५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

युवालाई उद्यमी बनाउन स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम

उद्योग सङ्गठन मोरङले स्टार्ट अप एन्ड इनोभेसन कार्यक्रम सुरु गरेको छ। व्यवसाय गर्ने सोच भएका युवाहरूलाई उद्यमी बन्न सघाउने  उद्देश्यले स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम सञ्चालन गरेको हो।  

उद्योग संगठन मोरङले बिहीबार पत्रकार सम्मेलन गरी नयाँ सोच भएका युवाहरूलाई उद्यमी बनाउन आवेदन आह्वान गरिएको जनाएको छ। संगठनका अध्यक्ष सुयस प्याकुरेलले आवेदन आह्वान गरिएकाले परेका आवेदनहरूमध्येबाट छानेर उत्कृष्ट व्यवसायिक सोच भएका युवाहरूलाई उद्यमी बन्न सहयोग गरिने जानकारी दिए। ‘आजैदेखि आइडिया कल गरिएको छ’ उनले भने ‘व्यवसायिक सोच भएकाहरूले उद्योग संगठन मोरङको वेवसाईटमा गएर आवेदन गर्न सक्नुहुनेछ।’

उद्योग संगठनले सुरुवात गरेको कार्यक्रम नयाँ नभई भारतलगायत थुप्रै देशमा सफलतापूर्वक कार्यान्वयनमा आइसकेको प्याकुरेलले बताए। व्यवसायीक सोच भएका युवाहरूले गरेको आवेदनमा आधारमा आइडिया(परियोजना) लाई छनौट गर्ने र उनीहरूलाई लगानी, मार्केटिङ, ब्रान्डिङ र अन्य कानुनी विषयमा पनि सहयोग गरिने सङ्गठनको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले बताए।

संयोजक गोल्छाका अनुसार नवीन व्यावसायिक अवधारणा भएका तथा बढीमा २ वर्षअघिदेखि सञ्चालनमा रही स्तरोन्नतिका सम्भावना भएका सुरुआती अवस्थाका नयाँ उद्यमहरू कार्यक्रममा सहभागी हुन सक्नेछन्। परियोजनाको छनौट गरिसकेपछि लगानी गर्न नबिल बैङ्कलाई कार्यक्रमको साझेदार बनाइएको गोल्छाले जानकारी दिए।

गोल्छाका अनुसार कार्यक्रमले नवीन व्यावसायिक अवधारणा, स्तरोन्नतिको  सम्भावना भएका, स्थानीय कच्चा पदार्थमा आधारित र कृषि तथा कृषिजन्य उद्यम व्यवसायलाई प्राथमिकतामा राखेको छ।  

यसका लागि आवेदन आह्वान गरिसकेको सङ्गठनले साउन ३२ गतेको समय निर्धारण गरेको छ। उत्कृष्ट परियोजना छनौटका लागि  सङ्गठनका कार्यकारी सदस्य गोल्छाका संयोजकत्वमा स्टार्टअप तथा इनोभेसन समितिको गठन गरिएको छ।

पहिलो चरणमा उत्कृष्ट २० वटा परियोजनालाई छनौट गरी उद्यमी बन्न चाहनेलाई सहयोग गर्ने संगठनको योजना छ। छनौटमा परेका परियोजनाहरूलाई आवश्यक पूँजी जुटाउन नविल बैंकसँग सहकार्य गरिने पनि उद्योग संगठन मोरङले जानकारी दिएको छ।

प्रकाशित: ३१ असार २०७८ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App