१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

बानेश्वरको आकाशे पुल दुई साताभित्रै तयार हुने

राजधानीको व्यस्त सडक बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल दुई साताभित्रै निर्माण सकिने भएको छ। २०७६ पुसभित्रै सम्पन्न गर्ने भनेको पुल झण्डै दुई वर्षपछि तयार हुन लागेको हो।

बानेश्वर चोकमा पैदलयात्रुलाई बाटो काट्न सहज हुने भन्दै बनाउन लागिएको पुलको डिजाइन परिवर्तन र कोभिड–१९ ले तोकिएको समयभित्र निर्माण हुन सकेको थिएन। ठेकेदार कम्पनीले गत जेठको दोस्रो सातादेखि उक्त पुलमा स्टिल ट्रस राख्न थालेको थियो।  

स्टिल ट्रस बिज्रको मुख्य संरचना सडकको वारपार राखे पनि अन्य संरचनाको काम भने हुन सकेको थिएन। सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले उक्त पुल १० देखि १२ दिनभित्रै तयार हुने बताए। ‘कोभिड–१९ को कारणले यात्रुको कम चाप भएको बेला पुलको मुख्य संरचना राखिसक्यौं,’उनले भने, ‘बाकीँ संरचना अहिले फ्याक्ट्रीमा निर्माण भइरहेको छ। अबको १० देखि १२ दिनसम्म पैदलयात्रुले पुलबाटै यात्रा गर्न पाउनेछन्।’

 प्रमुख नेपालीले पुलको डिजाइन परिवर्तन तथा कोभिड–१९ लगायत कारण तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन नसकेको बताए। सडक डिभिजन कार्यालयले २०७५ चैतमा बानेश्वर र कोटेश्वर चोकमा आकाशे पुल निर्माण गर्ने योजना अघि सारेको थियो। ठेक्का सम्झौता अनुसार दुवै ठाउँमा २०७६ पुस मसान्तभित्रै आकाशे पुल निर्माण सम्पन्न हुनुपर्थ्यो।  

तर ठेकेदार कम्पनीले कोभिड–१९ को बहाना गरेर म्याद गुज्रिएको झण्डै दुई वर्षपछि पुल निर्माणको काम अघि बढाएको हो। पुलको जग तथा पिलर राख्ने संरचना तयार भएपछि डिजाइन परिवर्तन भएको थियो। ठेकेदार कम्पनी पवन/प्रकृति जेभीले कोभिड–१९ को दोस्रो लहरले उपत्यकामा निषेधाज्ञा भएको अवसर छोपेर पुलको माथिल्लो भागमा स्टिल ट्रस राख्ने काम सुरु गरेको थियो। जेठको दोस्रो साताभित्रै स्टिल ट्रसको मुख्य संरचना तयार पारे पनि अन्य कामले गति लिन सकेको थिएन।  

‘पुलको जग तथा पिलर राख्ने काम भएसँगै ट्रसको स्ट्रक्चर डिजाइन परिवर्तन भयो,’ उनले भने,‘एकातर्फ डिजाइन परिर्वतन रअर्कोतर्फ कोभिड महामारीले भएको लकडाउन तथा निषेधाज्ञाले काममा केही ढिलासुस्ती भयो।’

प्रमुख नेपालीले अहिले बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुलको माथिल्लो भागमा ट्रस फिटिङ गरेर जडान गर्ने काम भइरहेको बताए। ‘अहिले स्टिल ट्रस फिटिङको काम भइरहेको छ,’ उनले भने, ‘साउन पहिलो साताभित्रै पुल तयार हुन्छ।’ २०७५ चैतमा बानेश्वर र कोटेश्वर चोक दुवैमा पुल निर्माण गर्ने ठेक्का पवन÷प्रकृति जेभीले पाएको थियो । बानेश्वर चोकको पुलको ठेक्का सम्झौता दुई करोड चार लाख रूपैयाँमा भएको थियो। उक्त पुलको लम्बाइ ३८ मिटर छ। ठेक्का सम्झौताअनुसार बानेश्वर र कोटेश्वर चोकको व्यस्त सडकमा २०७६ पुस मसान्तभित्रै आकाशे पुल बनिसक्नुपर्ने थियो।  

यसैबीच, डिभिजन सडक कार्यालय काठमाडौंले महाराजगन्ज बूढानीलकण्ठ सडक खण्ड मर्मतसम्भार सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युतीय प्रसारण लाइन जडान गरेर अलपत्र परेको सडक मर्मतसम्भार गरेर कालोपत्रे गर्न लागिएको हो। प्रमुख नेपालीले गत असारको पहिलो साता गंगालाल अस्पतालदेखि बूढानीलकष्ठ विष्णुमतिसम्मको करिब साढे तीन किलोमिटर सडक मर्मतसम्भारको लागि ठेक्का सम्झौता गरेको बताए। 

‘प्राधिकरणले भूमिगत विद्युतीय लाइन विस्तार गरेसँगै सडक कालोपत्रे गर्न २० दिनअघि ठेक्का सम्झौता गरिएको हो,’ उनले भने,‘गंगालाल अस्पतालदेखि बूढानीलकण्ठ र तीनकुने–मनहरा दुवै सडकको मर्मतसम्भार तथा कालोपत्रे गर्न करिब १० करोड रूपैयाँमा टेन्डर आह्वान गरिएको हो।’ यी दुवै खण्डको ठेक्का वल्र्डवाइड-पिआर–सुसन जेभीले पाएको छ।  

प्रकाशित: ३० असार २०७८ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App