७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

९७ अंकले बढ्यो नेप्से

आर्थिक वर्ष २०७८/८९ को पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से ९७.२१ अंकले बढेको छ।  बजार खुलेदेखि नै उकालो लागेको बजार ३.३७ प्रतिशतले बढेर २९८०.६१ बिन्दुमा पुगेको हो। नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ११ अर्ब ६३ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

यो रकम अघिल्लो आर्थिक वर्षको अन्तिम कारोबारको तुलनामा तीन अर्ब ४९ करोड रूपैयाँले बढी हो। अघिल्लो आर्थिक वर्षका केही कारोबार १९ अर्ब रूपैयाँसम्म पुगेको थियो।  

आइतबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको सेयर किनबेच भएको छ। यसको ४० करोड रूपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नबिल बैंकको ३८ करोड ६३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।  

सेयर कारोबारमा तीन नयाँ नियम  

नयाँ आर्थिक वर्षदेखि तीन नयाँ नियम लागू भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले प्रि–ओपन सेसनको कारोबार सीमा घटाएर दुई प्रतिशतमा झारेको छ। त्यस समयमा कारोबार गर्ने लगानीकर्ताले अधिकतम दुई प्रतिशत मात्र घटबढ गरेर सेयर किनबेच गर्न पाउने छन्। यसअघि त्यस्तो सीमा अधिकतम पाँच प्रतिशत थियो। साथै, बजारमा कारोबार हुँदाको मूल्य परिवर्तन सीमा पनि घटाइएको छ। न्युनतम मूल्य परिवर्तन एक रूपैयाँ रहेको उक्त सीमा १० पैसामा  झारिएको छ।  

पुँजीगत लाभकरमा नयाँ व्यवस्था लागू भएको छ। पुँजीगत लाभकर ५ र ७.५० प्रतिशत लाग्न थालेको छ। अब एक वर्षभित्रै सेयर बेच्दा लाभकर ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधि राखेर बेच्दा पाँच प्रतिशत लाभकर तिरे पुग्छ। यसअघि सबै किसिमका लगानीकर्ताले पाँच प्रतिशत लाभकर  तिर्ने गर्थे।  

सेयरबाट १४ अर्ब पुँजीगत लाभकर  

आर्थिक वर्ष २०७७/७८ मा सेयर कारोबारबाट १४ अर्ब रूपैयाँ बराबरको पुँजीगत लाभकर उठेको छ। सिडिएससी क्लियरिङका अनुसार गत आर्थिक वर्षमा डिम्याट खाता खोल्नेको संख्या पनि ह्वात्तै बढेको छ। पोहोर असार मसान्तसम्म १७ लाख २३ हजार डिम्याट खाता रहेकोमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म बढेर ३७ लाख ३६ हजार पुगेको छ। टिएमएस लिनेको संख्या नौ लाख ९१ हजार नाघेको छ।

प्रकाशित: ४ श्रावण २०७८ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App