९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

लगानी बढाउन ध्यान दिन्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताएका छन्। नेपाल उद्योग परिसंघको १८औं साधारणसभाको अवसरमा बुधबार देउवाले यस्तो धारणा राखेका हुन्। ‘विकासलाई हामीले प्राथमिकता दिएका छौं,’ देउवाले भने, ‘तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउन खोपको व्यवस्था गर्छौं।’ उनले सरकारको पहिलो प्राथमिकता निःशुल्क खोप वितरण रहेको बताए।

प्रधानमन्त्री देउवाले परिसंघले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजना सहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगिकीकरणलाई प्रवद्र्धन गर्न सघाउने बताए। देउवाले निजी क्षेत्रलाई सहयोग गर्ने बताएका छन्। ‘नेपालका उद्योगपति, व्यपारीले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ,’ देउवाले भने, ‘नेपालको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले सहयोग गर्ने विश्वास लिएको छु।’

साधारणसभाको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सरकारले कोरोनाबाट थलिएको अर्थतन्त्र उकास्न राहतको प्याकेज ल्याउने बताए। अध्यादेश बजेट प्रतिस्थापन गर्ने गरी नयाँ बजेटको तयारी गरेको सरकारले थप राहतका कार्यक्रम ल्याउने तयारी गरेको उनले संकेत गरे। ‘सरकारको पहिलो प्राथमिकता सबै नागरिकमा खोप पुर्‍याउनु हो,’ उनले भने, ‘त्यसपछि अर्थतन्त्रलाई अघि बढाउन राहत प्याकेज ल्याउन प्रयत्न गर्छौं।’  

परिसंघले अघि सारेको मेक इन नेपाललाई सघाउने प्रतिबद्धता जनाउँदै आयात प्रतिस्थापन गरी आन्तरिक रोजगारी वृद्धि गर्न सघाउने विश्वास उनले व्यक्त गरे। ‘व्यक्तिमा प्राविधिक क्षमता बढाउन आवश्यक छ,’ उनले भने, ‘मुलुकभर साना उद्योगको विकास गर्नुपर्छ।’ व्यापार घाटा कम गर्न औद्योगिकीकरण गर्नुपर्ने उनको भनाइ छ। ‘वार्षिक २ खर्बभन्दा बढीको कृषि वस्तु आयात भइरहेको छ,’अर्थमन्त्री शर्माले भने, ‘आयात प्रतिस्थापन गर्नु अहिलेको प्रमुख चुनौती हो।’

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोरले उत्पादन वृद्धि र औद्योगिकीकरणको बाटोमा अघि बढ्न निजी क्षेत्र एक सशक्त र भरपर्दो साझेदार भएकाले सघाउन सरकारसमक्ष आग्रह गरे। मोरले आर्थिक समृद्धिका लागि व्यवसायमैत्री वातावरण सिर्जना हुँदै गएको बताउँदै निजी क्षेत्रबाट उठाइएका आर्थिक तथा कानुनी विषयलाई सरकारले सम्बोधन गनुपर्नेमा जोड दिए। ‘निजी क्षेत्र सशंकित हुँदा अर्थतन्त्रमा प्रतिकूल असर पर्ने खतरा विद्यमान छ,’ मोरले भने, ‘छलफलबाट निजी क्षेत्रमैत्री कानुन बनाउनु पर्छ।’  

धेरै उद्योग बन्द हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको उनले बताए। कोभिड महामारीबाट करिब ८० प्रतिशत उद्योग व्यवसाय लामो समय बन्द भएको स्मरण गर्दै मोरले निजी क्षेत्रलाई सघाउन आग्रह गरे। ‘आर्थिक पुनरुत्थानका लागि राहतका कार्यक्रम समेट्नु पर्छ,’ मोरले भने, ‘कोभिडसँग जुध्दै अर्थतन्त्रलाई माथि उठाउनुपर्ने आवश्यकता छ।’ परिसंघले सुरु गरेको मेक इन नेपाल स्वदेशी अभियानलाई सघाउन मोरले आग्रह गरे। स्वदेशी वस्तु तथा सेवाको उत्पादन प्रवद्र्धन र उपभोग वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण एवं निकासी प्रवद्र्धनको माध्यमबाट समृद्ध नेपालको राष्ट्रिय आकांक्षामा पूरा गर्न सकिने उनले बताए।  

उद्योगपति विनोद चौधरीले नेपाल दक्षिण एसियाको सबैभन्दा आकर्षक लगानीयोग्य देश भएकाले विदेशी लगानी ल्याउनुपर्ने बताए। ‘विदेशी लगानी ल्याउन दलाल खोज्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ,’ उनले भने । परिसंघले चलाएको अभियानमा सघाउनुपर्ने उनले बताए। नेपाली कांग्रेसको नेतृत्वमा २०४६/४७ पछि आर्थिक उदाकरणको युग सुरु भएको र अब फेरि दोस्रो चरणको आर्थिक उदारीकरण अगाडि बढाउनुपर्ने चौधरीले बताए। ‘दोस्रो चरणको आर्थिक सुधारले धेरै वर्षदेखि थाती रहेका हाम्रा आर्थिक मुद्दालाई सल्टाउँछ,’ चौधरीले भने। चौधरीले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व गर्न अर्थमन्त्री शर्मालाई आग्रह गरे। ‘अर्थमन्त्रीज्यू, दोस्रो चरणको आर्थिक सुधारको लिड तपाईं गर्नुहोस्,’ उनले भने।

कार्यक्रममा नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक भएको बताए। भारत सरकारले पनि लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको बताए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरे। उनले आर्थिक विकासको महत्वपूर्ण स्तम्भको रूपमा निजी क्षेत्र रहेकाले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न अनुरोध गरे।

प्रकाशित: ७ श्रावण २०७८ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App