गरिएको हो।’

सुनसरी उद्योग वाणिज्य संघका प्रनिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोलीले धरानको भीडभाड हुने भानुचोक, सब्जी मण्डी, दसिलाइन, माछाभौडी लगायत स्थानमा अनुगमन गरेको थियो। सो क्रममा मास्कबिना हिँडेका व्यक्तिलाई मास्क लगाउन आग्रह गर्दै वितरणसमेत गरिएको थियो। अनुगमन टोलीले व्यापारीको एन्टिजेन परीक्षण पनि गरेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। ‘बढी भीडभाड हुने क्षेत्रका ७१ जना व्यापारीको रेन्डम एन्टिजेन परीक्षण गर्‍यौैं, त्यसमध्ये १ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘उहाँहरूलाई घरमा सुरक्षितसाथ बस्न र परिवारको पनि जाँच गर्न आग्रह गरेका छौं।’

उपमहानगरका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले संक्रमण दरमा कमी नआएपछि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन अनुगमन थालिएको बताए। पहिलो दिन मास्कबिना हिँडडुल गर्नेलाई मास्क वितरण गर्दै सम्झाई बुझाई गरिएको र अर्को दिनदेखि जरिवाना गरिने उनले बताए। ‘सकेसम्म घरबाट बाहिर ननिस्कन भनिरहेका छौं। मास्क नलगाउनेलाई पनि मास्क लगाउनुस् भन्दैछौं। भोलिदेखि अनुगमन गर्दा मास्कबिना हिँडेको भेटिए इलाका प्रशासनमार्फत जरिवाना गराउँछौं,’ उनले भने। 

प्रकाशित: १० श्रावण २०७८ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App