२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

टीकापुर खानेपानीले तीन गुणा बढी महशुल बढायो

खानेपानी संस्थाको भवन । तस्बिरः योगेश रावल

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पानीको महशुल तीन गुणा बढाएको छ। संस्थाले प्रतियूनिट साविक न्यूनतम मासिक ५० रुपैयाँलाई १५० पुर्‍याएको छ।  संस्थाले प्रतियूनिट पानीको मात्रामा समेत वृद्धि गरेको छ। यसअघि ८ हजार लिटर प्रतियूनिट रहेकोमा अबदेखि प्रति यूनिटमा १० हजार लिटर गणना हुनेछ।

संस्थाले व्यहोर्दै आएको मासिक घाटालाई कम गर्न पानीको महशुल दर बढाउनु परेको अध्यक्ष भैरव रावलले जानकारी दिए। उनले हाल संस्थाले मासिक नौ लाख रुपैयाँ घाटा व्यहोर्दै आएको बताए। ‘महिनामा नौ लाख घाटा भैरहेको छ’, उनले भने, ‘पानीको महशुल बढाउनुको विकल्प रहेन।’

संस्थालाई १६ करोड १० लाख रुपैयाँ ऋण छ। उसले खानेपानी आयोजना सम्पन्न गर्न २०७२ सालमा नगर विकास कोषसँग १३ करोड रुपैयाँ ऋण लगेको थियो। त्यसको साँवा ब्याज, मर्मत सम्भार, कार्यालय सञ्चालन लगायतको रकम जोड्दा संस्था मासिक नौ लाख रुपैयाँ घाटामा रहेको अध्यक्ष रावलले बताए।  

यो आयोजना ५३ करोड ४० लाख ३६ हजार ७२६ रुपैयाँको लागतमा २०७४ सालमा निर्माण सम्पन्न भएको हो। आयोजनामा ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत नगर विकास कोषको ऋण र ५ प्रतिशत उपभोक्ताको लगानी रहेको छ।

अध्यक्ष रावलले हालै बढाइएको पानीको महशुल अन्य ठाउँको तुलनामा कम रहेको दावी गरे। उनका अनुसार अन्यत्रका खानेपानी आयोजनामा मासिक प्रतियूनिट १६५ रुपैयाँ भन्दा बढी महशुल दर तोकिएको छ। ‘हामीले दाङदेखि पोखरासम्मका खानेपानीमा अध्ययन गरेर महशुल दर निर्धारण गरेका हौं’, उनले भने, ‘हाम्रोमा अरुको भन्दा कम छ।’

संस्थाले पानीको महशुल दर बढाउने प्रयत्न सुरुदेखि गर्दै आएको थियो। अघिल्लो र वर्तमान कार्य समितिले पानीको महशुल बढाउनका लागि अध्ययन गर्न समिति समेत गठन गरेका थिए। अघिल्लो कार्य समितिले सुरतबहादुर कुँवर र वर्तमान कार्य समितिले बिसराम चौधरीको नेतृत्वमा समिति गठन गरेको थियो। ती दुवै समितिले पानीको महशुल बढाउनुपर्ने प्रतिवेदन बुझाएका थिए।  

तर तत्कालीन अवस्थामा पानीको गुणस्तर त्यति प्रभावकारी नभएका कारण संस्थाले महशुल बढाउने हिम्मत गर्न सकेको थिएन। यतिबेला भने संस्थाले पानीको गुणस्तर बढाएको छ। उसले चारवटै ट्याङ्कीमा पानीको गुणस्तरका लागि फिल्टर जडान गरेको छ। ‘पानीको गुणस्तर निकै धेरै राम्रो छ’, अध्यक्ष रावलले भने, ‘हामी अझै राम्रो बनाउने प्रयासमा छौं।’

संस्थामा ७ हजार २३६ उपभोक्ता आवद्ध छन्। ती मध्ये ६ हजार ६६७ जनाको घरमा धारा जडान भएको छ। संस्थाका अनुसार कतिपय उपभोक्ता बनेका छन् तर उनीहरुले घरमा धारा जोडेका छैनन्। संस्थाले दैनिक ४५ लाख लिटर पानी उत्पादन गर्छ। त्यो मध्ये ३० लाख लिटर उपभोक्ताले उपभोग गर्छन्। बाँकी पानी ट्याङ्की सफा गर्दा, फिल्टर गर्दा, चुहावट लगायतमा खर्च हुने गरेको अध्यक्ष रावलले बताए।  

संस्थाका सचिव नरेशकुमार खत्रीले बढेको महशुल दर साउन महिनादेखि लागु हुने जानकारी दिए। उनले न्यूनतम यूनिट भन्दा बढी पानी प्रयोग गर्नेका लागि प्रति लिटरको महशुल दर कार्य समितिले चाँडै निर्धारण गर्ने जानकारी दिए।  

संस्थाकै पहलमा टीकापुर नगरपालिकाको बजार क्षेत्रमा ढल निकास र फोहोर व्यवस्थापनको काम समेत सुरु भएको छ। यसअघि समेत संस्थाले फोहोर व्यवस्थापनका क्षेत्रमा काम गरेको छ। उसले विभिन्न सार्वजनिक स्थलमा शौचालय निर्माण गरिदिएको छ।

प्रकाशित: १ श्रावण २०७८ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App