१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कुखुराको मासु किलोको ४१५ रूपैयाँ

कोभिड–१९ को असरले उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ। एक महिनाकै अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रूपैयाँ बढेको हो।चल्ला, दानाको भाउ वृद्धि र कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए। ‘एक महिनाकै अवधिमा किलोमा करिब सय रूपैयाँ मूल्य बढ्यो,’ बिसीले भने, ‘दुई हप्ताकै बीचमा चारपटक मूल्य बढेको छ।’

कोभिडको कारण निषेधाज्ञा हुँदा किसानले कम चल्ला राखेकाले त्यसको असर अहिले बजारमा देखिएको हो। कोल्डस्टोरले कुखुराको मासु किलोको ३ सय ८० देखि चार सय रूपैयाँ किलोसम्ममा बेचेका छन्। काठमाडौं उपत्यकामा खुद्रा बिक्रेताले कुखुराको मासु शनिबार किलोको चार सय १५ रूपैयाँमा बिक्री गरे। काठमाडौंमा जिउँदो कुखुरा किलोको दुई सय ८० रूपैयाँमा बिक्री भएको छ।निषेधाज्ञा खुकुलो हुँदै जाँदा कुखुराको मासुको खपत पनि बढेको छ। अहिले होटल, रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। उत्पादन कम र माग बढेपछि त्यसको असर बजारमा देखिएको छ।  

कोभिड सुरु भएपछि निकै घटेको मूल्य असारयता हप्तामै दुईपटकसम्म बढेको छ। कुखुरा मासुको मूल्य वृद्धि हुनुमा ह्याचरी उद्योग र बिचौलिया प्रमुख कारक रहेको कुखुरा उत्पादक किसानको आरोप छ। ह्याचरी उद्योग र बिचौलियाको मिलेमतोमा भाउ बढाएको नेपाल कुखुरापालक किसान संघको केन्द्रीय अध्यक्ष झलक पौडेलले आरोप लगाए। चितवन लगायत तराईका किसानले जिउँदो कुखुरा किलोको दुई सय ४० र उपत्यकाका किसानले दुई सय ६० रूपैयाँमा बेचिरहेको पौडेलले बताए। ‘जिउँदो कुखुरा दुई सय ६० मा बिक्री हुँदा मासुको मूल्य तीन सय ६० रूपैयाँ हुनुपर्ने हो,’ अध्यक्ष पौडेलले भने, ‘मिलेमतोमा चार सय रूपैयाँभन्दा माथि पु¥याइएको छ।’  

उपभोक्ताले धेरै मूल्य तिर्नु परे पनि किसानले उचित मूल्य नपाएको उनले गुनासो गरे। चल्ला र दानाको मूल्य बढेकाले पनि किसानको लागत बढेको पौडेलको तर्क छ। ‘सुरुमा कम चल्ला उत्पादन गरे,’ अध्यक्ष पौडेलले भने, ‘अहिले क्रमशः चल्लाको मूल्य बढाउँदै लगेका छन्।’ निषेधाज्ञाको समयमा किसानले चल्ला राख्न दाना, चल्ला नगदमा किन्न नसक्दा पनि थोरै चल्ला फर्ममा राखेको उनले बताए। कुखुराको मूल्य किसानले निर्धारण गर्न नपाएको उनको गुनासो छ।

निषेधाज्ञाको समयमा चल्लाको मूल्य घटेर गोटाको १५ रूपैयाँसम्म झरेको थियो। त्यसपछि ह्याचरीले चल्ला उत्पादन पनि कटौती गरे। अहिले चल्लाको मूल्य गोटाको ४०–४५ रूपैयाँ पुगेको छ। चल्लाको भाउ दिनहुँ वृद्धि भएकाले कुखुराको भाउ अझै बढ्ने अनुमान गरिएको छ। कोभिड–१९ को कारण मुलुकमा निषेधाज्ञा हुँदा ह्याचरी उद्योगले वैशाख, जेठमा चल्ला उत्पादनमा भारी कटौती गरेका थिए। बजार बन्द हुँदा कुखुरा बेच्न नसकिने डरले किसानले चल्ला कम राखेका थिए। जेठमा चल्ला कम राखेका कारण त्यसको असर अहिले बजारमा देखिएको छ। जेठमा राखेका ब्रोइलर चल्लाको उत्पादन अहिले सुरु भएको छ।  

ह्याचरी उद्योगले कोभिडको कारण करिब ६ अर्ब रूपैयाँभन्दा बढी क्षति बेहोर्नु परेको गुनासो गर्दै आएका छन्। चल्ला उत्पादन कटौती भएपछि ह्याचरी उद्योग संघका अध्यक्ष गुणचन्द्र विष्टले जेठमै कुखुरा मासुको मूल्य बढ्ने प्रक्षेपण गरेका थिए। निषेधाज्ञाले चल्ला ढुवानी, दाना, उत्पादित कुखुराको बिक्री लगायतमा असर पुगेको थियो। ५०–६० रूपैयाँमा बिक्री गर्ने चल्ला २०–२५ रूपैयाँमा झरेको थियो। 

प्रकाशित: ३ श्रावण २०७८ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App